राजनीति


मोरङ एमाले अधिवेशन: ओली समूहसँग भिड्दै विद्या भण्डारी निकट अघोषित समूह

मोरङ एमाले अधिवेशन: ओली समूहसँग भिड्दै विद्या भण्डारी निकट अघोषित समूह

सुमन सुस्केरा
फागुन १९, २०८१ सोमबार १९:३१, विराटनगर

नेकपा एमालेको मोरङको १०औँ जिल्ला अधिवेशन शनिबार नै सुरु भएको हो। ९११ जना प्रतिनिधि सहभागी भएको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भनिएको छ।  

उद्घाटनमा जसरी पार्टी नेतृत्व चयन सर्वसम्मत गर्ने भन्दै नेताहरूले भाषण गरेका थिए, व्यवहारमा ठिक उल्टो देखिएको छ। नेताहरूले नै पार्टीभित्र भाँडभैलो मच्चाउने काम गरेको कार्यकर्ताहरूले आरोप लगाएका छन्। नेतृत्व चयन गर्ने कुरा आएका प्रतिनिधिलाई नै छाडिनुपर्नेमा अनावश्यक गिजोल्ने काम भइरहेको उनीहरूको आरोप छ।

वैचारिक र नयाँ एकताको सन्देश दिने अपेक्षा गरेको भनिएको मोरङ एमालेको अधिवेशनमा अनौठो प्रकारको ध्रुवीकरण देखिएको छ।

अहिलेसम्म यहाँ दुईवटा समूह स्पष्ट देखिएका छन्। एउटाले संस्थापन पक्ष भनिरहेको छ। र, अर्कोले इतर समूह खडा गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभियान चलाइएको छ। 

नेतृत्व हात पार्न दुई अलगअलग समूहले मनोनयन दर्ता गराएका छन्। 

ओली समूहबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार ओझा छन्। उनको प्यानलको उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी छन्।  

अर्को समूहमा एमालेका पुराना नेता अजम्बर राईलाई अध्यक्ष पदमा अघि सारिएको छ। त्यस्तै उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा छन्। उपसचिवमा उषा झा र सन्तोष बान्तवाले उम्मेदवारी दिएका छन्। 

समूह नै बनाएर उम्मेदवारी दर्ता गराएपछि इतर समूहलाई पूर्वराष्ट्रपति विद्या भण्डारको लाइनको रूपमा हेरिएको छ। 
 
गुट, समूह वा धारभन्दा पनि कार्यकर्ताको असन्तुष्टिको रूपमा अर्को समूह खडा भएको केही पुराना नेताहरूको बुझाइ छ।

एमाले नेता देवीप्रसाद आचार्य अहिले कार्यकर्ताभित्रको असन्तुष्टि बाहिर आएको बताउँछन्। 

‘नेतृत्वमा इगो बढेको देखिन्छ। प्रदेश अधिवेशनबाट नै यो समस्या देखिएको थियो जिल्ला अधिवेशनमा अझ स्पष्ट देखियो' उनले भने, 'नेतृत्वले सबैलाई समेटेर लैजानुपर्नेमा इगो साँधेर अघि बढ्न खोज्दा अर्को समूह स्वतः खडा हुने नै भयो। सबैलाई मिलाएर लैजाने नेतृत्व अहिले कार्यकर्ताले खोजेका छन्।’

नेकपा एमालेका पुराना नेता नरेश पोखरेल अधिवेशनले नेतृत्व चयन गर्दा सहमतिकै आधारमा गर्नुपर्नेमा त्यो हुन नसकेको बताउँछन्। 

बाहिर हेर्दा कुनै बेग्लै धार नदेखिए पनि मोरङमा छुट्टै धार खडा भएको उनको भनाइ छ। ‘केन्द्रीय नेतृत्वमा कुनै धार देखिँदैन,' उनले भने, 'कुनै व्यक्ति विशेषको कुण्ठा र आग्रहबाट समूह निर्माण भएको देखियो।’  

उनले पूर्वराष्ट्रपतिले छुट्टै उम्मेदवार तय नगरेको दाबी पनि गरे।

'पूर्वराष्ट्रपति भण्डारी मोरङ-सुनसरी आउँदा पनि अध्यक्षसँग छलफल गरेर नै आएको देखिन्छ,' उनले भने, 'यहाँबाट फर्किएपछि पनि त्यो सन्देश अध्यक्षलाई पुर्‍याएको देखिन्छ।' 

२३ वर्ष जिल्ला कमिटीमा रहेका र १३ वर्ष पार्टी प्रमुख भएका पोखरेल पार्टीको आधिकारिक लाइनभन्दा बाहिर जान नहुने बताउँछन्। 

अहिले १८ हजार रहेको एमालेको सङ्गठित सदस्य केन्द्रीय नेताकै कारण घटेर जाने देखिएको एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण राईको आरोप छ। 

‘चुनावमा जानु लोकतान्त्रिक प्रक्रिया हो, सङ्गठित सदस्यले आफ्नो हक राख्छ,' उनले भने, 'पार्टी कार्यकर्ता र नेताहरूको भावना नसुनी केन्द्रको हस्तक्षेपले कार्यकर्तामा निराशा पैदा गर्छ।’ 

त्यसो त यसअघि भएको कोसी प्रदेश अधिवेशनबाट नै एमालेमा अलग-अलग धार देखिएका हुन्। कोसी प्रदेशको अधिवेशनको असर अहिले जिल्लामा पनि देखिएको नेताहरूको भनाइ छ।

नयाँ नेतृत्व चयनका लागि निर्धारित समयभन्दा झन्डै ५ घन्टा ढिलो गरेर निर्वाचन प्रक्रिया सुरु भएको छ। १६५ सदस्य पदका लागि निर्वाचन हुने निर्वाचन कमिटीले मनोनयन दर्ता ४ बजेबाट मात्र सुरु गरेको हो।   

संस्थापन पक्षीय उम्मेदवार नेता राजकुमार ओझाको नेतृत्वमा उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापालाई अघि सारिएको छ। 

संस्थापन पक्षबाट भने पार्टी उपाध्यक्ष गुरु बराल, नेता भानुभक्त ढकाल, केन्द्रीय सदस्य जीवन घिमिरे, लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा आफ्नो समूहको बलियो बनाउन प्रयास गरिरहेका छन्।  

विपक्षमा भने विनोद ढकाल तथा केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा, नैनकला ओझालगायत छन्। संस्थापन पक्षकै प्रदेश इन्चार्ज शेरधन राईले ओझालाई नरुचाएको नेताहरू बताउँछन्। 

कार्कीलाई उम्मेदवार बनाउन मोरङ इन्चार्ज जीवन घिमिरे, उपाध्यक्ष गुरु बराल, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलहरूले चाहे पनि भानुभक्त ढकालको जोड बलमा ओझालाई अध्यक्ष रूपमा अघि सारिएको छ। 

अध्यक्षका उम्मेदवार राई भने तत्कालीन दुलारी गाविसका पूर्वअध्यक्ष हुन्। यस्तै तत्कालीन जिल्ला विकास समितिका सदस्य हुँदै अहिले जिल्ला समन्वय समितिका प्रमुखका रूपमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad