मोरङमा नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट अजम्बर राई अध्यक्षमा निर्वाचित भएका छन्।
मोरङको पदाधिकारीमा नेता विनोद ढकाल पक्षधर समूहका सबै उम्मेदवार निर्वाचित भएका छन्।
अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए।
राईले ओझालाई ३९ मतान्तरले पराजित गरेका हुन्।
राईको विजयले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली खेमालाई धक्का पुगेको छ। राई समूहले ओलीको रवैयाविरुद्ध पूर्वराष्ट्रपति विद्या भण्डारीको प्यानल भनेर प्रचार गरेका थिए।
उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन्। उनले ४२२ मत पाए। निकटतम् प्रतिद्वन्द्वी शान्ति लिम्बुले ३९१ मत ल्याइन्। लिम्बु निवर्तमान उपाध्यक्ष हुन्।
सचिवमा सोमराज थापा निर्वाचित भएका छन्। उनले ४६२ मत प्राप्त गरे। निकटतम् प्रतिद्वन्द्वी रविन थापाले ३६८ मत मात्रै पाए। सोमराज थापा निवर्तमान उपसचिव र रविन थापा निवर्तमान सचिव हुन्।
उपसचिवमा सन्तोष बान्तवा राई निर्वाचित भएका छन्। उनले ४९० मत पाए। निकटतम प्रतिद्वन्द्वी इर्जालाल राजवंशीले ३११ मत ल्याए।
यस्तै, अर्को उपसचिव पदमा उषा झा निर्वाचित भइन्। झाले ४१८ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी शिल्पा निराला कार्कीले ४०५ मत प्राप्त गरिन्।
झा जिसस उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन्।
जिल्ला सदस्यहरूको भने मतगणना जारी छ। १६५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
फागुन १७ मा सुरु अधिवेशनमा ९११ प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए।
Shares

प्रतिक्रिया