ad ad

समाज


एसईईमा सबै विद्यार्थी पास र सबै फेल भएका यी दुई स्कुलमा के छ फरक?

यसो भन्छन् प्रधानाध्यापक
एसईईमा सबै विद्यार्थी पास र सबै फेल भएका यी दुई स्कुलमा के छ फरक?

गीता चिमोरिया
असार १९, २०८१ बुधबार ९:१२, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेसँगै अहिले संघीय संसददेखि वडा तहसम्म सो नतिजाबारे विभिन्न कोणबाट बहस र छलफल भइरहेको छ।

संघीय संसदमा सांसदहरूले विद्यार्थी मात्रै नभएर सरकार र समग्र शिक्षा प्रणाली नै फेल भएको टिप्पणी गरिरहँदा माध्यमिक तहसम्मको शिक्षाको अधिकार पाएको स्थानीय तहका जनप्रतिनिधिहरू आफ्नो पालिकाभित्रको विद्यालयको नतिजाबारे समीक्षा गरिहेका छन्। 

गएको बिहीबार सार्वजनिक भएको २०८० सालको एसईई परीक्षाको नतिजा अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जनामध्ये २ लाख २२ हजार ४७२ जना (४७.८६ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् भने २ लाख ४२ हजार ३ सय १३ जना (५२.१४ प्रतिशत) विद्यार्थी नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन्।

बोर्डका अनुसार गणितमा एक लाख ७७ हजार नौ सय ८५ जना, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ जना, अंग्रेजीमा एक लाख १३ हजार तीन सय ८३ जना र सामाजिकमा ७३ हजार आठ सय ७७ जना नन ग्रेड (एनजी) मा परेका छन्। 

यसैगरी नेपालीमा ६९ हजार पाँच सय ३२ जना, अर्थशास्त्रमा ६९ हजार चार सय १६ जना, ऐच्छिक गणितमा २० हजार तीन सय ५२ जनाको नन ग्रेड (एनजी) आएको छ। 

२०७१ सालमा ग्रेडिङ प्रणाली आएपछि विद्यार्थीलाई पास र फेल भनेर छुट्याउने गरिएको थिएन। ए, बी, सी, डी र ई भनेर नतिजा प्रकाशन गर्ने गरिन्थ्यो। ग्रेडिङ प्रणाली आउनुभन्दा अघि भने विद्यार्थीले पाएको अंकको आधारमा श्रेणी (विशिष्ट, प्रथम, दोश्रो र तेस्रो) मा नतिजा प्रकाशन गर्ने गरिन्थ्यो। 

ग्रेडिङ प्रणाली आएपछि यस वर्ष पहिलोपटक विद्यार्थीलाई ग्रेडेड (उत्तीर्ण) र नन ग्रेडेड (अनुत्तीर्ण) भनेर छुट्याइएको हो। 

एसईईको नतिजापछि विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह, शिक्षाविद्हरू तथा माध्यमिक शिक्षासँग सरोकार राख्ने सबै क्षेत्र यसबारेमा समीक्षा गरिरहेका छन्। 

हामीले यस वर्षको एसईई परीक्षामा सहभागी भएर शत प्रतिशत नतिजा ल्याउने एउटा र एकजना पनि विद्यार्थी उत्तीर्ण (ग्रेडेड) हुन नसकेका एउटा विद्यालय गरी दुईवटा विद्यालयका विषयमा यहाँ चर्चा गरेका छौँ।

श्री जनजागृति माविका प्रधानाध्यापक रमा ढकाल र श्री महाँकाली देवी माविका प्रधानाध्यापक राजुप्रसाद बजगाईं

शत प्रतिशत नतिजा ल्याएको जनजागृति 
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ मा रहेको जनजागृति माध्यमिक विद्यालय  शत प्रतिशत नतिजा ल्याउने जिल्लाकै एक मात्र विद्यालय हो। 

जिल्लामा एक सय दुई सामुदायिक विद्यालय छन्। तर, बर्दिबास नगरपालिका वडा नम्बर ३, पाटुमा रहेको जनजागृति माध्यमिक विद्यालयले मात्रै यस्तो नतिजा हासिल गरेको हो।

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका अनुसार यस वर्ष महोत्तरीमा एकसय दुईवटा सामुदायिक विद्यालय र ३० वटा निजी गरी एकसय ३२ विद्यालय एसईईमा सहभागी भएका थिए। सामुदायिक तर्फ एउटा र निजी १० गरी जिल्लामा ११ विद्यालयको नतिजा शत प्रतिशत देखिएको छ।

२०३१ सालमा स्थापना भएको जनजागृति माध्यमिक विद्यालयले केही समयअघि मात्रै आफ्नो स्थापनाको ५० वर्ष मनायो। विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यसमेत रहेका स्थानीय विनोद ढुङ्गेलका अनुसार २०४८ सालदेखि एसएलसी परीक्षामा सहभागी भएको विद्यालयले पहिलोपटक शत प्रतिशत नतिजा ल्याएको हो।    

गएको वर्ष बर्दिबास नगरपालिकाले नगर क्षेत्रभित्रका सबै (५२ वटै) विद्यालयमा माध्यमिक तहको विद्यालयमा माध्यमिक तहकै प्रधानाध्यापक, निम्नमाध्यमिक तहको विद्यालयमा निम्नमाध्यमिक तहकै प्रधानाध्यापक र प्राथमिक तहको विद्यालयमा सोही योग्यताको प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गर्‍यो र परीक्षा सञ्चालन गर्‍यो। सोही परीक्षा पास गरी २०८० कात्तिक २३ बाट रमा ढकाल जनजागृति माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भइन्।    

हामीले प्रधानाध्यापक ढकाललाई सोध्यौँ, तपाईंको विद्यालय कसरी शत प्रतिशत नतिजा ल्याउन सफल भयो?

‘हाम्रो विद्यालय अलिकति ग्रामीण/पिछडिएको ठाउँजस्तैमा छ। सबैको नै लगभग छाया परेकोजस्तै थियो। थोरै विद्यार्थी भए पनि गुणस्तरीय तरिकाले सबै विषयका शिक्षक राखेर यो वर्ष कोचिङ/ट्युसन गरेर विद्यार्थीहरूलाई फ्यामिलियर बनाएर पढायौ,’ ढकालले भनिन्।

यस वर्ष जनजागृति माविबाट २० जना विद्यार्थी एसईई परीक्षमा सहभागी भएका थिए।

‘बीसै जना विद्यार्थीलाई सकेसम्म धेरै समय विद्यालयमै राखेर, अतिरिक्त कक्षाहरू गराएर, विद्यार्थीलाई जतिबेला जुन शिक्षकको आवश्यकता पर्छ, त्यो समयमा उपलब्ध हुने कोसिस गर्‍यौँ। सबै शिक्षकले एकदमै मेहनत गरेर विद्यार्थीहरूलाई ध्यान दिनुभयो,’ उनले सुनाइन्, ‘विद्यार्थीका अभिभावकलाई पनि बेलाबेलामा बोलाएर विद्यार्थीको बारेमा जानकारी गरायौँ। तीनै पक्ष (शिक्षक, विद्यार्थी, अभिभावक) को सम्बन्धलाई मजबुत बनाउँदै लैजाँदा यो नतिजा सम्भव हुने रहेछ भन्ने लाग्छ मलाई।’

अंग्रेजी माध्यमबाट पठपाठन हुने विद्यालयमा कठिन मानिएका गणित, विज्ञान र अंग्रेजीमा अझै धेरै मेहनत गराएको उनको भनाइ छ।

‘यो तीनवटा विषयलाई हामीले अतिरिक्त कक्षामा अझै धेरै मेहनत गर्‍यौँ। अन्य विषयहरूलाई चाहिँ हामीले कक्षामा नै समय दिएर पढायौँ। नेपाली लगायत समयमै सकिएका विषयको घण्टी मागेर पनि गणित र अंग्रेजीको घण्टी गर्‍यौँ,’ उनी भन्छिन्।

करिब पौने तीनसय विद्यार्थी रहेको जनजागृति माविमा २० जना शिक्षकले मेहनत गरिरहेका छन्। 

‘अन्य विद्यालयहरूमा विद्यार्थी संख्या धेरै हुँदा शिक्षकले सबै विद्यार्थीको गृहकार्य हेर्न नभ्याउने, सबैलाई समय दिन र पृष्ठपोषण दिन नभ्याउने भएको देखियो,’ ढकाल भन्छिन्,– ‘हाम्रोमा थोरै विद्यार्थी भएकाले पनि अलि सजिलो भएको होला। हरेक कक्षामा २०/२५–२०/२५ जना छन्, हामीलाई चाहिँ एकदम सजिलो छ पढाउन।’

समयमै सबै विषयका शिक्षक नियुक्तिको लागि ढकालले नगरपालिकामा ताकिता गरिरहिन्। 

‘मैले शिक्षक जसरी पनि दिनुस् नत्र रिजल्ट दिन सकिँदैन, महिला प्रधानाध्यापक भएर पहिलोपटक चलाइरहेकी छु भनेर नगरपालिकामा अलि बढी नै फोकस गरेँ,’ उनी भन्छिन्, ‘नगरप्रमुखले नगरभरिका सबै विद्यालयमा समयमै शिक्षक पुर्‍याउन सकेको पहल गर्नुभयो।’

ढकाल भन्दाअघिका प्रधानाध्यापक गणित शिक्षक थिए। उनले आफू आउनेबित्तिकै हप्तादिनभित्रै अर्को शिक्षक नियुक्त गरिन्। 

उनले सुनाइन्, ‘निवर्तमान हेडसर नै गणित शिक्षक हुनुहुन्थ्यो, सात दिनभित्रै आवेदन खोलेर उहाँको सट्टामा नयाँ शिक्षक राखिहालेँ, त्यो भएर खासै अप्ठ्यारो भएन। अंग्रेजी र विज्ञानको शिक्षक स्थायी नै हुनुहुन्छ। कोर सब्जेक्टहरूमा राम्रो शिक्षक हुनुहुन्छ, हाम्रोमा।’

ढकालका अनुसार सरकारीसँगै निजी प्रकाशनका पुस्तकहरू पनि विद्यार्थीलाई उपलब्ध गराइएको छ।

एकजना पनि उत्तीर्ण गर्न नसकेको महाँकाली
ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री महाँकाली देवी माध्यमिक विद्यालयको यस वर्षको एसईई नतिजा सुखद रहेन। 

विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ११ जना विद्यार्थीमध्ये सबै अनुत्तीर्ण भए।

गणितमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। अंग्रेजीमा ६ जना, अर्थशास्त्रमा ५ जना, विज्ञानमा ४ र एकाउन्टमा २ जना अनुत्तीर्ण (नन ग्रेडेड) छन्। नेपाली र सामाजिकमा मात्रै सबै विद्यार्थी उत्तीर्ण भएका छन्।  

श्री महाँकाली देवी माध्यमिक विद्यालयमा २०७० सालदेखि राजुप्रसाद बजगाईंले प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन्।  

हामीले प्रधानाध्यापक बजगाईंलाई सोध्यौँ, के कारणले तपाईंको विद्यालयमा यस्तो नतिजा देखियो? 

जवाफमा बजगाईंले भने, ‘हाम्रोमा अघिल्लो वर्ष गणित शिक्षक तीनजना चेन्ज हुनुभयो। जेठमा एकजनाले छोड्नुभयो, उहाँले छोड्नेबित्तिकै आवेदन खोलेर अर्को शिक्षक ल्यायौँ। उहाँले अर्को ठाउँमा नाम निकालेर मंसिरमा जानुभयो। त्यसपछि फेरि अर्कोपटक आवेदन खोलेर शिक्षक नियुक्त गर्‍यौँ। उहाँले दुई महिना पढाउनु भयो। अहिले गणितमा सबै विद्यार्थीको रिजल्ट यस्तो आएको छ।’ 

उनका अनुसार ११ जनामध्ये तीन जनालाई गणित विषय मात्रै लागेको छ। पटकपटक शिक्षक बदल्दा एसईईको नतिजा सन्तोषजनक आउन नसकेको हो जस्तो उनलाई लाग्छ।

तर विद्यालयको एसईई नतिजा यस्तो आउनुमा एउटा मात्रै कारण छैन। 

प्रधानाध्यापक बजगाईं भन्छन्, ‘हाम्रोमा कस्तो समस्या छ भने कतिपय विद्यार्थी अभिभावकविहीन छन्। कहिले कापी हुँदैन, कहिले कलम हुँदैन। नियमित विद्यालय आउँदैनन्। आज आयो, भोलि नआयो, फेरि पर्सि आयो गर्छन्। हामीले भन्न त भनिरहेका हुन्छौँ नियमित आउनुपर्छ भनेर तर सुधार भएन। धेरै कडा गरेर विद्यालयले सजाय दिन पनि मिल्दैन। हामीलाई अलि अप्ठ्यारो छ।’

२०४२ सालबाट एसएलसीमा सहभागी भएको महाँकाली माविले कहिल्यै पनि उत्कृष्ट नतिजा ल्याउनसकेको छैन। 

‘२०४८/२०४९ तिर पनि यसरी नै शत प्रतिशत अनुत्तीर्णको नतिजा आएको थियो। त्यो भन्दापछाडि शत प्रतिशत अनुत्तीर्ण नभए पनि कमजोर चाहिँ अलि कमजोर नै हो हाम्रो विद्यालय,’ बजगाईं भन्छन्, ‘शत प्रतिशत नआए पनि २०५८ देखि २०७०/०७२ सम्म राम्रै प्रतिशत ल्याएर पास भएको विद्यालय हो। २०७२ पछाडि (भूकम्पपछि) आन्तरिक तरिकाले मूल्यांकन गर्ने विधिहरूले राम्रै नतिजा आएको हो। अहिले आएर चाहिँ यस्तो अवस्था भयो।’

विद्यालयले अंग्रेजी र गणित विषयका लागि करिब दुई महिना अतिरिक्त कक्षा पनि सञ्चालन गर्‍यो। तर नतिजामा सुधार हुन सकेन।

‘हाम्रो यो ठाउँचाहिँ कस्तो हो भन्नुहुन्छ भने यहाँ शिक्षकहरू स्थायी नियुक्ति लिएर आउने अनि तुरुन्तै सिफ्ट भएर उता भ्यालीतिर जाने,’ विद्यालयले भोगेको अर्को समस्याबारे प्रधानाध्यापक बजगाईंले भने, ‘यहाँ शिक्षकहरूलाई लामो समयसम्म हामीले राख्नै सकेनौँ। सकेनौँ भन्दा पनि विद्यालयको चाहना त राख्ने नै हो। तर शिक्षकहरू आफ्नो पहुँचबाट भनसुन गरेर अन्त सरुवा हुने।’ 

गत पुसमा विज्ञान शिक्षकको पोस्टिङ गराएर शिक्षक सेवा आयोगले पठाएको थियो। तर, ती शिक्षक जेठमै सरुवा गराएर उपत्यका गएको उनको भनाइ छ।

‘यहाँको समस्या भनेकै शिक्षक आउने, अनि सरुवा मागेर अन्त जाने अनि फेरि हामीले नयाँ शिक्षक ल्याउनपर्ने, करारमा राख्नपर्ने। यस्तै भइरहेको छ। यहाँ धेरैजसो चाहिँ शिक्षककै कारणले पनि विद्यार्थी फेल भइरहेका छन्,’ उनी भन्छन्, ‘यहाँ सामाजिक र नेपालीको शिक्षक मात्रै निरन्तर हुनुहुन्छ। नेपालीको शिक्षक २०७३ देखि निरन्तर हुनुहुन्छ। सामाजिक पढाउने म सुरुदेखि नै यहीँ छु। हामी चाहिँ यहीँ भइरहेको कारणले पनि हो कि यो दुईवटा विषयमा एकजना पनि विद्यार्थी फेल भएनन्। अरू विषयमा शिक्षकहरू आउनुहुन्छ, २ महिना/४ महिना बस्नुहुन्छ अनि तुरुन्तै सरुवा भएर जानुहुन्छ। त्यसकारण गर्दाखेरी विद्यार्थीहरूले पूर्ण रूपमा पढ्न पाउँदैनन्। शिक्षकले विद्यार्थीलाई राम्रोसँग चिनिरहेको पनि हुँदैन। त्यसले गर्दा पनि यो समस्या आएको हो कि जस्तो लाग्छ।’    

एकसय विद्यार्थी अध्ययन गरिरहेका श्री महाँकाली माध्यमिक विद्यालयबाट अघिल्लो वर्ष १३ जना विद्यार्थी एसईईमा सहभागी थिए। जसमा सबै विद्यार्थीले नै कक्षा ११ मा पढ्ने मौका पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .