ब्लग


मार्फाको नक्कली याक, सक्कली प्रकृति र संस्कृति

मार्फाको नक्कली याक, सक्कली प्रकृति र संस्कृति

ईश्वर पोखरेल
जेठ ८, २०८३ शुक्रबार १७:१९, काठमाडौँ

१७ वैशाख, २०८३।

पानी परिरहेको छ। हामी मुक्तिनाथ दर्शनलाई लक्ष्य बनाएर कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमा यात्रारत छौँ। यो सडक कवि भूपी शेरचनले ‘हो ची मिह्नलाई चिठ्ठी’ कवितामा उल्लेख गरेको लेते नदी र उनको जन्मस्थान टुकुचे हुँदै जान्छ भन्ने जानकारीपछि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ का सर्जकले टेकेका बाटा/गोरेटा, गल्ली/गल्छेडा कस्ता होलान् भन्ने कुतूहल बोकेर मैले ड्राइभर भाइलाई भनेको थिएँ, ‘भाइ, लेते नदी र टुकुचे आयो भने एकचोटि ‘हजुर, यही हो’ भन्दिनुस् है।’

उनी मोटरका ऐनामा मुसुक्क मुस्कानसहित देखा परे, ‘हुन्छ, सर।’

भूपीप्रतिको श्रद्धाले गर्दा म त्यो नदी, त्यहाँको भूगोल र बसोबासको ढङ्ग–ढाँचा हेर्न चाहन्थेँ।

यी दुवै ठाउँ ड्राइभरले पनि सङ्केत गरे; साइनबोर्डले पनि जनायो।

सडकछेउका बस्तीमा सिमेन्ट/छडको प्रयोग गरी भवन निर्माण गर्नु र सटर निकालेर पसल/होटल गर्नु हामीकहाँ चलेकै चलन हो; टुकुचे बस्तीमा कुनै फरकपन थिएन। हामी पोखरैदेखि यस्तै संरचना नै त देख्दै आएका थियौं।

लेते नदी पनि उही पहाडी क्षेत्रको कतै ढुङ्गाको काप पस्दै, कतै दह बनाउँदै, कतै घुम्दै/अलमलिँदै कलकल बग्ने सामान्य खोला थियो।

लेतेको धमिलो पानी देखेपछि स्मरणमा फेदीखोला आइपुग्यो।

हामी फेदीखोलामा माछा मार्थ्यौँ– बुधुना र गुहिरे माछा। बुधुना ढुङ्गाको काप र कुरमा लुकेर बस्ने माछा। ‘कुरमा माछा छ’ भन्ठानेर सकीनसकी ढुङ्गा पल्टायो; पल्टेको ढुङ्गाले खुट्टाको नङ किचिक्क पार्थ्यो। बुधुना माछाको नाममा कति नङको बली चढाइयो। गुहिरे माछा चाहिँ कुरमा नबस्ने। अर्को थियो– झिंगे माछा। झिंगे माछा चाहिँ जिस्किए जसरी भाग्ने। सिस्ने माछा पनि हुन्थ्यो– जुँगा भएको कालो माछा।

हामी माछा पोलेर खान बानी परेका। गहुँको छुवाली जम्मा पार्थ्यौँ; हुरुरु बाल्थ्यौँ। पाक्थ्यो कि पाक्दैनथ्यो: हामीलाई चल्थ्यो।

एकपटक देबु काकाले कुरमा हात हालेर माछा भन्ठानेर पानी साँप निकालेका थिए। त्यसपछि डरले धेरै दिनसम्म उनी माछा मार्न अग्रसर देखिएनन्।

लेते खोलामा माछा होला कि नहोला! लेते खोलामा भूपी शेरचनले माछा मारे कि मारेनन् होला! माछा मार्ने नाममा उनले खुट्टाका नङ चढाउनु पर्‍यो कि परेन होला!

अघिल्लै दिनदेखि पानी परिरहेकाले चिसो–चिसै थियो। चिसो–चिसै भए पनि म हाफसर्ट र प्यान्टमै रमाइरहेको थिएँ। तर अब थेग्ला जस्तो भएन। लामा दाइले त भने पनि– ‘मुक्तिनाथ आउनु भएको छ; केही न्यानो कपडा त ल्याउनु नै भएको होला।’

मैले झोलाको खोजी गरेँ। झोलामै थियो– ज्याकेट। ज्याकेट भिरियो। अब न्यानो भयो।

केही घुम्ती घुमिसकेपछि, केही उकाली–ओराली गरिसकेपछि र केही दूरी नाघिसकेपछि ड्राइभरले मोटर घ्याच्च रोके र भने– ‘तपाईंहरू अब मार्फा घुम्नुस्। धेरै ढिलो नगर्नु होला। यहाँबाट पसेर पल्लो छेउमा निस्किन्छ। निस्किनै लागेपछि मलाई कल गर्नु होला... म गाडी चार्जमा राख्छु।’

उनको ईभी मोटर।

सिमसिम पानी परिरहेको छ; कता पो घुम्नु हो! मोटरबाट बाहिर निस्केपछि देखियो– मोटरैमोटर पो रहेछन् ए!

यो रहेछ– मार्फा गाउँ।

मार्फा कुनै ब्रान्डीको नाम होला भन्ने पो थियो। यो नाम कुनै उपन्यासकारले आफ्नो पात्रको नाम बनाएझैँ लाग्छ पनि लाग्छ; यहाँ मार्फा गाउँको नाम रहेछ।

हामी ड्राइभरले सङ्केत गरेकै गेटबाट बस्तीमा प्रवेश गर्छौं। हामीसँगै डफ्फाका डफ्फा मानिसहरू प्रवेश गर्दैछन्।

गल्ली साँघुरो छ। मोटर आउँदैन।

बस्तीमा प्रवेश गरेपछि देखिन्छ– घर निर्माणको मौलिक शैली। कुनै पनि घरमा घुरीवाला छाना छैनन्; चौडा छत छन्। छत पहाडको टाँडेघरमा जस्तो काठ बिछ्याएर त्यसमाथि गिलो माटो राखेर निर्माण गरिएका छन्; फलामे छड र सिमेन्टले निर्माण गरिएका जस्ता देखिने छत छैनन्।

अनि छतमा राखिएका छन् दाउराको चाङ।

सहर र बजार हुँदै गाउँ–गाउँमा पुगिसकेको घर, मन्दिर, स्कुल, पुल जस्ता यावत् संरचना निर्माणको बहुप्रचलित इँटा, छड, सिमेन्टवाला पद्धतिलाई मार्फाले किन पछ्याएन? मार्फा किन आफ्नो घर निर्माणको परम्परागत मौलिक ढाँचामै रहन रमायो?

भवन निर्माणको यस्तो शैलीसँग हाम्रो प्रत्यक्षतः साक्षात्कार भएको थिएन।

उसै त साँघुरो गल्ली। त्यसको एकछेउमा ढसमस्स उभिएको छ – एउटा याक। शरीरभरि लामालामा भुत्ला छन्; टाउकामा लामालामा सिङ छन्। हलचल छैन। रिसका आँखाले एकटक हामीतिरै हेरेको छ।

डर लाग्यो। हान्ने पो हो कि भन्ने पनि भयो।

विपरीत दिशाबाट आउँदै गरेको मान्छेलाई याकतर्फ सङ्केत गरेर मैले सोधेँ– ‘हान्दैन?’

उनले मुसुक्क हाँसेर भने– ‘म पनि अघि झुक्किएको थिएँ... स्ट्याचु रहेछ।’

बस्तीको अलिक भित्र पुगेपछि थाहा भयो– स्थानीय भेषभूषा पाइने रहेछ भाडामा।
फोटो खिच्ने कि ती पोसाक लगाएर मच्किँदै नाँच्दै हिँड्ने ः प्रयोजनपिच्छे दर फरक–फरक।

हामी अघिअघि आएका एक हुल पुरुष र महिलाहरू शेर्पा र शेर्पिनी भई सकेछन्।

ती स्थानीय भेषभूषामा दङ्ग देखिन्थे।

दायाँ–बायाँबाट आएका ससाना गल्लीहरू यही मूल गल्लीमा समाहित हुँदा रहेछन्; ससाना नदीहरू ठूला नदीमा मिसिए जस्तै। कुनै गल्ली अनेक घुम्ती हुँदै उकालो लाग्छन्; कुनै गल्ली अँध्यारो हुँदै जान्छन् र बिताउँछन्। लुकामारी खेलौँ जस्तो। एउटा सानो घुम्तीमा छेलिएर ‘कुँ...कुँ...’ भनौँ जस्तो।

स्थानीय भेषभूषामा दङ्ग परेका पर्यटकहरूलाई शेर्पा समुदायकै ढङ्ग–ढाँचामा हिँड्नु पनि छ; ठाउँ–ठाउँमा उभिएर फोटो खिच्नु पनि छ; भिडिओ बनाउनु पनि छः भ्याइनभ्याई छ। यहीँ मोलतोल छ; यहीँ किनबेच छ; यहीँ हँसी–मजाक छ। यो सिमसिमे पानीलाई यिनीहरूले कति बेवास्ता गर्न सकेका! सडकमा मोटर प्रतीक्षामा छ र भरे बास बस्न अर्कै ठाउँमा पुग्नु छ भन्ने कुरा यिनीहरूको मस्तिष्कमा होला कि नहोला?

यी साँघुरा गल्लीहरूमा रल्लिँदा भूपीकै ‘मेरो चोक’ शीर्षकको कविता स्मरण हुन्छ। यो कविता पढ्दा म पाटनका गल्ली र चोक सम्झिन्थें; अब स्मरणमा मार्फाका गल्ली र चोक आउने भए।

समुद्र सतहबाट २ हजार ६ सय ८० मिटर उचाइमा अवस्थित बस्ती हो– मार्फा; थकाली समुदायको मूल थलो थाक खोलाको मौलिक वास्तुकला देख्न पाइने ठाउँः पर्यटकीय गन्तव्य।

पसलमा स्याउको सुकुटी र जुस बाक्लै देखिन्छन्। यहाँकै स्याउबाट उत्पादित ब्रान्डी र वाइनको नाम पनि मार्फा नै रहेछ।

पानी दर्किए जस्तै भयो। कुनै ओतमा त पुग्नै छ। हामी दौडिए जस्तै गर्छौं। लौ, सडकको मुखमै पो आइपुगिएछ!

ड्राइभरले फोन रिसिभ गरे र भने– ‘हुन्छ, म आइहालेँ।’

हामीलाई मोटरमा भित्र्याएपछि उनको प्रतिक्रिया थियो– ‘धेरै ढिलो गर्नु भएन।’

हामीमध्ये कसैले भन्यो– ‘यो दर्के झरीले धेरै ढिलो गर्नै दिएन।’

हामी सबैले न्यानो अनुभव गर्‍यौँ।

स्याउका ठूला–ठूला बगैँचालाई पूर्व र पश्चिमतर्फ गएको हाम्रो सडक।

लामा दाइले भने, ‘मुस्ताङमा २०२३ साल आसपासमा हुन थालेको हो स्याउ खेती। राजा महेन्द्रले आफ्नो फ्रान्स भ्रमणमा त्यहाँको वाइन फ्याक्ट्रीमा नेपालको पूर्वी पहाडका सुब्बा थर भएका कामदारलाई भेटेछन्। र, भनेछन्– हिँड्नुस्, मुस्ताङमा स्याउ उत्पादनमा तपाईंले सहयोग गर्नु पर्छ।’

तिनै सुब्बा थरका व्यक्तिले मार्फामा स्याउको विरुवा उत्पादन गर्न लागेका रे। २०२३ सालमा सरकारले कृषि विशेषज्ञ बुद्धिरत्न शेरचनलाई स्याउ खेतीका लागि मार्फा पठाएछ।

लामा दाइले फेरि सम्झिए– ‘पछिल्लो समय मुस्ताङका स्याउ किसानहरू इटलीबाट आयात गरिएका हाइब्रिड बिरुवा रोप्छन्। यी बिरुवा महँगा छन्; एउटै बिरुवाको मूल्य एक हजार रूपियाँभन्दा बढी पर्छ।’

मेरो आँखामा नेपाली सिनेमा कबड्डीका कयौँ दृश्य घुमिरहेका थिए। सोधेँ– ‘कबड्डीको सुटिङ यहीँ भएको हो?’

यसपटक ड्राइभर भाइले उछिने– ‘फिल्म सुटिङ गर्न त यहाँ कत्ति आउँछन् कत्ति! विदेशी पनि आउँछन्।’

मर्निङ वाकमा साथीहरूले रस र स्वादको भरमार तारिफ गरेपछि हामीले काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा मुस्ताङको स्याउको बारेमा चासो राख्यौँ यसपटक। हामी फुजी स्याउमा रत्तिएका थियौँ। अब मुस्ताङको स्याउको खोजी प्रारम्भ भयो। व्यापारीले मुस्ताङको स्याउ भनेर जुन स्याउ देखाए; हेर्दा फुजी जस्तो टल्किएको थिएन। दाम चाहिँ यसको फुजीभन्दा दुई–तीन सय महँगो।

हामीले साथीहरूको कथन सम्झियौँ र निचोड निकाल्यौँ – ‘यो उसै महँगो भएको छैन।’

त्यसयता हामी मुस्ताङकै स्याउको खोजी गर्न थाल्यौँ।

काठमाडौँको बजारमा मुस्ताङकै स्याउ छैन; मार्फाका पसलमा भने यो सिजनमा पनि देखिँदो रहेछ।

झोलामा ज्याकेट थियो; निकालेँ, लगाएँ र न्यानो भएँ। मार्फामा मौलिकता थियो, झन् न्यानो भएँ। अब मुक्तिनाथ पुगेर के माग्ने होला!

माग्नु पर्ला– ‘मार्फाले जस्तै हाम्रा गाउँहरूले आफ्नो छत चिनून्; हाम्रा नदीले आफ्नो कलकल नबिर्सून्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad