अपराध


अपमानित गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि आत्महत्या

अपमानित गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि आत्महत्या

सुभाष कर्ण
असार २०, २०८३ शनिबार १९:५९, जनकपुरधाम

स्थानीय युवाले अपमानित गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि बाराकी एक बालिकाले आत्महत्या गरेको परिवारजनले बताएका छन् भने प्रहरीले सात जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान सुरु गरेको छ। 

बाराको कलैया उपमहानगरपालिका-२१, भौडाहकी १३ वर्षीया सरिया खातुनलाई गाउँकै केही युवाको समूहले गालीगलौज गरेको थियो। उनीहरूले बालिकालाई कुटपिट र दुर्व्यवहार गरेको परिवारजनले बताएका छन्। 

उनीहरूले सरियासँग गरेको दुर्व्यवहार र कुटपिटको भिडिओ पनि खिचेका थिए। त्यो भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल बनेको छ। त्यसपछि सरियाले मानसिक तनाव झेल्न नसकी आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक बलराम श्रेष्ठले बताए। 

प्रहरी र स्थानीय बासिन्दाका अनुसार, असार १५ गते भौडाहस्थित चौरको एक खेतमा उनी साथीसँग बसिरहेकी थिइन्। स्थानीय युवाले ‘त्यो केटासँग किन बसेको’ भन्दै गालीगलौज गर्न सुरु गरेको प्रहरीको भनाइ छ। 

त्यसरी गालीगलौज, कुटपिट र दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडिओ भाइरल बनेपछि बालिका तनावमा परेको परिवारजनले बताएका छन्। 

त्यही अपमान सहन नसकी भोलिपल्ट असार १६ गते सरियाले आत्महत्या गरेको परिवारजनको भनाइ छ। उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। 

सरियाका परिवारजनले इलाका प्रहरी कार्यालय, सिमरामा जाहेरी दिएका छन्। उनीहरूले घटनामा संलग्न युवालाई कारबाही गर्न माग गरेका छन्। 

जाहेरीका आधारमा सात जना युवाविरुद्ध आत्महत्या दुरुत्साहतमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाराका सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले बताए। ‘बालिकालाई दुर्व्यवहार र कुटपिट गरी आत्महत्याको स्थितिसम्म पुर्‍याएको आरोपमा सात जनाविरुद्ध मुद्दा दर्ता भएको छ। तीमध्ये एक जना आरोपीलाई नियन्त्रणमा लिएका छौँ,’ श्रेष्ठले भने, ‘फरार रहेका अन्य अभियुक्तहरूको खोजी भइरहेको छ।’

सामाजिक सञ्जालमा फैलाइएको भिडिओमा गाउँका केही युवाले बालिकालाई घेरेर गालीगलौज गरिरहेको, धम्क्याएको देखिन्छ। प्रहरीले भिडिओलाई अनुसन्धानको मुख्य प्रमाणका रूपमा लिएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad