समाज


नेपालमा सलहको जोखिम कम भएको प्राविधिक टोलीको निष्कर्ष

नेपालमा सलहको जोखिम कम भएको प्राविधिक टोलीको निष्कर्ष

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ९:४४,

सलहको सम्भावित प्रकोपबारे अध्ययन गर्न कृषि मन्त्रालयले गठन गरेको प्राविधिक टोलीले नेपालमा सलह आउने जोखिम कम भएको निष्कर्ष निकालेको छ।

यो वर्ष पूर्वी अफ्रिकाबाट सुरु भएर मध्यपूर्व, पाकिस्तान हुँदै भारत प्रवेश गरेको थियो। तर, सलहको विशाल समूह ससाना समूहमा विभाजन भएको र हावाको बहावले दिशा परिवर्तन गरेको हुनाले नेपालमा जोखिम न्यून भएको सो टोलीको निष्कर्ष छ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख तथा प्राविधिक टोलीका संयोजक वासुवेद हुमागाईंले अहिले सलह भारत प्रवेश गर्दा जतिको विशाल समूहमा नरहेको बताए।

‘हामी निरन्तर अवस्थाको अनुगमन गरिरहका छौं। भारतमा प्रवेश गर्दाको समयमा जत्रो समूह थियो, अहिले त्यो छैन।सानो सानो समूहमा विभाजित भएको छ’ हुमागाईंले भने, ‘सुरुमा त्यो साढे दुई किलोमिटर चौडा र तीन किलोमिटर लम्बाइको थियो। अहिले छैन।’

मनसुनका कारण पनि नेपालमा जोखिम घटेको उनको भनाइ छ।

‘मनसुनको कारण पनि यसका जोखिम घटेको छ,’ उनले भने, ‘मनसुनको चार महिनामा हावाको बहाव पूर्वबाट पश्चिमतर्फ चल्ने गर्छ। सलहका लागि यो विपरीत बहाव हो।’

हुमागाईंले इटलीको रोममा रहेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले पनि पछिल्लो अवस्थामा नेपाल र बंगलादेशमा सलहको जोखिम कम भएको जानकारी गराएको बताए।

एफएओका सलह विज्ञ डा. किथ क्रिसम्यानका अनुसार उक्त सलहको समूह उत्तरबाट दक्षिणतर्फ जाने क्रममा विखण्डित भई सानासाना समूहमा भारतका अन्य भागतर्फ मोडिएकोले हाल नेपाल भित्रिने सम्भावना न्यून भएको जानकारी गराएका हुन्।

‘अहिले जोखिम कम भएको भने पनि आइहाले कसरी त्यसको सामना गर्न भनेर तयारी पनि गर्नुपर्छ,’ हुमागाईंले भने, ‘अहिले नआए पनि अर्को समयमा आउने सम्भावना पनि रहन्छ। इतिहासमा पटक पटक आएको देखिन्छ।’

पछिल्लो पटक २०१९ सालमा काठमाडौँ उपत्यका र त्यसको आसपासको क्षेत्रमा सलह आएको र त्यसले बालीनाली नष्ट गरेको थियो। त्यस समयमा नेपाल आएको सलहको नमूना अहिले पनि संग्राहालयमा छ।

पछिल्लो समय पाकिस्तानबाट राजस्थान हुँदै भारत प्रवेश गरेको सलह नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको आगरा नजिकै आएको थियो। त्यस लगत्तै कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सुदूरपश्चिम प्रदेश र प्रदेश ५ बाट सलह नेपाल प्रवेश गर्न सक्ने भन्दै देशभर सतर्क रहन आग्रह गरेको थियो।

सलह फट्याङ्ग्राको एउटा प्रजाति हो। झण्डै चौर औँला जत्रो लामो हुने फट्याङग्रा करोडौँको समूहमा बालीनाली नष्ट गर्दै हिँड्ने गर्छ। एक वर्ग किलोमिटर क्षेत्र ढाक्ने समूहमा चार करोड सलह हुने गर्छ। जसले एकै दिनमा ३५ हजार मानिसलाई पुग्ने खाना खान्छ।

सलह सफा र सुख्खा मौसमी अवस्थामा एक स्थानबाट अर्को स्थानमा जान रुचाउने भएकोले पनि मनसुन सुरु भएपछि नेपाल आउने सम्भावना कम हुने हुमागाईंले बताए।

‘सफा र सुख्खा मौसममा एकबाट अर्को स्थानमा जान रुचाउँछ,’ उनले भने, ‘नेपालको जुन प्रकारका भौगोलिक अवस्था र मौसम छ, त्यो सलहका लागि अनुकूल होइन। तर, समय समयमा नेपाल आउने गरेकाले सचेत हुन भने आवश्यक छ।’

सलहको वंशवृद्धिका लागि मरुभूमि अनुकूल मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad