मोरङको सुन्दरहरैँचा नगरपालिका-१०, खोससिनास्थित सुकुना माध्यमिक विद्यालयका शिक्षकहरूले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरीले तीन जना शिक्षक/कमर्चारीलाई नियन्त्रणमा लिएको छ।
सोमबार बिहान १० बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरूमा सोही विद्यालयमा कार्यरत सुन्दरहरैँचा नगरपालिका वडा नं. १० बस्ने ४० वर्षका प्रदिप भट्टराई (बस चालक), सोही नगरपालिका वडा नं. २ बस्ने ३० वर्षका किशोरलाल गच्छदार (शिक्षक) र वडा नं. १२ बस्ने ३५ वर्षका अबिरल मास्के (लेखा अधिकृत तथा शिक्षक) रहेका छन्।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी मिश्रले घटनाको अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको खुलेमा उनीहरूलाई पनि कानुनबमोजिम कारबाही गरिने बताए।
साथै घटनाका सम्बन्धमा सामाजिक सञ्जालहरूमा अनावश्यक र भ्रामक टिप्पणीहरू नगरिदिन प्रहरीले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ। सुकुना माविमा शिक्षक/कर्मचारीबाट दुर्व्यवहार गरेको भन्दै बिहानदेखि विद्यार्थीहरू आन्दोलित छन्।
केही दिनअघि मात्रै बुढीगंगाको एक विद्यालयका शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै उजुरीको आधारमा एक जना शिक्षकलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिको बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन।
Shares

प्रतिक्रिया