मधेस


सेवाग्राहीलाई कुटपिट गर्ने कार्यालय प्रमुख पक्राउ

सेवाग्राहीलाई कुटपिट गर्ने कार्यालय प्रमुख पक्राउ

सुभाष कर्ण
असार २३, २०८३ मंगलबार १८:२०, जनकपुरधाम

कार्यकक्षमै सेवाग्राहीलाई कुटपिट गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन्।

धनुषा प्रहरीको समन्वयमा बारा प्रहरीले घटनाबारे सोधपुछ गर्न कार्यालयमा बोलाएर नियन्त्रणमा लिएको हो।

घटना सम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरले भिडिओ सार्वजनिक भएपछि घटनाको वास्तविकता बुझ्न आचार्यलाई नियन्त्रणमा लिइएको बताए। 

भिडिओमा कार्यालय प्रमुखले कार्यकक्षमै विवाद बढेपछि सेवाग्राहीलाई कुटपिट गरेको देखिन्छ। सार्वजनिक भएको भिडिओ गत १७ मार्च २०२६ (फागुन तेस्रो साता)को हो। भिडिओ पुरानो भएपनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा पीडित सेवाग्राही अरुण कुशवाहा रहेको बुझिएको उनले बताए। उनका अनुसार कुशवाहा आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय गएका थिए। कर्मचारीसँग कुशवाहाले धाकधम्की र गालीगलौज गरेपछि विवाद उत्पन्न भएको र सोही क्रममा प्रमुख आचार्यले हातपात गरेको दाबी गरिएको छ।

एसपी कुँवरका अनुसार प्रारम्भिक अनुन्धानमा घटनाकै समयमा दुवैबीच मिलापत्र गरी घटना मिलाइएको देखिएपनि शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउन उनलाई नियन्त्रणमा लिएको हो। घटना हुँदा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुई जना प्रहरीसमेत कार्यालय परिसरमा उपस्थित रहेको खुलेको छ।

भिडिओ सार्वजनिक भए लगतै चौतर्फी आलोचना हुन थालेपछि प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले समेत घटनाप्रति चासो राख्दै उनलाई मन्त्रालयमा तानेको थियो। मन्त्रालयमा हाजिर नहुँदै उनी पक्राउ परेका हुन्। 

मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

सेवाग्राहीमाथि सरकारी कार्यालयभित्र भएको हातपातको भिडिओ सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भएको थियो। त्यसपछि मन्त्रालयले प्रशासनिक कारबाहीस्वरूप आचार्यलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad