‘१२ वर्षपछि खोला फर्किन्छ भन्थे, एमाले मोरङको मत परिणामले त्यस्तै देखाएको छ। प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पार्टीको जिल्ला, प्रदेश र केन्द्रको सिङ्गो शक्ति लाग्दासमेत नेता विनोद ढकालले नेतृत्व गरेको इतर समूहको प्यानलै विजयी भएको छ। एमालेको राजनीतिमा फेरि ढकालको उदयले संस्थापन पक्षलाई ठूलै झड्का लाग्ने देखिन्छ।’
यो टिप्पणी विराटनगर महानगरपालिका वडा नं ५ का एमाले नेता मीन आचार्यको हो।
संस्थापनको चर्को पेलानमा परेको इतर समूह सिङ्गो पदाधिकारी टिम नै निर्वाचित गराएपछि यतिखेर उत्साहित देखिएको छ। संस्थापन समूहको सिङ्गो टिम नै लाग्दा मोरङमा विनोद ढकाल एक्लै काफी भएका छन्।
अर्का एमाले कार्यकर्ता माधव अधिकारीले लेखेका छन्, ‘जेजे गरे पनि जित सक्कली एमालेकै भयो।’
पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक भएपछि एमाले नेताहरूले नै अन्यायभित्र न्याय भएको बताएका छन्। नेता नवलप्रसाद उपाध्याय लेख्छन्, ‘हे अन्याय, महसुस अवश्य भएकै होला कि न्याय त मुस्कुराइरहेको छ!’
जिल्ला समितिको मत परिणामसँगै व्यक्त भएका यी भनाइहरूले एमाले मोरङमा विनोद ढकालको दबदबा कति छ भन्ने स्पष्ट चित्रण गरेको छ।
शनिबार विराटनगरमा सुरु भएको अधिवेशन दिक्क लाग्ने गरी संस्थापन पक्षले लम्ब्याएको थियो। तीन दिनमा सक्ने गरी सुरु भएको दसौँ जिल्ला अधिवेशनमा केन्द्रीय नेताहरूका कारण कार्यकर्ता गिजोल्ने काम भएको आरोप लाग्दै आएको थियो। निर्वाचन गराउन आलटाल गरेको संस्थापन पक्षले मत गणनामा समेत अलमल्याएको थियो।
निर्वाचन समितिले अधिवेशन सुरु भएको ७ दिनमा बल्ल मत परिणाम सार्वजनिक गरेको छ। अधिवेशनको उद्घाटनदेखि नै सहमतीय रटान लगाएका संस्थापन पक्षीय नेताहरूले कार्यकर्ता व्यवस्थापनमै बढी समय खर्चिए। संस्थापन समूहका केन्द्रीय नेताहरूले उम्मेदवार हुन लागेका कार्यकर्ताहरूलाई हप्काउने, धम्क्याउने र तर्साउने काम गरेको भन्दै अधिवेशनस्थलमा नै धेरैले आक्रोश पोखेका थिए।
संस्थापन पक्षमा पार्टी उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पार्टी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य इन्चार्ज जीवन घिमिरे, लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत लागेका थिए। उनीहरूले कार्यकर्तालाई भेटेर विभिन्न आश्वासन दिँदासमेत यस समूहले हार बेहोरेको छ।
संस्थापन इतर समूहमा विनोद ढकाल तथा केन्द्रीय सदस्यहरू रामलाल साह, युवराज बाँस्कोटा, नैनकला ओझालगायत थिए।
मोरङ जिल्ला अधिवेशनसँगै एमालेभित्र तीव्र ध्रुवीकरण देखिएको छ।
संस्थापनइतर समूह खडा गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको असन्तुष्टि मोरङमा मात्र व्यक्त भएको छैन, यसले अन्यत्रका लागि पनि साहस दिने आकलन नेताहरूले गरेका छन्।
राम्रा कार्यकर्ता र नेतालाई ओझेलमा पार्ने गरी केन्द्रीय नेतृत्वले खेलेको भूमिकालाई लिएर पार्टी कार्यकर्तामा असन्तुष्टिको चरम रूपलाई मतमा व्यक्त गरेको नेता महेश भट्टराई बताउँछन्।
कार्यकर्ताहरू नेताप्रति रुष्ट हुनुको मुख्य कारण भनेको यसअघि भएको कोसी प्रदेश अधिवेशन नै हो। कोसी प्रदेशको अधिवेशनको असर जिल्लामा देखिएको नेताहरू बताउँछन्।
प्रदेशमा ढकाललाई हराउनको लागि संस्थापन समूह लाग्दा त्यसको असर अहिले पनि देखिइरहेको र प्रदेशमा नेतृत्वले काम गर्न नसकेको भट्टराईको भनाइ छ।
केन्द्रको पेलाइमा परेका ढकालले मोरङ जिल्लामा निकालेको विजयसँगै उनको शक्तिमा पुनरोदय भएको छ।
संगठित भएको ३४ वर्षपछि जिल्ला अध्यक्ष
ढकालको समूहबाट अध्यक्षमा निर्वाचित भएका अजम्बर राईले एमालेमा संगठित भएको ३४ वर्षपछि मोरङ अध्यक्षको जिम्मेवारी पाएका छन्। २०३६ सालदेखि कम्युनिस्ट आन्दोलनमा जोडिएका उनले २०४७ मा संगठित सदस्यता पाएका थिए।
राईले गाउँ कमिटी सदस्य, सचिव, इलाका कमिटी सदस्य, इलाका कमिटी सचिव, क्षेत्रीय कमिटीको अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै अध्यक्षमा निर्वाचित भएका छन्।
६५ वर्षीय राई हाल जिल्ला समन्वय समिति मोरङका प्रमुख छन्। उनीसँगै उनकै समूहका सागर थापा उपाध्यक्ष, सोमराज थापा सचिव, सन्तोष बान्तवा र उषा झा उपसचिवमा निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया