मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७, हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्रीनजिक कर्रा खोलामा आएको बाढीले सोमबार (आज) बिहान गुडिरहेको ट्रक बगाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान ७:४५ बजे सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रकलाई ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट पार गर्ने क्रममा एक्कासि पानीको बहाब बढेर बगाएको हो।
चालक भने पौडिएर ज्यान जोगाउन सफल भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए।
उनका अनुसार ट्रक खोलाले बगाएपछि चालक चितवनको रत्ननगर नगरपालिका-१३ निवासी ३४ वर्षीय दीपक थिङ भने पौडिएर बाँचेका हुन्। उनको खुट्टामा सामान्य चोट लागेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा खटिएका थिए।
घाइते चालकलाई उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको छ।
प्रहरीका अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन।
बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया