साउन १ गतेबाट प्रदर्शन हुने फिल्म ‘गौँथली’ को निर्माण टिम यतिखेर प्रमोसनमा जुटेको छ। प्रमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनतसहितको प्रचार शैलीले थप आकर्षित गरिरहेको छ।
सुरुवातमा यस फिल्मको गीत सार्वजनिक कार्यक्रममा ‘गौँथली’का मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला-बेहुलीको भेषमा पुगेका थिए। किनकि त्यो गीतमा र सिनेमामा उनीहरू बेहुलाबेहुलीका रुपमा देखिन्छन्।
त्यस्तै, केही दिनअघि अरुण र सिम्रन एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन त्यही भेषमा पुगे। सिम्रनले आफू १५ वर्षको उमेरमै एक अटिजम भएको व्यक्तिसँग विवाह गर्न पुगेको बताइन्। अरुणले अटिजम भएको क्यारेक्टर सिनेमामा जसरी निभाएका छन्, त्यही क्यारेक्टरमा अन्तर्वार्ता दिए।
सुरुमा साँच्चै कोही रियल क्यारेक्टरले अन्तवार्ता दिइहेको भनेर धेरै झुक्किएका थिए। जुन शैली यी दुई क्यारेक्टरले सिनेमाको प्रचारमा अपनाएका छन्। यसले सिनेमालाई थप धेरै दर्शक माझ पुर्याएको छ।
यसका लागि उनीहरूलाई निर्देशक कपिल रिजाल र प्रकाश सुवेदीले हौस्याएको हुन्। निर्देशक रिजालले यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका थिए। यसमा उनले पहिलोपटक जितु नेपाललाई हिरोका रुपमा ब्रेक दिएका थिए।
यसपटक पनि उनले जोखिम मोलेर अटिजमको विषय उठान गरेका छन्। यही विषयको उठान र प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन्, जसले सिनेमाको हाइप बढाउने काम गरिरहेको छ।
कपिल आफैँमा भने पेशाले चिकित्सक हुन्। लामो समय बेलायत बसेर उनले डेन्टल चिकित्सकको रुपमा काम गरेका थिए। तर, उनी पछिल्लो समय निर्देशनमा आइपुगेका छन्।
उनी स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन्। गीतकार र चलचित्रकर्मी समेत रहेका भोलाको कलाप्रतिको समर्पणको छाप सानैदेखि कपिलमा पनि परेको थियो। त्यसैको प्रभावस्वरुप ढिलै भए पनि कपिल चलचित्र निर्देशनमा आइपुगेका हुन्।
डा. कपिल रिजालको निर्देशन रहेको यस फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीको अभिनय छ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। जसले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।
अहिले सोही नाममा उनका छोरा तथा निर्देशक डा. कपिलले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्।
Shares

प्रतिक्रिया