ब्लग


समाजसेवी खड्गजीत बराललाई सम्झिँदा

समाजसेवी खड्गजीत बराललाई सम्झिँदा

मोहनबहादुर कायस्थ
जेठ ५, २०८३ मंगलबार १५:१२, काठमाडौँ

आज वि.सं. २०८३ जेठ ५ गते। समयको पदचापसँगै रोटरी क्लब अफ पशुपति, काठमाडौँका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष, स्व खड्गजीत बराल भौतिक रूपमा हामीमाझ नरहनुभएको पनि पाँच वर्ष पूरा भइसकेछ। उहाँको पाँचौँ स्मृति दिवसमा उहाँलाई सम्झँदा उहाँले समाजसेवाको क्षेत्रमा कोर्नुभएको गोरेटो र छाड्नुभएको अमिट छाप आज पनि उत्तिकै जीवन्त र प्रेरणादायी महसुस हुन्छ।

चार्टरकालदेखि रोटरी क्लब अफ पशुपति, काठमाडौँलाई आजको यस गरिमामय उचाइमा पुर्‍याउन खड्गजीत बरालले खेल्नुभएको भूमिका अग्रपंक्तिमा आउँछ। जुन केवल शब्दमा बयान गर्न कठिन छ। २०५५ सालमा नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त गभर्नर गणेशबहादुर थापाको अध्यक्षतामा यो क्लब ‘चार्टर’ हुँदा बराल एक सशक्त खम्बा बनेर उभिनुभएको थियो। त्यसको केही वर्षपछि, २०५८ देखि २०५९ सालसम्म उहाँले क्लबको चौथो अध्यक्षको रूपमा कुशल नेतृत्व प्रदान गर्नुभयो।

उहाँले आफ्नो कार्यकाल पूरा गरेलगत्तै सोही संस्थाको पाँचौँ अध्यक्षको रूपमा नेतृत्व सम्हाल्ने सुवर्ण अवसर मैले प्राप्त गरेँ। म अध्यक्षको कुर्सीमा रहँदा उहाँबाट प्राप्त अमूल्य सल्लाह, सुझाव र व्यावहारिक मार्गनिर्देशनहरू नै मेरा लागि पाइला चाल्ने दरिलो आधार बनेका थिए, जसलाई मैले अक्षरशः कार्यान्वयन गर्ने प्रयास गरिरहेँ।

बरालको त्यो तेजयुक्त अनुहार र निस्वार्थ सेवाभावले ओतप्रोत विचारहरू आजपर्यन्त मेरो स्मृतिपटलमा ताजै छन्। २०५८ सालतिर उहाँ करिब ७३ वर्षको उत्तरार्धमा हुनुहुन्थ्यो, तर उहाँमा रहेको ऊर्जा, सक्रियता र समाजप्रतिको लगाव कुनै नवयुवकको भन्दा कम थिएन।

बराल यस्तो सिर्जनशील व्यक्तित्व हुनुहुन्थ्यो, जसको मन र मस्तिष्क सदैव सकारात्मक ऊर्जाले भरिएको हुन्थ्यो। उहाँको जीवनको मूलमन्त्र नै सेवा र समर्पण थियो। स्वभावले उहाँ निकै मितभाषी हुनुहुन्थ्यो– चाहिने कुरा मात्र बोल्ने र नचाहिँदो गफमा समय खेर नफाल्ने। कसैलाई खुसी पार्नकै लागि ‘चिप्लो’ र बनावटी कुरा गर्नु उहाँको आदर्शविपरीत थियो। उहाँको हृदयमा सबैको भलाइ गर्ने निस्वार्थ चाहना हुन्थ्यो र अरूलाई कसरी सेवासुविधा दिलाउन सकिन्छ भनेर उहाँ सधैँ चिन्तनशील रहनुहुन्थ्यो। मैले उहाँलाई कहिल्यै निराश, झुकेको वा अँध्यारो अनुहार लगाएर बसेको देखिनँ, किनकि उहाँको अन्तस्करण सधैँ सत्कर्मको उज्यालोले दिप्त हुन्थ्यो।

रोटरीका बैठकहरूमा उहाँ सधैँ हँसिलो मुद्रामा प्रस्तुत हुँदै ‘हामीले यस्तो गर्दा पो राम्रो होला कि’ भनी अत्यन्तै मिठासपूर्ण तरिकाले आफ्ना प्रस्तावहरू राख्नुहुन्थ्यो। ‘गरिब र विपन्नलाई आर्थिक रूपमा कमजोर भनेर हेलाको दृष्टिले होइन, उनीहरूको आत्मसम्मानमा चोट नपुग्ने गरी विशुद्ध सहयोगको भावनाले हेर्नुपर्छ’ भन्ने उहाँको भनाइले हामी सबैलाई गहिरो शिक्षा दिन्थ्यो।

रोटरी क्लब अफ पशुपति, काठमाडौँका साप्ताहिक बैठकहरूमा बरालको आत्मीय उपस्थिति सधैँ महसुस हुन्थ्यो। बैठकमा आउनेबित्तिकै ‘मोहनजी खै’ भन्दै उहाँले मलाई खोज्ने त्यो स्नेहपूर्ण व्यवहारले मलाई सधैं भावुक बनाउँछ। उहाँ एक सरल जीवनशैली र उच्च सोच भएको व्यक्ति हुनुहुन्थ्यो। यो सरलता नेपालभरका सम्पूर्ण रोटरी क्लब र त्यसका सदस्यहरूका लागि एक उदाहरणीय तथा अनुकरणीय दृष्टान्त थियो।

रोटरी क्लबमा चुनिने अध्यक्ष विगतमा जतिसुकै उच्च ओहोदाको व्यक्ति भए पनि उहाँले सबैलाई समान आदर र व्यवहार गर्नुहुन्थ्यो। विगतमा नेपाल सरकारको अति उच्च र शक्तिशाली ओहदामा बसेर काम गरिसकेको व्यक्ति भए तापनि उहाँमा सत्ताको उन्माद अर्थात् ‘ह्याङ्गओभर’ रत्तिभर पनि थिएन। उहाँ सधैँ धरातलीय यथार्थलाई आत्मसात् गर्ने व्यक्ति हुनुहुन्थ्यो।

कुनै समय यस्तो पनि थियो, जब नेपालको रोटरी डिस्ट्रिक्ट ३२९२ भारतको कलकत्तास्थित रोटरी डिस्ट्रिक्ट ३२९० सँग गाभिएको थियो। त्यो समयमा बरालको बंगाली समुदायका रोटरी क्लबका अध्यक्षहरूसँग प्रगाढ र सहृदयी मित्रता थियो। उहाँको डोमिनेटिङ व्यक्तित्व, आत्मविश्वास र उच्च आदर्शयुक्त शब्दावलीहरूले विदेशका प्रतिष्ठित रोटरी संस्थाका उच्चपदस्थ पदाधिकारीहरूलाई समेत मन्त्रमुग्ध पार्थ्यो। उहाँको बौद्धिक उचाइ र गाम्भीर्य यति सशक्त थियो कि, वास्तवमा भन्ने हो भने बंगाली समुदायका रोटेरियनहरू उहाँको अगाडि उभिएर बोल्न पनि हिच्किचाउँथे र उहाँलाई अदबका साथ हेर्थे।

बराल रोटरी क्लब अफ पशुपति, काठमाडौँको नेतृत्वमा रहँदा उहाँको पहलमा भएका मुख्य कार्यहरूमध्ये एक हो– क्यान्सर रोगको उपचारमा सहयोग। २०५९ सालतिर उहाँकै अथक पहलमा अन्तर्राष्ट्रिय रोटरी संस्थाबाट ‘म्याचिङ ग्रान्ट’ मार्फत आर्थिक सहयोग जुटाउने प्रक्रिया अघि बढाइयो। यसैको परिणामस्वरूप उहाँको अध्यक्षकालमा भक्तपुर क्यान्सर अस्पतालका लागि करिब १५ देखि २० लाख रुपैयाँ बराबरको अत्याधुनिक क्यान्सर निदान उपकरण खरिद गर्ने कार्यको थालनी भयो। मेरो अध्यक्षकालमा त्यसै प्रक्रियालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय रोटरी संस्थाबाट अन्तिम स्वीकृति प्राप्त भयो र सो कार्यले पूर्णता पायो। यस महत्त्वपूर्ण उपलब्धिमा स्व. बरालको दूरदृष्टि र अतुलनीय भूमिकालाई कहिल्यै बिर्सन सकिँदैन।

बराल रोटरी क्लब अफ पशुपति, काठमाडौँमा आबद्ध भइसक्नुभएपछि समाजका अत्यन्तै सीमान्तकृत र शारीरिक रूपमा समस्या भोगेका व्यक्तिहरूले नयाँ जीवन पाए। जन्मजात ओठ फाटेका, मुखको आकृति नमिलेका वा दाँत र जिब्रोको समस्या भएका बिरामीहरूलाई लक्षित गरी रोटरी क्लब अफ पशुपति, काठमाडौँले आर्थिक सहयोग प्रदान गर्ने जुन पवित्र अभियान थाल्यो, त्यसको महत्त्वपूर्ण श्रेय उहाँलाई पनि जान्छ।

त्यति मात्र होइन, जाडोयाममा गरिब तथा दीनदुःखीहरूका लागि बरालले देखाउनुभएको करुणा अर्को एउटा अनुकरणीय कार्य थियो। उहाँको अध्यक्षकालमा रोटेरियनहरूले प्रयोग गरिसकेका पुराना तर राम्रा लुगाहरू संकलन गर्ने, तिनलाई सफासँग धुने र चिसोबाट कठ्याङ्ग्रिएका विपन्न वर्गलाई स–सम्मान वितरण गर्ने अभियान सुरु गरियो। यो यति प्रभावकारी कार्य थियो कि, उहाँपछिका अध्यक्षहरूले पनि यसलाई आफ्नो कार्यकालमा गर्वका साथ निरन्तरता दिनुभयो।

यसका साथै, चिसो मौसममा पशुपतिनाथ क्षेत्रमा बस्ने वृद्धवृद्धा र गरिबहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बरालकै विशेष पहलमा रोटरी क्लब अफ पशुपति, काठमाडौँको तर्फबाट सौर्य ऊर्जाबाट सञ्चालन हुने उपकरणको प्रणाली जडान गरियो। यसबाट असहायहरूका लागि तातो पानीले नुहाउने र सरसफाइ गर्ने उचित व्यवस्था हुन सक्यो।

समग्रमा भन्नुपर्दा, स्व खड्गजीत बराल सेवा, निष्ठा र परोपकारको जीवित संस्था हुनुहुन्थ्यो। उहाँको भौतिक शरीर आज हामीमाझ नभए पनि उहाँले देखाउनुभएको बाटो र उहाँका सत्कर्महरूले हामीलाई सधैं मार्गदर्शन गरिरहनेछन्।

(लेखक मोहनबहादुर कायस्थ रोटरी क्लब अफ पशुपति, काठमाडौँका संस्थापक सदस्य तथा सो संस्थाका पाँचौँ अध्यक्ष थिए। उनी सेवानिवृत्त इन्जिनियर हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad