ad ad

कला


सिरोहिया पक्राउबारे दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै मह जोडीले मागे माफी

सिरोहिया पक्राउबारे दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै मह जोडीले मागे माफी

नेपालखबर
जेठ १४, २०८१ सोमबार ११:१७, काठमाडौँ

नागरिकता गडबडी प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे केही दिनअघि दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले सार्वजनिक रूपमा माफी मागेका छन्। 

कार्यक्रमको दौडधुपमा रहेका बेला एक्कासि सोधिएको प्रश्नमा जवाफ दिँदा ढंग नपुगेको भन्दै उनीहरूले सोमबार बिहान संयुक्त रूपमा भिडिओ सन्देश जारी गरी क्षमा याचना गरेका हुन्। 

‘अस्ति नै हामी एउटा क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौँ, त्यही बेला त्योभन्दा गम्भीर रूपमा अर्को अदालतमा विचाराधीन विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनुभएको रहेछ,’ मदनकृष्णले भिडिओमा भनेका छन्, ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो। हामी अक्मकियौँ के बोल्ने कसो बोल्ने भनेर। अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस हामीले गरेका छाैँ।’

हरिवंशले अगाडि थपेका छन्, ‘र, अदालतमा विचाराधीन भइरहेको मुद्दाको विषयमा हामीले नबोल्या भए पनि हुन्थ्यो। यो हामीबाट त्रुटि भयो, भूल भयो, त्यसको लागि तपाईंहरूले आफ्नै मान्छे सम्झेर, यत्रो वर्ष आफ्नै मान्छे सम्झेर माया गरिदिनुभयो, यो पल्ट पनि तपाईंहरूले सबै कुरा बिर्सिएर माफ गरिदिन अनुरोध गर्दछु।’

सिरोहिया पक्राउबारे कान्तिपुर टेलिभिजनले सोधेको प्रश्नमा श्रेष्ठ र आचार्य दुवैले सरकारले गल्ती गरेको आरोप लगाएका थिए।

त्यसबेला कान्तिपुर टीभीसँग कुरा गर्दै हरिवंशनले भनेका थिए, ‘२०४६ सालदेखि ०६२ सालसम्म जुन–जुन मुभमेन्टहरू भए, त्योबेलामा कान्तिपुर पब्लिकेसन्स, विशेषगरी कैलाश सिरोहियाजीहरु र हामी सँगसँगै बसेर अभियानमा लागेको हो। अहिलेको ओपन परिस्थितिको वातावरण सिर्जना नेपालको प्रेस जगत्‌ले पनि गरेको हो। त्यसमा कैलाशजी र कान्तिपुर मिडियाको ठूलो भूमिका छ।...अब यो अदालतको कुरा भयो। अदालतमा यो केस पुगिसक्यो। मलाई जहाँसम्म लाग्छ, अदालतले निर्दोष साबित गर्छ होला र उहाँको रिहाइ हुन्छ।’

मदनकृष्णले पनि सिरोहिया पक्राउप्रति दुःख व्यक्त गर्दै भनेका थिए, ‘कैलाश सिरोयिहाजस्तो व्यक्तिलाई यस्तो पर्‍यो। सुन्दाखेरि पनि मज्जा लाग्दैन। सञ्चार क्षेत्रमा यो नमीठो अवस्था आयो। रामायणमा रामले लक्ष्मणलाई राजनीति भनेको के हो भनेर सोध्दा रावणसँग गएर सोध भन्छ। राजनीतिमा साम, दाम, दण्ड, भेद हुन्छ। तर रविजीको तरिका ठीक भएन। मुद्दा अदालतमा गएको छ। अदालते फैसला राम्रै गर्ला।’

नागरिकता प्रकरणमा यही जेठ ८ गते साँझ काठमाडौँस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरी जनकपुर लगिएका सिरोहिया धनुषा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्।  

हेर्नुहोस् महजोडीले माफी मागेको भिडिओ सन्देश-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .