आगामी साउन १ गतेबाट प्रदर्शन हुने ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरमा स्वास्थ्यका कारण सिनेमाका मुख्य पात्र अरुण क्षेत्रीले देखाउने अस्वभाविक क्रियाकलाप र त्यसको सामना गरिरहेकी सिम्रन खड्कालाई देखाइएको छ।
पढ्नका लागि सिम्रनले गरेको संघर्ष र त्यसमा उनको घर नै कसरी बाधक बनिरहेको छ भन्ने ट्रेलरले देखाएको छ। महिलाले महिलालाई नै सहयोग नगर्दाको असर ट्रेलरमा देख्न सकिन्छ।
पुरातनवादी समाज र सोचसँग संघर्ष गरिरहेकी एक युवतीले गरिरहेको संघर्ष र शारीरिकरूपमा फरक रहेका व्यक्तिले देखाउने फरक-फरक क्रियाकलापले ट्रेलरलाई आकर्षक बनाएको छ।
अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपना र घरलाई ट्रेलरमा भावनात्मक रूपमा चित्रण गरिएको छ।
सिनेमाले उठान गरेको कथा, कलाकारको अभिनय र ग्रामीण परिवेशले ट्रेलरलाई आकर्षक बनाएको छ। विवाह गर्दिनँ भन्ने एक युवतीले आमाबुबाको आग्रह र इज्जत धान्न गरेको सम्झौताले पाउनु परेको दुःखले भावुक बनाउँछ।
‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका छन्।
यस फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ।
बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा रहेका छन्।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पार्श्व संगीत एलिस कार्कीको छ।
चलचित्रलाई हरि हुमागाईंले खिचेका छन्। मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्।
साउन १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट,र एफ.डी. कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।

प्रतिक्रिया