मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरूमाथि शिक्षकहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अनुसन्धानको क्रममा झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ७ बस्ने ३९ वर्षीय नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई साउन ५ गते (आज) नियन्त्रणमा लिइएको हो।
यसअघि घटनाको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले साउन ४ गते बिहान तीन जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा एक जना चालकसहित दुई शिक्षक हुन्। पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय प्रदिप भट्टराई, वडा नं. २ बस्ने ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं.१२ बस्ने ३५ वर्षीय अबिरल मास्के छन्।
प्रहरीका अनुसार आरोपित शिक्षकहरूले कक्षाकोठा र अध्ययनको सीमाभन्दा बाहिर गएर छात्रा विद्यार्थीहरूलाई रातिको समयमा अस्वाभाविक सन्देश पठाउने तथा परीक्षामा उत्तीर्ण गराइदिने वा सहयोग गरिदिने भन्दै दबाब र प्रभावमा पार्न खोजेको जस्ता गम्भीर गुनासाहरू उजुरीका रूपमा परेका छन्।
उजुरी परेसँगै पक्राउ परेका चारै जनामाथि थप गहन अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया