उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याइने बताइन्।
मंगलबार (आज) राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सञ्चालनका लागि उद्योग मर्मत गर्न ३५ लाख रुपैँया बजेट निकासा नै भैसकेको दाबी गरिन्।
मन्त्री कुमारीले अर्थ मन्त्रालयले उद्योगको मर्मतका लागि ३३ लाख बजेट निकासा भई काम भइरहेको पनि बताइन्।
कपडा उद्योगलाई अघि बढाउने काममा विशेष ध्यान दिएको दाबी गर्दै निकासा भएको रकमबाट उद्योगको मर्मत कार्य अघि बढिसकेको र केही महिनाभित्र उद्योग सञ्चालनमा आउने विश्वास गर्न सकिने अवस्था बनेको बताइएकी छिन्।
तर उनले दाबी गरेअनुसार हेटौंडा कपडा उद्योगका संरचना र मेसिनको मर्मत कार्य सुरु भएको छैन। उद्योग मन्त्री गौरी कुमारीले हेटौंडा कपडा उद्योगको लागि बजेट निकासा भैसकेको दाबी गरिरहँदा हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालय भने यस विषयमा बेखबर छ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी निमित्त प्रमुख संगिता कुवँरका अनुसार हालसम्म कुनै बजेट प्राप्त भएको आधिकारिक रिर्पोट आएको छैन।
‘केही दिन अघि मन्त्री ज्यु निरिक्षणका लागि आउनुभएको थियो। त्यसपछि उद्योग परिसरको सरसफाई भैरहेको छ, उनले भनिन्, ‘भित्र भएका मेसिन र अन्य सामाग्रीहरुलाई केही गरिएको छैन। ढोका खोलिएकै छैन। बाहिरी परिसरमा क्रमिक रुपमा सरसफाई भैरहेको हो। बजेट आएको र मेसिनहरु मर्मत सुरु भएको भने छैन।’
सरकारले तयारी गरिरहेका कुरा सबै आफूसम्म आइनपुगेका कारण पनि जानकारी कम भएको हुनसक्ने उनी बताउँछिन्। ‘बजेटका कुरा त झन् मैले जानकारी पाएकै छैन, उनले थपिन्, ‘सम्बन्धीत निकायमा पठाइसकेको भएर मन्त्री ज्युले बोल्नुभएको पनि हुनसक्छ। बजेट निकासा भएको अफिसियल रिर्पोट प्राप्त भएको छैन।’
२०३२ सालबाट हेटौंडा कपडा उद्योगको इतिहास सुरु भएको थियो। चीन सरकारको सहयोगमा वि.सं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन सुरु गरेको हो।
सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा संचालन हुँदा दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता रहेको छ।
नेपाल र चिन सरकारको संयुक्त लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योगले कपडाको आयात घटाउने तथा कपास खेती विकास गर्न उद्देश्यका साथ कपडा उत्पादन सुरु गरेको थियो। तत्कालिन अवस्थामा उद्योगको लगानी स्थिर पूँजी ८ करोड ४३ लाख र चालु पुँजी ९ करोड १८ लाख रहेको थियो।
यो उद्योग वि.सं. २०५७ साल फागुन १ गतेबाट बन्द भएको थियो। कपडा उद्योगको हालको संरचना १६५ रोपनी क्षेत्रफल रहेको छ। हाल हेटौंडा कपडा उद्योग औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ भने उद्योग परिसरमा सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ।
Shares

प्रतिक्रिया