ad ad

समाज


शरणार्थी प्रकरणमा अढाई करोड लिएको इन्कार गरेका प्रतीकलाई थुनामा पठाउने यस्ता छन् आधार

शरणार्थी प्रकरणमा अढाई करोड लिएको इन्कार गरेका प्रतीकलाई थुनामा पठाउने यस्ता छन् आधार

उजिर कार्की
असार १८, २०८१ मंगलबार २०:१२, काठमाडौँ

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

उनलाई प्रहरीले काठमाडौँको बौद्धबाट गत शुक्रबार पक्राउ गरेको थियो। आइतबार अदालतमा उपस्थित गराए पनि सोमबार मात्रै बयान सुरु भएको थियो। बयान सकिएपछि मंगलबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले थुनछेक आदेश गरेको हो। 

थापालाई केन्द्रीय कारागार सुन्धारा पठाउने आदेश भएको छ। उनीसहित ३० प्रतिवादीविरुद्ध २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। 

त्यतिबेलै पक्राउ परेका प्रतिवादीमध्ये धेरैजसो उच्च र सर्वोच्च अदालतबाट रिहा भइसकेका छन्। तर, थापा भने फरार रहँदै आएका थिए। यो कसुरमा २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ। प्रतीकले अढाई करोड रुपैयाँ लिएको आरोप छ। तर, अदालतमा उनले आफूमाथि लागेको आरोप इन्कार गर्दै बयान दिएका छन्। 

थुनामा पठाउने आधार 
अदालतले भने तत्काल प्राप्त प्रमाणबाट उनलाई निर्दोष मान्न सकिने आधार नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। 

प्रतीक थापाले नक्सालस्थित नीलगिरि रेस्टुराँमा उपस्थित भई आमा नैनकला थापालाई रकम प्राप्त भए नभएको सम्बन्धमा फोन गरी रकम प्राप्त भएको जानकारी पाएको भनिएको छ।

पछि चिरञ्जीवी आचार्यमार्फत आएको एक करोड रुपैयाँ र रामशरण केसीले दिएको एक करोड ५० लाख रुपैयाँ प्रतीकले भनेबमोजिम सोही रेस्टुराँमा पार्किङ गरिरहेको गाडीमा राख्न लगाएको भनी केसीले बयान दिएका थिए। 

प्रेमराज पन्थीलगायतले उक्त रकम प्रतीक थापाले बुझिलिएको भनी किटानी जाहेरी दिएका छन्। अनुसन्धानका क्रममा बुझिएका मानिसहरू मनबहादुर खत्रीलगायतले घटना विवरण कागजमा पनि प्रतीकले उक्त रकम लिएको भन्ने पुष्टि हुने व्यहोरा टिपाएका छन्।
बिचौलियाको सेटिङअनुसार गृह मन्त्रालबाट भएका निर्णय, पत्राचार आदिले पनि प्रतीकको संलग्नता पुष्टि गर्न मद्दत गर्छन्। 

‘गृह मन्त्रालयका पत्रहरू, नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबको परीक्षण प्रतिवेदनहरूको व्यहोरा समेतका मिसिल संलग्न कागजातहरुबाट यी प्रतिवादी हाल निर्दोष रहेछन् भनी मान्न मिल्ने नदेखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी प्रतीक थापालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्नुपर्ने’ अदालतको आदेशमा भनिएको छ।

अदालतको यो आदेशलगत्तै उनलाई केन्द्रीय कारागार, सुुन्धारा लगिएको छ।

यस मुद्दामा एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा पनि अभियुक्त छन्।
यस्तै केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, टोपबहादुरका छोरा सन्दीप रायमाझी, बालकृष्ण खाणका सहयोगी नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव तुलाधर, लक्ष्मी महर्जन, भक्त महर्जनलाई पनि प्रतिवादी बनाइएको छ। 

अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल र सुनील बुढाथोकीविरुद्ध पनि यस प्रकरणमा मुद्दा चलाइएको छ।

पक्राउ परेकामध्ये ७ जना मात्रै हाल थुनामा छन्। रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारीलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ। अरु भने धरौटी र साधारण तारेखमा उच्च र सर्वोच्चबाट रिहा भइसकेका छन्।

यो मुद्दाको फैसला हुन भने बाँकी नै छ। तर प्रहरीले दोस्रो चरणको पनि अनुसन्धान सुरु गरेको छ। यस प्रकरणका मुख्य बिचौलियामध्येका ठानिएका बेचन झालाई पक्राउ गरेसँगै दोस्रो चरणको अनुसन्धान अगाडि बढेको हो। अनुसन्धान गर्दा थप व्यक्तिको संलग्नता खुलेमा उनीहरूमाथि पनि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

यस्तो छ प्रतीकको बयान : मेरो गाडी नै छैन

जाहेरवाला प्रेमराज पन्थी र प्रतिवादी रामशरण केसीलाई मैले चिनेकोसम्म छैन। मेरो कुनै गाडी छैन। कुनै सम्बन्ध र सरोकार नै नभएका व्यक्तिले म विरुद्ध झुटा जाहेरी दिएका हुन्। 

रामशरण केसी र केशवप्रसाद दुलालको बयान अनि प्रेमराज पन्थीको जाहेरी दरखास्त नै एक आपसमा बाझिएको छ। निजहरूको बयान र जाहेरी व्यहोरा एकआपसमा मेल खाँदैन। 

जाहेरवालाले उल्लेख गरेको रेस्टुराँमा म थिइनँ। प्रेमराज पन्थीले गाडीमा एक करोड रुपैयाँ राखेको भनेको छ। उक्त व्यहोरा झुटा हो। पछि पचास लाख रुपैयाँ फिर्ता भयो भनेका छन्। उक्त रकम को कसले कसरी फिर्ता गरेका हुन्, सो समेत खुल्न आएको छैन। मैले रकम लिएको र फिर्ता गरेको भए कारोबारबाट देखिनुपर्ने थियो।

सो कारोबार भएको पुष्टि हुन आएको छैन। त्यसैले जाहेरी दरखास्तको व्यहोरा झुटा सावित हुन आउँछ। केशवप्रसाद दुलालले अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा मैले नक्सालस्थित नीलगिरि थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको एक तलामाथिबाट रकम लिएको कुरामा आमा नैनकला थापासँग फोनमा कुरा गरेको भनी उल्लेख गरेका रहेछन्।

उक्त बयान व्यहोरा पनि झुटा हो। सो समयमा मेरो केशवप्रसाद दुलालसँग भेट भएको छैन। म उक्त समयमा सो होटलमा गएको पनि छैन। निजले किन त्यस्तो बयान गरेका हुन्, मलाई थाहा भएन। 

रामशरण केसीले मविरुद्ध गरेको बयानको सम्बन्धमा मैले रामशरण केसीलाई चिनेको छैन। मेरो कुनै संलग्नता नै नभएको अवस्थामा निजले मसँगै रहेको भनी बयानमा उल्लेख गरेका रहेछन्। 

चिनजान नै नभएको व्यक्तिले मेरो नाम किन उल्लेख गरेका हुन्, मलाई थाहा भएन। निजले भने बमोजिम गाडीमा रकम राखेको भनेका छन्, उक्त गाडी मेरो होइन। सो समयमा म उक्त रेस्टुराँमा थिइनँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .