मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमीत्रा सुवेदीले बर्दिवासस्थित होटलमा शपथ ग्रहण गराएको बताएका छन्।
नवनियुक्त मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो स्पष्टीकरण दिएका हुन्। आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख सुवेदी काठमाडौं जान लागेको जानकारी पाएपछि जसरी भए पनि शपथ ग्रहण गराउन दबाब दिएको उनको भनाइ छ।
लोसपालगायत केही पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई शपथ लिन नदिने जानकारी पाएपछि सुरक्षित स्थानमा शपथ ग्रहण गर्नुपरेको यादवको भनाइ छ। ठूलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुवेदीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
‘उहाँ काठमाडौं जान लाग्नुभयो, मेरो शपथ नहुने भयो भनेर मलाई जानकार आइसकेपछि मैले उहाँलाई दबाब दिएकै हो। मुख्यमन्त्री नियुक्त गर्नुभयो तर शपथ नगराउने हो भने एमालेले तपाईँलाई घेर्छ भन्ने कुरा भनेको हुँ,' उनले पत्रकार सम्म्लेलनमा भने, 'केयरटेकरको रुपमा मुख्यमन्त्री छ। नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो। तपाईँले शपथ नखुवाइकन मेरो पद सक्रिय हुनेवाला छैन। त्यसकारण तपाईँ कता हुनुहुन्छ- त्यहीबाट शपथ गराइदिनुहोस् भनेर मैले बोलेकै हो। त्यसपछि उहाँले निस्किसकेको छु भनेर बर्दिवासस्थित पानस होटलमा बोलाउनुभयो। त्यहीँ गएर मैले नियुक्तिअनुसार शपथ खाएको हो।’
उनले प्रदेशमा उत्पन्न राजनीतिक अवस्था मधेस र मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौतीका रुपमा खडा भएको पनि बताए। उनले सरकारलाई सहयोग गर्नको लागि सबै राजनीतिक दलहरुलाई आह्वान समेत गरे। मुख्यमन्त्री यादवको नियुक्ति र शपथ विवादमा परेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरिसकेका छन्।
Shares

प्रतिक्रिया