ad ad

ग्लोबल


पुटिन भेट्न रुस जाने तयारीमा मोदी

पुटिन भेट्न रुस जाने तयारीमा मोदी

फाइल तस्बिर : भ्लादिमिर पुटिन र नरेन्द्र मोदी


नेपालखबर
असार १९, २०८१ बुधबार ८:५९, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको भ्रमण गर्ने भएका छन्। 

मिडिया रिपोर्टहरूले मोदीले जुलाई ८ मा रुस भ्रमण गर्ने सम्भवना उल्लेख गरेका छन्। तर उनको भ्रमणको मितिबारे अहिलेसम्म आधिकारिक घोषणा गरिएको छैन।

यसैबीच रुसी राष्ट्रपति दरबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण मिति छिट्टै घोषणा गरिने बताएका छन्। उनले यात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। 

यस क्रममा उनले आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री मोदीको मस्कोमा भेट हुँदा दुवैबीच कुनै पनि विषय ‘वार्ताको दायरा बाहिर’ नजाने बताएका छन्।

रुसको सरकारी समाचार एजेन्सी टासले पेस्कोभलाई उद्धृत गर्दै पुटिन र मोदीले आफ्नो भेटमा क्षेत्रीय र विश्वव्यापी सुरक्षा, व्यापार जस्ता एजेन्डामा वार्ता गर्ने बताएका छन्।

एक प्रश्नको जवाफमा पेस्कोभले भने, ‘हामी (रुस र भारत) संयुक्त रूपमा काम गर्ने विषयमा छलफल गर्नेछौँ। क्षेत्रीय मामिला, क्षेत्रीय सुरक्षा र विश्वव्यापी सुरक्षा सधैँ एजेन्डाको शीर्ष स्थानमा रहन्छ। यसबाहेक द्विपक्षीय व्यापार र आर्थिक सहयोग पनि हाम्रो वार्ताको केन्द्रबिन्दु हुनेछ।’

प्रधानमन्त्री मोदीको भ्रमण ‘अत्यन्तै महत्त्वपूर्ण’ हुने बताउँदै पेस्कोभले रुस र भारतबीच विभिन्न क्षेत्रमा सहयोग बढाउन आपसी राजनीतिक इच्छाशक्ति रहेको जिकिर गरेका छन्। 

पेस्कोभले भने, ‘राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीचको सम्बन्ध धेरै विश्वासयोग्य छ र त्यसलाई हेर्दा एजेन्डामा समावेश गरिएका सबै विषयमा विचार आदानप्रदान हुनेछन् र त्यस्ता धेरै मुद्दामा छलफल हुनेछन् भन्ने आशा गर्न सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .