अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई निलम्बन गर्न संसदमा नै आवाज उठेको छ। शुक्रबार संसद बैठकमा बोल्दै समाजवादी पार्टीका सांसद प्रदीप यादवले मेधेसीका विषयमा गलत अभिव्यक्ति दिएको भन्दै एन्फा अध्यक्ष शेर्पालाई निलम्बन गरि छानबिनमा ल्याउन सभामुख मार्फत युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मालाई आग्रह गरेका छन्।
केही समयअघि एक अनलाइनलाई अन्तर्वाता दिने क्रममा अध्यक्ष शेर्पाले मधेशीबारे दिएको अभिव्यक्तिले विवादमा तानिएका थिए।
सांसद यादवले एन्फा अध्यक्ष शेर्पाले नेपाली सेनालाई पनि विवादमा मुछेको आरोप लगाएका छन्।
सांसद यादवले भने, ‘एन्फा अध्यक्ष शेर्पाले अनलाइनलाई अन्तवार्ता दिने क्रममा मधेसीलाई राष्ट्रियता आउँदैन राष्ट्रियता सिकाउनुपर्छ भनन्नुभएको छ। त्यो पनि कसको मार्फत, सेनाको मार्फत। सेनालाई पनि मुछ्नुभएको छ। मधेसीलाई राष्ट्रियता उहाँले सिकाउने हो? मधेसीलाई राष्ट्रियता आउँदैन? त्यस्तो ठुलो पोष्ट र मर्यादित पदमा बसेको मान्छेले मधेसीलाई हेप्ने र होच्याउने काम भएको छ।’
उनले खेलकुदमन्त्रीकै ताकतमा यति भन्न सकेको आरोप पनि लगाए।
उनले थपे, ‘हामी सेनालाई दिलमा राख्छौं मुटुमा राख्छौं। कहिल्यै पनि राजनितिक विवादमा नआएको सेनालाई विवादमा मुछेको भन्दै सांसद यावदले एन्फा अध्यक्ष शेर्पाले देश टुक्राउने सम्म अभिव्यक्ति दिएको आरोप समेत लगाएका थिए। १७ सय किलोमिटरको बोर्डरको रक्षा हामीले बिना बर्दी गर्छौ, हामीले बिना तलब सिमाको रक्षा गर्छौ। त्यस्ता मधेसीलाई गलत अभिव्यक्ती दिने।’
ग्रासरुट कार्यक्रमका लागि नेपाली सेनासँगको सहकार्यमा तराई सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा एन्फा अध्यक्ष शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए।
शेर्पाको विवादास्पद अभिव्यक्तिको छानबिन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी गरेका थिए।
सोही विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न संसदमा माग गरेका थिए। एन्फा अन्तर्गत नै रहेका काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला संघका का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न माग गरेका थिए।
यता एन्फा अध्यक्ष शेर्पाले बुधबार एक विज्ञप्ति जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवं त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति क्षमा याचना गरेका छन्।
यो पनि :
मधेशीबारे विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्षविरुद्ध फिफामा पर्यो दुई उजुरी
मधेशीबारे विवादास्पद अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पामाथि कारबाही गर्न माग
एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न चार जिल्लाको माग, प्रधानमन्त्रीलाई पत्र पठाइयो
मधेशीबारे विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष शेर्पाले माफी मागे

प्रतिक्रिया