कोशी


कोलकाताबाट कार्गो रेल हिँड्दा विराटनगरका व्यवसायी उत्साहित

कोलकाताबाट कार्गो रेल हिँड्दा विराटनगरका व्यवसायी उत्साहित

सुमन सुस्केरा
साउन १, २०८३ शुक्रबार २०:२६, विराटनगर

नेपाल र भारतबिचको पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने गरी कार्गो रेल सेवा औपचारिकरूपमा सुरु भएको छ।

यसअघि वीरगन्जमा मात्र सीमित रहेको यो सुविधा अब पूर्वी नेपालको प्रमुख औद्योगिक कोरिडोर विराटनगरमा समेत विस्तार भएसँगै उद्योगी र व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ।

शुक्रबार कोलकाता बन्दरगाहमा आयोजित एक विशेष समारोहमा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, बन्दरगाह प्राधिकरण तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का उच्च अधिकारीहरूले संयुक्तरूपमा पहिलो कार्गो रेललाई विराटनगरका लागि बिदाइ गरेका छन्। 

यसरी हुँदै छ काम
यो सेवा सञ्चालनमा आएपछि तेस्रो मुलुकबाट आउने सामानहरू अब कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट सिधै जोगबनी हुँदै विराटनगर भन्सार यार्डसम्म रेलमार्फत आइपुग्नेछन्।

पहिलो यात्रामा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिट क्षमताका ४० वटा कन्टेनरहरू विराटनगरतर्फ प्रस्थान गरिसकेका छन्।

ढुवानीको पूर्ण सुरक्षा र पारदर्शिताका लागि सबै कन्टेनरहरूमा आधुनिक इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको जनाइएको छ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कोलकाताबाट हिँडेको यो पहिलो रेल आगामी एक-दुई दिनभित्रै विराटनगर भन्सार यार्डमा आइपुग्ने बताए।

यो सेवा पूर्णरूपमा सञ्चालनमा आउँदा एक पटकमा ४५ वटासम्म ठूला कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ।

यसअघि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस मार्गको उद्घाटन गरे पनि नीतिगत जटिलताका कारण सेवा नियमित हुन सकेको थिएन।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले नियमावलीमा आवश्यक संशोधन गर्दै प्रक्रियागत व्यवस्था मिलाएपछि अहिले यो सेवाले स्थायी र औपचारिक रूप लिएको हो।

सडक मार्गको तुलनामा रेलमार्फत ढुवानी गर्दा कोलकाताबाट विराटनगरसम्मको यात्रा करिब २४ घण्टामै सीमित हुनेछ। यसबाट बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने महँगो डिटेन्सन शुल्क, विलम्ब शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च घट्नेछ।

समग्र पारवहन लागत कम भई नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने र पूर्वी नेपालको आर्थिक गतिविधिमा निकै सकारात्मक प्रभाव पर्ने विश्वास व्यवसायीको छ।

विराटनगरका व्यवसायी उत्साहित
कोलकाताबाट कार्गो हिँडेको खबरले विराटनगरका व्यवसायी उत्साहित भएका छन्।

तेस्रो मुलुकबाट आयात गरिने मालसामान अब भारतीय रेल्वे नेटवर्क हुँदै सोझै विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) मा रहेको नेपाल कस्टम यार्ड (एनसीवाई) सम्म आइपुग्ने बाटो पूर्ण रूपमा सञ्चालनमा आएकोमा व्यवसायी खुसी भएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल-भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाट हुने आयात-निर्यातका लागि भारतीय रेल मार्ग र भन्सार विन्दुको प्रयोग गरी सोझै विराटनगरसम्म कार्गो ल्याउने प्रक्रिया कार्यान्वयनमा आउनु लामो समयको मेहनतको उपलब्धि भएको बताए।

‘विगतमा यस्ता कार्गो रेलहरू सीमावर्ती भारतीय बथनाहा रेल्वे स्टेसनसम्म मात्र आउने र त्यहाँबाट उद्योगसम्म ढुवानी गर्दा दोहोरो लोड-अनलोडको झन्झट बेहोर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब सोझै नेपाली कस्टम यार्डमै रेल कार्गो भित्रिने भएपछि उद्योगीहरूको ढुवानी लागतमा उल्लेख्य गिरावट आउने र समयको समेत बचत हुने विश्वास लिएका छौँ।’ 

उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले नेपालको लागि भारतीय कार्गो रेल हिँडेको जानकारीमा आएकोमा निक्कै उत्साहित भएको बताए।

‘भारतीय कस्टम यार्डको तुलनामा नेपालतर्फको आईसीपी यार्ड प्रयोग गर्दा उद्योगीहरूले प्रति टन ६४ रुपैयाँदेखि २०० रुपैयाँसम्म बढी शुल्क तिर्नुपर्ने बाध्यता थियो त्यो अहिले धेरै आइटममा परिवर्तन भएर आएको छ भन्ने जानकारी आएको छ,’ उनले भने, ‘कुन आइटममा कति सुधार भयो भन्ने रेल आएर त्यो कार्यान्वयनमा गएपछि थाहा हुन्छ।’

रेल्वेको र्‍याक आईसीपीमा आएपछि कहाँ के-के समस्या आउँछ त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा अनि मात्रै थाहा हुने उनको भनाइ छ। अहिले जसरी कार्गो रेल कोलकाताबाट हिँडेको भनिएको छ, रेल मार्फत नेपालसम्म आउँदा ढुवानीमा व्यवसायीलाई ४० प्रतिशत भन्दा कम पर्ने उनीहरूको भनाइ छ।

विराटनगरका उद्योगी व्यवसायीहरूले सोझै रेल कार्गो आउने कुरालाई ठूलो सुविधा र अवसरका रूपमा लिए पनि विराटनगर कस्टम यार्डको पूर्वाधार व्यवस्थापनमा भने ध्यान दिनुपर्ने औँल्याएका छन्।

ढुवानी सहज हुनु मात्र पर्याप्त नभएको भन्दै उनीहरूले यार्डमा सामान अनलोड गर्दा पानी, घाम वा अन्य प्राकृतिक कारणले कच्चा पदार्थ तथा मालसामान नष्ट नहुने गरी सुरक्षित र व्यवस्थित भण्डारणको प्रबन्ध मिलाउन भनेका छन्।

यार्डमा ल्याइएका कार्गो सुरक्षित रहने विश्वसनीय वातावरण बनेमा मात्र यो रेल कार्गो सेवाले निरन्तरता पाउने र यस क्षेत्रको औद्योगिक लागत घटाई निर्यात प्रवर्द्धनमा समेत कोसेढु‌ंगा साबित हुने उद्योगीहरूको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad