कोशी


सुकुना माविभित्र ‘मौनता’ तोडिएपछि‍ छताछुल्ल बन्यो शिक्षकको कर्तुत

सुकुना माविभित्र ‘मौनता’ तोडिएपछि‍ छताछुल्ल बन्यो शिक्षकको कर्तुत

सुमन सुस्केरा
साउन ४, २०८३ सोमबार २१:५०, विराटनगर

‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवः महेश्वर’ गुरु भनेकै सबै हुन् भन्ने मान्यता नेपाली समाजमा छ। समाजले शिक्षकलाई दिने दर्जा र साख उच्च छ। अभिभावकले आफ्ना सन्तानको उज्ज्वल भविष्यको सपना बुन्दै निर्धक्क साथ विद्यालय पठाउँछन्। तर, तिनै पढाउने हातहरूको नियतमा खोट देखियो भने के होला? मर्यादाको पर्खाल नाघेर कालो छायाँ मडारियो भने कलिला मनहरूमा कस्तो बज्रपात पर्ला? 

मोरङको सुन्दरहरैँचास्थित प्रसिद्ध सुकुना माध्यमिक विद्यालयमा पछिल्लो समय सार्वजनिक भएको घटनाले अहिले समग्र शैक्षिक क्षेत्रलाई नै स्तब्ध र तरङ्गित बनाएको छ।

पूर्वी नेपालकै नमुना र अग्रणी सार्वजनिक विद्यालयका रूपमा पहिचान बनाएको सुकुना माविको बाहिरी साख जति उँचो थियो, भित्री रूपमा झाँगिँदै गएको विकृतिको चाङ उत्तिकै भयावह बन्दै गएको तथ्य अहिले एकपछि अर्को गरी सतहमा आएको छ। 

S/K/N Confession & Meme नामको फेसबुक पेजबाट कक्षा कोठा भित्र गरिने व्यवहार, त्यहाँको अवस्था, बालिकाहरूमाथि भएको दुर्व्यवहार विषयहरू बाहिर सार्वजनिक भएको थियो। कक्षाकोठामा ज्ञान बाँड्नुपर्ने शिक्षक र परिसरभित्र सुरक्षाको दायित्व बोकेका कर्मचारीहरू नै छात्राहरूका लागि असुरक्षाका पर्याय बनेका विवरणहरू सार्वजनिक भएका छन्।

विद्यालयमा पढ्न आउने छात्राहरूलाई मर्यादा र शिक्षण सीमाभन्दा बाहिर गएर राति–राति फोन तथा म्यासेज गर्ने, व्यक्तिगत जीवनमा चासो राख्ने र अनुचित प्रभाव पार्न खोज्ने हर्कत लामो समयदेखि चल्दै आएको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको छ। ‘बेलुका खाना खानुभयो कि भएनर?, राति सुत्नुभयो कि भएन?’ जस्ता अस्वाभाविक प्रश्नबाट सुरु हुने यो सिलसिला छात्राहरूलाई दबाब र प्रलोभनमा पार्ने तहसम्म पुग्ने गरेको पाइएको प्रहरी स्रोत भन्छ। 

यति मात्र होइन, ‘म जे पनि गराउन सक्छु, परीक्षामा पास गराइदिन्छु’ भन्ने धाक देखाउँदै प्रश्न पत्र नै बाहिर ल्याई दिनेसम्मका अस्वाभाविक आश्वासन दिएर छात्राहरूको अस्मिता र मनोबलसँग खेलबाड गर्ने प्रयास भइरहेको म्यासेजहरू पनि सार्वजनिक भएका छन्। लामो समयसम्म समाजको डर, कारबाही नहुने त्रास र अध्ययनमा बाधा पुग्ने चिन्ताले छात्राहरू सहिरहे, मौन बसिरहे। तर, सहनुको पनि एउटा सीमासम्म हुने भएपछि उनीहरूको मुख खुल्यो। 

जब मौनता तोडियो
अन्ततः थिचोमिचो र अनुचित व्यवहारको घडा भरिएपछि विद्यार्थीहरूले मौनता तोड्ने साहस गरे। ‘ब्रेक द साइलेन्स’ को यो अभियान सामाजिक सञ्जाल र फेसबुक पेजहरूमार्फत एकै पटक विस्फोट भयो। शृङ्खलाबद्ध रूपमा बाहिरिएका अडियो क्लिप र म्यासेजका स्क्रिन सटहरूले सुकुना माविभित्र मौलाएको विकृतिको वास्तविकता बाहिर ल्याइदिएको छ। सार्वजनिक भएका कतिपय अडियो, कतिपय म्यासेजका स्कृनसटहरु पढ्नै नसक्ने खालको भएको प्रहरी स्रोत बताउँछ।

अन्याय सहनु पनि अपराध हो भन्ने चेतनाकै परिणाम स्वरूप छात्राहरूले भित्री गुम्साहटलाई बाहिर ल्याए र दोषीलाई कानुनी कठघरामा उभ्याउने बाटोमा लागेको प्रहरी अधिकारीहरू बताउँछन्।

तीन जना पक्राउ
सामाजिक सञ्जालमा अडिओहरू सार्वजनिक भएसँगै सोमबार बिहानै सुन्दरहरैँचा–१० खोर्सानेस्थित सुकुना माविका विद्यार्थीहरू आन्दोलित हुने र शिक्षकहरूविरुद्ध प्रदर्शन गर्ने तयारीमा जुटेका थिए। अप्रिय र हिंसात्मक घटना दोहोरिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले तत्कालै ‘र्‍यापिड एक्सन’ कारबाही अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि बिहान १० बजे तीन जनालाई तत्काल नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा वडा नं १० का ४० वर्षीय प्रदीप भट्टराई, वडा नं २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं १२ का ३५ वर्षीय अविरल मास्के रहेका छन्। पक्राउ परेकामध्ये दुई जना शिक्षक र एक जना सवारी चालक हुन्।

उनीहरूलाई क्याम्पस तथा विद्यालय प्रशासनले निलम्बन गरिसकेको छ।

यस प्रकरणमा विद्यालयको नेतृत्व सम्हालेका प्रधानाध्यापकको भूमिका नै शङ्कास्पद रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कुटवालले नेपालखबरलाई जानकारी दिए। ‘अनुचित म्यासेज आदानप्रदानमा प्रधानाध्यापकको समेत संलग्नता वा संरक्षण हुन सक्ने आशंंकामा प्रहरीले उहाँलाई पनि अनुसन्धानको घेरामा राखेको छ,’ उनले भने, पक्राउ परेका तीन जना बाहेक अन्य ५ जना पनि प्रहरीको निगरानीमा छन्।’

प्रहरीको सूक्ष्म निगरानी र शङ्काको घेरामा रहेकाहरूको बारेमा अहिले प्रहरीले केही बोलेको छैन। प्रहरीले नाम समेत सार्वजनिक गरिसकेको छैन। प्रमाण जुटाउने काम भइरहेको र अनुसन्धानका क्रममा दोषी पाइने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने एसपी कटुवालले बताए। 
प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान भइरहेकाले सामाजिक सञ्जालमा अनावश्यक अफवाह र टिप्पणी नगर्न अनुरोध गर्दै अन्य पीडित छात्राहरूलाई पनि निर्धक्क उजुरी दिन आह्वान गरेको छ।  यस बारेमा विद्यालय प्रशासनको धारणा लिन खोज्दा सम्बन्धित व्यक्तिहरू सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad