आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म ‘मास्टर्नी’ को पहिलो झलक सार्वजनिक गरिएको छ। फस्टलुक पोस्टरमा अभिनेत्री प्रियंका कार्की फिचर्ड छिन्।
फिल्ममा प्रियंका मुख्य भूमिकामा देखिएकी छन्। पोस्टरमा बाथटबमा शान्तसँग पल्टिरहेकी प्रियंकाका आँखाले भने केहि भन्न खोजिरहेका छन्। बाहिरबाट शान्त देखिए पनि भित्र केहि गहिरो रहस्य रहेको पोस्टरले संकेत गर्छ।
त्यस्तै बाथटबको पानीमा रहेका सुनौला माछाले शान्तिभित्र पनि असामान्य कुरा भइरहेको आभास दिन्छन्। यसलाई पानीमा सत्य लुकाउने वा अपराधको प्रमाण लुकाउने प्रतिकको रुपमा बुझ्न सकिन्छ।
अनुहारमा डरभन्दा बढी देखिएको आत्माविश्वास र अंग्रेजी ट्यागलाइन सबैभन्दा शान्त देखिने व्यक्तिले नै सबैभन्दा खतरनाक खेल रचेको छ। यसले मुख्य पात्र बाहिरबाट सामान्य र संयमित देखिए पनि भित्र निकै चलाख र रहस्यमय हुन सक्ने संकेत गर्छ।
ट्राईडेन्ट कन्सेप्टक लागि रोयल भीमसेनले पोष्टर तयार पारेका हुन्। यस फिल्ममा प्रियंकासहित क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता हुन्।
शुभेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंकासहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा र दिनेश काफ्लेलगायतको अभिनय रहेको छ।
चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रुपमा सिमोस सुनुवार रहेका छन्। प्रियंका कार्कीको कथा रहेको चलचित्रको स्क्रिप्ट शान बस्नेतले तयार पारेका हुन्।
त्यस्तै प्रियंका र शान मिलेर डाइलग लेखेका छन्। युवराज इन्दोरियाले खिचेको चलचित्रलाई राजा सिंह सिदूले सम्पादन गरेका छन्।
यो फिल्म आउँदो भदौ ५ गतेबाट प्रदर्शनमा आउनेछ। नेपालीसहित अन्य नौ भाषामा एकसाथ रिलिज गर्ने निर्माण टिमको तयारी छ।
Shares

प्रतिक्रिया