काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मोटरसाइकल पार्किङका विषयमा नगर प्रहरीसँग विवादपछि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवारलाई काठमाडौँ महानगरपालिकाले मानवीय सहयोग र रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार विज्ञप्ति जारी गरी गणेशको सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा पनि विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने जानकारी दिएका छन्।
साथै विज्ञप्तिमा उनले घटना छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको समितिलाई सत्यतथ्य अनुसन्धानका लागि काठमाडौँ महानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्नेछ। महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार छ। यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न हामी सबैमा हार्दिक अपिल गर्दछौँ।’
नेपालीले आत्मदाहको प्रयास गरेको र उपचारका क्रममा भएको निधनप्रति काठमाडौँ महानगरपालिका स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ। शोकसन्तप्त परिवारप्रति महानगरपालिकाले समवेदना प्रकट गरेको छ।
Shares

प्रतिक्रिया