ad ad

समाज


अनि डा. महतोले दिए सिरोहियाविरुद्ध जाहेरी, यस्तो छ उनको पृष्ठभूमि

अनि डा. महतोले दिए सिरोहियाविरुद्ध जाहेरी, यस्तो छ उनको पृष्ठभूमि

कैलाश सिरोहिया र डा.इन्द्रजित महतो


जनार्दन पोखरेल
जेठ १३, २०८१ आइतबार १०:३४, काठमाडौँ

नागरिकता कसुरमा गएको मंगलबार काठमाडौँबाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीमा जाहेरी गर्ने इन्द्रजित महतो पेसाले चिकित्सक हुन्। 

सर्लाहीको हरिवन निवासी एमडी जीपी डाक्टर महतोले हरिवनकै नोचामा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन्। उनी गृहमन्त्री रवि लामिछाने नेतृत्वको रास्वपाको मधेस प्रदेश कमिटी सदस्य पनि हुन्। तर, उनी राजनीतिक रुपमा स्थिर भने छैनन्। विगत तीन वर्षमा उनले तीनवटा पार्टी परिवर्तन गरिसकेका छन्। 

गएको निर्वाचन अघिसम्म उनी एमालेमा क्रियाशील थिए। एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमाले बनेका उनी एमालेमा एक वर्ष मात्रै बसे। एमाले प्रवेश गर्नुअघि उनी कांग्रेस थिए।

०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर– ३ को प्रदेशसभा (क)मा उनले एमालेबाट टिकटको अपेक्षा गरेका थिए। त्यसका लागि उनले एमालेमा निकै कसरत गरे। तर, एमालेले हरिवन नगरपालिकाका पूर्वमेयर गणेश प्रसाइँलाई प्रदेशको टिकट दिएपछि उनले एमाले छाडे। निर्वाचनको मुखमै एमाले परित्याग गरेका महतोले चुनावमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए।

तर, लौरो चुनाव चिह्नमा प्रदेश सभा सदस्यको निर्वाचन लडेका उनको निर्वाचनमा लज्जाजनक हार भयो। निर्वाचनमा अर्का स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा (निर्वाचन जितेपछि माओवादी प्रवेश गरेका)ले १६ हजार ५९१ मत प्राप्त गरेर विजयी हुँदा उनले जम्माजम्मी ६८६ मत मात्रै पाएका थिए। 

‘मैले पाएको मत रक्सी र मासु बिनाको हो। मलाई भोट दिनुस् भनेर मैले चुनावमा कसैलाई पनि रक्सी र मासु खुवाइन,’ उनले भने, ‘रक्सी र मासु नखाइ पनि जनताले मलाई त्यति मत दिनुभयो, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ।’

चुनावमा पराजित बनेपछि उनी रास्वपामा प्रवेश गरेका हुन्। ‘अहिलेसम्म म रास्वपामै छु,’ महतोले नेपालखबरसँग भने, ‘चुनावमा हारेपछि स्वतन्त्र बस्न मन लागेन। चुनाव लगत्तै रविलाई भेटेर रास्वपा ज्वाइन्ड गरेको हुँ। त्यसअघि एमाले थिएँ। एमाले प्रवेश गर्नुअघि कांग्रेस थिएँ।’

कतिपयले रास्वपाका नेतासमेत रहेका महतोले रास्वपा अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेको उक्साहटमा सिरोहियाविरुद्ध जाहेरी दिएकाे आरोप लगाउँदै आएका छन्। तर, उनी भने आफूले स्वतन्त्र नागरिकको हैसियतमा सिरोहियाविरुद्ध जाहेरी  दिएकाे दाबी गर्छन्।

चिकित्सा पेसा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका महतोले सर्लाहीको हरिवनमा ‘हरिवन पोलिक्लिनिक’ सञ्चालन गर्दै आएका छन्। त्यो क्लिनिकको प्रमुख डाक्टर उनै हुन्। पहिला उनले सोही ठाउँमा हरिवन अस्पताल सञ्चालन गरेका थिए। तर, हरिवन अस्पताल खारेज भएपछि उनले पोलि क्लिनिक दर्ता गरेर सञ्चालनमा ल्याएका हुन्।

महतोको पुख्याैँली घर भने सर्लाहीकै विष्णु गाउँपालिका हो। जहाँबाट उनी बसाइँ सराइ गरी १२ वर्ष अघि हरिवन आएका हुन्। 

‘अहिले म हरिवनकै स्थायी बासिन्दा हो। हरिवन- ९ मा घर छ,’ उनले भने, ‘दिनभरी क्लिनकमा बस्छु। त्यसबाहेक बाँकी समय म समाज सेवा र राजनीतिमा क्रियाशील छु।’

कांग्रसमा रहँदा उनी हरिवनबाट पार्टीकाे क्षेत्रीय प्रतिनिधि पनि बनेका थिए। नेता बिमलेन्द्र निधिकाे हातबाट टीका लगाएर कांग्रेस बनेकाे एक वर्षमै उनले साे पार्टी छाडेका थिए। कांग्रसमा रहेकै बेला काठमाडौँ आएर एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर उनी एमाले बनेका थिए। 

महताे हरिवनस्थित समृद्धि वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति सदस्य पनि छन्। आफूले गरेको उजुरीकै कारण कैलाश सिरोहिया पक्राउ परेपछि उनी अहिले निकै प्रफुल्ल छन्। 

‘तपाईंले गरेको उजुरीकै आधारमा सिरोहिया अहिले प्रहरी हिरासतमा छन्, यसमा तपाईंको प्रतिक्रिया के छ?’ 

नेपालखबरको प्रश्नमा महतोले भने, ‘कानुनी प्रक्रियाबाट जे निर्णय हुन्छ होस्। उनीसँग किर्ते नागरिकता छ भनेर मैले प्राप्त गरेको डकुमेन्टको आधारमा मैले धनुषा प्रहरीमा उजुरी गरेको थिएँ। धनुषा अदालतमा अहिले सुनुवाइ चलिरहेका छ। अदालतमा वहस भइरहेको विषयमा हामीले धेरै टिकाटिप्णी गर्नु हुँदैन। अदालतले जे निर्णय गरे पनि मलाई स्वकार्य छ।’

महतोले हरिवनमा चिकित्सा सेवा सुरु गर्नुअघि उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एसोसियट प्रोफेसर थिए। ‘१२ वर्षअगाडि हरिवन आउनुअघि मैले लामो समय धरानको घोपा अस्पतालमा पनि काम गरेको हुँ, चिकित्सा पेसामा मेरो अनुभव लामो छ,’ महतोले भने। 

सिरोहियासँग कुनै रिसइबी भएर आफूले उनीवरुद्ध प्रहरीमा उजुरी नगरेको महतोले बताए। ‘उहाँसँग मेरो व्यक्तिगत भेटघाट, सम्पर्क, चिनजान केही छैन। व्यक्तिगत रिसइबी पनि केही छैन। दुईवटा नागरिकता लिएर राष्ट्रघात गरेको मन नपरेपछि मात्रै मैले उहाँविरुद्ध उजुरी गरेको हुँ।’

महतोले आफूलाई राष्ट्रवादी नेता दावी गर्दै आएका छन्। उनले घर, अफिस सबैतिर पृथ्वी नारायण साहको तस्बिर राख्ने गरेका छन्। आफूले बिरामी जाँच्ने क्लिनिकमा पनि उनले पृथ्वी नारायण साहको तस्बिर राखेका छन्। 

केही समयअघि उनले हरिवनका घर–घरमा राजा पृथ्वीनारायण शाहको तस्विर राख्ने अभियानसमेत चलाएका थिए। जतिबेला उनलाई कतिपयले राजावादीसम्मको आरोप लगाएका थिए। उनले त्यतिबेला विवादास्पद नागरिकता विधेयकको पनि विरोध गरेका थिए। 

एकदिन अस्पतालमा बिरामी जाँचिरहेको बेला एक जना अपरिचित व्यक्ति आएर आफूलाई कान्तिपुरका अध्यक्ष सिरोहियासँग दुईवटा नागरिकता रहेको भनेर जानकारी गराएपछि आफूले यो विषयमा निकै लामो अध्ययन गरेर प्रहरीमा उजुरी गरेको दाबी उनले गरे।  

‘उहाँको नागरिकतामा केही खोटहरु छन्,’ उनले भने, ‘यस विषयमा राज्यका निकायले  गम्भीर अनुसन्धान गरुन्,’ महतोले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .