ad ad

ग्लोबल


२८ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बन्न लागेका यी तन्नेरी

कलेज छाडेका बार्डेला टिकटकमा छन् लोकप्रिय
२८ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बन्न लागेका यी तन्नेरी

नेपालखबर
असार १७, २०८१ सोमबार १७:३०,

फ्रान्सको अति दक्षिणपन्थी पार्टी नेसनल र्‍याली (आरएन)ले संसदीय चुनावमा ठूलो सफलता हात पारेको छ। पहिलो चरणको मतदानमा सो पार्टीले करिब ३४ प्रतिशत मत जितेको छ।

वामपन्थीहरूको गठबन्धन न्यु पपुलर फ्रन्टले करिब २८ प्रतिशत मत पाएको छ। समयभन्दा चाँडै अचानक चुनाव गराएका राष्ट्रपति इम्यानुएल म्याक्रोँको गठबन्धन भने करिब २१ प्रतिशत मतसहित तेस्रो बनेको छ।

आउँदो आइतबार हुने दोस्रो चरणको मतदानमा आरएनले बहुमत प्राप्त गर्छ कि गर्दैन, स्पष्ट हुनेछ। यदि सो पार्टीले बहुमत पाए फ्रान्समा २८ वर्षीय जोर्डन बार्डेला प्रधानमन्त्री बन्नेछन्।

२८ वर्षको उमेरमा प्रधानमन्त्री? झट्ट सुन्दा अविश्वसनीय लाग्न सक्छ। तर, आजभोलि यस्तो कुराको खासै अर्थ छैन। उसै पनि अनुभवको ज्यादा महत्व देखिन छाडेको छ, फ्रान्सेली राजनीतिमा। किनकि तिनका राष्ट्रपति ४६ वर्षका छन्, प्रधानमन्त्री ३५ का।

१६ वर्षकै उमेरमा बार्डेला त्यतिबेला नेसनल फ्रन्ट भनिने पार्टीमा लागेका थिए। यो २०१२ को कुरा हो। त्यही साल सो पार्टीकी नेतृ मरिन ल पेनले राष्ट्रपतिमा उम्मेदवारी दिएकी थिइन्। उनी तेस्रो भइन्।

त्यसपछिका दुई राष्ट्रपतीय निर्वाचन २०१७ अनि २०२२ मा मा ल पेनले मत बढाउँदै लगेकी छन्। २०२७ को चुनावबाट राष्ट्रपतिमा निर्वाचित हुने धोको उनको छ। त्यसका लागि एक लोकप्रिय सारथिको आवश्यकता उनलाई थियो। उनले बार्डेलामा त्यो सारथि देखिन्।

सन् २०१७ मा आफूसँग चिनजान भएको केही समयमै उनले बार्डेलालाई पार्टीको प्रवक्ता बनाइन्। २०१९ मा युरोपेली चुनावमा पार्टीका उम्मेदवारहरूको नेतृत्व गर्न बार्डेलालाई भनिन्। जसमा आरएनले चुनाव जित्यो। बार्डेला युरोपेली सांसद भए।

र, २०२२ मा उनले बार्डेलालाई पार्टी अध्यक्ष नै बनाइन्। ल पेनको यो निर्णय रणनीतिक ठहरियो। 

ल पेन र बार्डेला

आप्रवासीका छोरा
आरएन आप्रवासनविरोधी पार्टी मानिन्छ। तर, बार्डेला आफैँ भने इटलीबाट बसाइँ सरी आएको परिवारका सन्तान हुन्।

पेरिसको उत्तरी हिस्सामा पर्ने सेइन सेन्ट डेनिसमा उनी १९९५ मा जन्मेका थिए। उनकी आमा १९६० को दशकमा इटलीबाट आएकी थिइन्। उनी एक वर्षको हुँदा आमा र बुबा छुट्टिएका थिए।

अन्तर्वार्ताहरूमा बार्डेलाले आफू सामुदायिक हाउजिङमा हिंंसा सहँदै हुर्केको बताएका छन्। बुवाले शुल्क तिरिदिएपछि उनले निजी माध्यामिक स्कुलमा पढ्न पाए।

स्कुलपछि उनी पेरिसको सरबन युनिभर्सिटीमा भूगोल पढ्न भर्ना भए। तर, राजनीतिमा लाग्न उनले पढाइ छाडे।

उनलाई ल पेनले ‘सिंहको डमरु’ उपनाम दिएकी छन्। जसलाई उनले प्रधानमन्त्रीको उम्मेदवार पनि घोषणा गरिन्। 

फ्रान्सका वर्तमान प्रधानमन्त्री ग्याब्रियल अत्ताल ३४ वर्षको उमेरमा सो पदमा पुग्दा उनी मुलुकको सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका थिए। त्यो रेकर्ड बार्डेलाले तोड्न सक्छन्।

टिकटकका नेता
ल पेनका लागि बार्डेला ठूलो सम्पत्ति बने। जसले उनको वामपन्थीहरूले हेला गर्ने पार्टीलाई युवाहरूमाझ लोकप्रिय बनायो। 

टिकटक प्रयोगकर्ता बार्डेला युवाहरूसँग सहजै जोडिएका छन्। उनी आफ्ना १५ लाख फलोअर्सका लागि नियमित भिडिओ पोस्ट गरिरहन्छन्।

विगतमा आरएनका विरोध गर्ने स्नातक, पेन्सनर र सहरवासीहरूमाझ पनि उनी लोकप्रिय छन्। 

उनको लोकप्रियतालाई नकार्न सकिन्न। युवतीहरू उनलाई ‘आकर्षक’ मान्छन्, उनी हरेकलाई मुस्कानले स्वागत गर्छन्, सेल्फी खिचाउँछन्। 

तर, उनीसँग चार वर्ष काम गरेका मिडिया ट्रेनर पास्कल ह्युमु बार्डेलालाई पीआरको उत्पादनबाहेक केही मान्दैनन्। पैसामा कुरा नमिलेर उनीहरूको सहकार्य टुटेको थियो।

‘उनी खोक्रो थिए। कन्टेन्टका हिसाबले उनीसँग धेरैकुरा छैन,’ ह्युमुले बीबीसीसँग भनेका छन्, ‘उनी खास पढ्दैनन्, खासै जिज्ञासु पनि छैनन्। मरिनले दिएको भाषाको तत्व उनले लिए। उनी छेपाराजस्ता छन्, जुनसुकै परिस्थितिमा पनि घुलमिल हुनसक्ने। उनी पक्का अवसरवादी हुन्। उनको विचारधारा छैन, रणनीतिअनुसार चल्छन्, हावा कता बहँदैछ, चाल पाएर पहिल्यै उनी त्यहाँ पुगिसक्छन्।’

उनी विश्वविद्यालय गएनन्। सरकारमा बसेर काम गरेको अनुभव पनि उनीसँग छैन। पार्टीको कामबाहेक अन्य काम उनले कहिल्यै गरेका छैनन्, एक बर्खा बुवाको कम्पनीमा एक महिना काम गरेबाहेक। यस्ता व्यक्ति प्रधानमन्त्री पदका लागि उपयुक्त छन् त?

उनी फ्रान्सको प्रधानमन्त्री बन्ने कुरा अकल्पनीय थियो, भर्खरैसम्म। तर, अब पुराना नियम लागू नहुन सक्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .