ब्लग


रोमन साम्राज्यको पतनबाट आजको नेपालले सिक्नुपर्ने पाठ

रोमन साम्राज्यको पतनबाट आजको नेपालले सिक्नुपर्ने पाठ

शंकर महतो
चैत ४, २०८२ बुधबार ७:५८, काठमाडौँ

मानव सभ्यताको इतिहास हेर्दा बारम्बार एउटै सत्य देख्न सकिन्छ- कुनै पनि सभ्यता बाहिरी आक्रमणले मात्र ध्वस्त हुँदैन, त्यो भित्रबाट कमजोर भएपछि मात्र बाहिरी शक्तिले सजिलै कब्जा गर्न सक्छ। सभ्यताको पतन बाहिरी शत्रुबाट सुरु हुँदैन, त्यो सुरु हुन्छ नैतिक र संस्थागत क्षयबाट।

इतिहासका धेरै उदाहरणहरूले यही कुरा प्रमाणित गरेका छन्। तीमध्ये सबैभन्दा चर्चित उदाहरण हो रोमन साम्राज्यको पतन। कुनै समय संसारकै शक्तिशाली र विकसित मानिने साम्राज्य सैन्य शक्तिका कारण मात्र महान् थिएन। विधि, प्रशासन, वास्तुकला, राजनीति, शिक्षा, दर्शन र सांस्कृतिक उन्नतिका कारण पनि यो अद्वितीय थियो। सडक, जलप्रणाली, न्याय व्यवस्था, नागरिकता प्रणाली र सहरी सभ्यताजस्ता क्षेत्रमा रोमनहरूले अत्यन्त उच्च स्तरको विकास गरेका थिए। युरोपका धेरै आधुनिक संस्थागत व्यवस्थाहरूको जरा त्यही रोमन सभ्यतामा भेटिन्छ।

समय बित्दै जाँदा रोमन साम्राज्यका शासक र अभिजात वर्ग विलासितामा डुब्न थाले। सत्ता र सम्पत्तिको अत्यधिक केन्द्रीकरण भयो। दासप्रथा व्यापक बन्यो, जसले श्रमको गरिमा घटायो। सामान्य नागरिकको भूमिका क्रमशः कम हुँदै गयो। समाजमा उत्पादनभन्दा उपभोग, जिम्मेवारीभन्दा मनोरञ्जन र अनुशासनभन्दा विलासिता हाबी हुन थाल्यो।

त्यस समय रोमन समाजमा एउटा क्रूर मनोरञ्जन व्यापक भयो– मानिसलाई जनावरहरूसँग लडाएर रमाइलो लिने। यस्तो रक्तपातपूर्ण खेल विशेष गरी विशाल रंगशालामा आयोजना गरिन्थ्यो, जहाँ ग्लाडिएटरहरूलाई मनोरञ्जनको वस्तु बनाइन्थ्यो। जनताले ताली बजाउँथे, शासकहरूले त्यसलाई शक्ति र वैभवको प्रदर्शन मान्थे।

तर यस्तो संस्कृति कुनै पनि सभ्यताको नैतिक आधार कमजोर पार्ने तत्व हो।

जब समाजको मूल मूल्यहरू क्षीण हुन थाल्छन्, तब त्यसको प्रभाव संस्कृति वा नैतिकतामा मात्र होइन, राजनीति, प्रशासन र सामरिक शक्तिमा पनि पर्छ। रोमन समाज क्रमशः शारीरिक र मानसिक रूपमा कमजोर बन्दै गयो। नागरिकहरूमा कर्तव्यबोध कम हुँदै गयो, अनुशासन कमजोर हुँदै गयो र राज्य सञ्चालन गर्ने संस्थाहरूमा भ्रष्टाचार तथा अक्षम्यताले जरा गाड्न थाल्यो।

चौथो शताब्दीको अन्त्यतिर र पाँचौँ शताब्दीको सुरुवातमा युरोपका उत्तरी र मध्य भागमा बस्ने विभिन्न जनजातिहरू क्रमशः रोमन सीमातर्फ सर्न थाले। तीमध्ये एउटा महत्वपूर्ण समूह थियो ट्युटोनिक। जसले रोमन सीमामा बारम्बार आक्रमण गर्न थाले।

यी जनजातिहरू शारीरिक रूपमा बलिया र युद्धकुशल थिए, तर रोमन सभ्यताको जस्तो जटिल प्रशासनिक र सांस्कृतिक संरचना उनीहरूसँग थिएन। तथापि, उनीहरूले शक्तिशाली रोमन साम्राज्यलाई हराए। किनभने रोमनहरू पहिले जस्ता बलिया, संगठित र आत्मविश्वासी रहेनन्।

अन्ततः सन् ४७६ मा पश्चिमी रोमन साम्राज्य पतन भयो। त्यसपछि युरोप लामो समयसम्म अस्थिरता, अज्ञान र संस्थागत पतनको कालखण्डमा प्रवेश गर्‍यो, जसलाई सामान्यतया अन्धकार युग भनेर चिनिन्छ।

यो अन्धकार युग राजनीतिक सत्ता परिवर्तन मात्र थिएन। यसले शिक्षा, कला, विज्ञान, व्यापार र सामाजिक संरचनालाई पनि गम्भीर रूपमा प्रभावित गर्‍यो। रोमन सभ्यताले निर्माण गरेका धेरै संरचनाहरू भत्किए। पुस्तकालयहरू नष्ट भए, ज्ञानको परम्परा कमजोर भयो र धेरै क्षेत्रमा सामाजिक जीवन विखण्डित भयो।

युरोपलाई पुनः बौद्धिक र सांस्कृतिक पुनर्जागरणको बाटोमा फर्कन करिब पाँच सय वर्षभन्दा बढी समय लाग्यो।

इतिहासको यो अध्याय युरोपको कथा मात्र होइन; यो मानव समाजका लागि एउटा सार्वकालिक चेतावनी पनि हो। कुनै पनि सभ्यता बाहिरी आक्रमणले मात्र पतन हुँदैन। त्यो तब मात्र ढल्छ जब भित्रको नैतिकता, संस्थागत मजबुती र नेतृत्वको विश्वसनीयता कमजोर हुन्छ।

आजको नेपालको राजनीतिक परिवेशलाई हेर्दा इतिहासको यही पाठ सम्झनु आवश्यक देखिन्छ।

हालका चुनावी परिणामहरूले नेपाली समाजमा एउटा स्पष्ट सन्देश दिएका छन्। जनतामा निराशा बढिरहेको छ। यो निराशा आर्थिक समस्या वा विकासको गति सुस्त भएको कारणले मात्र छाएको होइन; यो मुख्यतः राजनीतिक संस्कार र व्यवहारबाट जन्मिएको निराशा हो।

वर्षौँदेखि एउटै अनुहार, एउटै शैली, एउटै नारा र उस्तै राजनीतिक व्यवहार दोहोरिँदा जनतामा एक प्रकारको ‘भिजुअल फ्याटिग’ पैदा भएको छ। जब जनता बारम्बार एउटै दृश्य देख्छन् तर परिणाम फरक देख्दैनन्, तब उनीहरूको मनोविज्ञानमा परिवर्तनको चाहना स्वाभाविक रूपमा बढ्छ।

यसै मनोवैज्ञानिक अवस्थालाई सामाजिक सञ्जालको प्रभावले अझ तीव्र बनायो। नयाँ भनिएका शक्तिहरूले ठोस नीतिगत दृष्टिकोण प्रस्तुत गरेर जनसमर्थन पाएका होइनन्, बरु ‘पुरानाले बिगारे, खाए, लुटे’ भन्ने कथालाई व्यापक रूपमा फैलाएर जनमत निर्माण गर्न सफल भए।

अर्थात्, परिवर्तनको मूल कारण नयाँ शक्तिको असाधारण क्षमता मात्र होइन; पुराना शक्तिहरूको विश्वसनीयता कमजोर हुनु हो।

इतिहास हेर्दा जब स्थापित शक्ति कमजोर हुन्छ, तब नयाँ शक्तिले अवसर पाउँछ। तर त्यसले स्वतः राम्रो परिणाम ल्याउँछ भन्ने ग्यारेन्टी हुँदैन। नयाँ शक्तिहरूको चरित्र, दृष्टि र व्यवहारले नै भविष्यको दिशा निर्धारण गर्छ।

नयाँ नेतृत्वले संयम, विचारशीलता, नीति र सभ्य राजनीतिक संस्कारलाई अंगीकार गर्‍यो भने त्यो परिवर्तन समाजका लागि सकारात्मक बन्न सक्छ। तर त्यो परिवर्तन केवल आक्रोश, गाली–गलौज, उत्तेजना र भीडको मनोविज्ञानमा आधारित भयो भने लोकतन्त्रका लागि खतरा पनि बन्न सक्छ।

लोकतन्त्रको मूल शक्ति असहमतिको अधिकार हो, तर असभ्यता होइन। आलोचना आवश्यक हुन्छ, तर व्यक्तिगत अपमान लोकतान्त्रिक संस्कृतिको हिस्सा होइन।

उदाहरणका लागि, नेपालका चर्चित कलाकार, राष्ट्रिय व्यक्तित्वहरू, विषय विज्ञहरूले सन्तुलित अभिव्यक्ति दिँदा त्यसलाई विचारको स्तरमा प्रतिवाद गर्नु लोकतान्त्रिक अभ्यास हो। तर व्यक्तिगत गाली–गलौज गर्नु असभ्यताको चरम रूप हो। यस्तो प्रवृत्तिले लोकतन्त्र बलियो बनाउँदैन; उल्टै समाजलाई विभाजित र अस्थिर बनाउँछ।

राजनीतिमा लोकप्रियता पाउनु सजिलो हुन सक्छ। तर सभ्य, जिम्मेवार र दूरदर्शी नेतृत्व बन्नु निकै कठिन कुरा हो।

त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता राजनीतिक संस्कारको परिवर्तन हो। राजनीति सभ्य, विचारशील र उत्तरदायी बन्न सकेन भने परिवर्तनको ऊर्जा पनि अन्ततः निराशामा परिणत हुन सक्छ।

नेपालको भविष्य एक दल, एक नेता वा एक चुनावले मात्र तय गर्दैन। भविष्य तय गर्ने समाजको सामूहिक चेतना, संस्थाहरूको मजबुती र नेतृत्वको नैतिकताले हो। हामीले इतिहासबाट सिक्नुपर्ने कुरा- सभ्यता तब मात्रै टिक्छ, जब शक्ति र नैतिकता सन्तुलित हुन्छन्।

आज नेपाललाई पनि यही सन्तुलनको आवश्यकता छ।

हामीले इतिहासको चेतावनीलाई बुझ्न सकेनौँ भने सभ्यता कमजोर हुन्छ। तर हामीले त्यसबाट पाठ सिक्यौँ भने यो परिवर्तनले समाजलाई अझ उन्नत र समृद्ध दिशातर्फ लैजान सक्छ।

यसैले आजको सबैभन्दा महत्वपूर्ण प्रश्न सत्ता कसको हातमा छ भन्ने होइन, सत्ता चलाउने संस्कार कस्तो छ भन्ने हो। अन्ततः सभ्य समाज निर्माण गर्ने शक्ति नारा वा उत्तेजनामा होइन; संयम, विवेक र जिम्मेवारीमा हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad