ad ad

बागमती


अब सवारी अनुमतिपत्र ३ दिनमै!

अब सवारी अनुमतिपत्र ३ दिनमै!

नेपालखबर
साउन २२, २०७९ आइतबार १९:४, काठमाडौँ

तपाईंलाई छिटो सवारीसाधनको अनुमति पत्र चाहिएको छ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय (हेटौँडा) ले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमतिपत्र  चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो। अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ। 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय (हेटौँडा) ले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इन्जिनियर उमेश रुपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन। 
‘सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ’, उनी भन्छन्। 

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङ, हेटौँडा, जगातिलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल बताउँछन। ​

मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताउँछन्। 
‘उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ’, उनी भन्छन्। 

सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उनको भनाइ छ। मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .