ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जीवजन्तुलाई बर्ड फ्लुको जस्तो लक्षण देखिएपछि असार २ गते परीक्षणका लागि पशु सेवा विभागमा नमुना पठाइयो। परीक्षण गर्दा असार ३ गते (बुधबार) बर्ड फ्लु देखियो। विभागले बुधबार नै त्यसको जानकारी दिँदै आवश्यक समन्वयका लागि टोली चिडियाखाना पठायो।
तर, बर्ड फ्लु पुष्टि भएको तीन दिनपछि मात्र असार ५ गते (शुक्रबार) देखि अनिश्चित समयका लागि चिडियाखाना बन्द भएको सूचना जारी भयो। चिडियाखानाले जीवजन्तुमा बर्ड फ्लु देखिएकाले बन्द गरिएको जनाएको थियो।
तीन दिनसम्म बर्ड फ्लु देखिएको सूचना लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्। बर्ड फ्लु संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा प्रमुख साह छानबिनमा परेका हुन्।
कोषको अध्यक्ष समेत रहेकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा साहमाथि छानबिन थालिएको हो।
कोषले चिडियाखानामा बर्ड फ्लु फैलनुको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ। समिति सदस्यमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन्। समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
तीन महिनादेखि नियन्त्रणमा आउन सकेन बर्ड फ्लु
गत चैत्र ६ गते कोसी प्रदेशको मोरङ सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा पुष्टि भएको बर्ड फ्लु तीन महिनादेखि नियन्त्रणमा आउन सकेको छैन।
विभागका अनुसार कोसी प्रदेशका सुनसरी, मोरङ र झापा, बागमती प्रदेशका काठमाडौँ, भक्तपुर र ललितपुरसहित चितवन र काभ्रेमा, मधेसका बारा र महोत्तरीमा तथा लुम्बिनीको नवलपरासी पश्चिममा बर्ड फ्लु फैलिइसकेको छ।
विभागका महानिर्देशक डा उमेश दाहालले तीन महिनादेखि फैलिएका कारण अवस्था चिन्ताजनक रहेको बताए।
‘पहिलो पटक यति लामो समयदेखि बर्ड फ्लु फैलिरहेको छ। अहिले काठमाडौँ उपत्यका ‘हट स्पट’ बनेको छ। ढुक्क हुने अवस्था छैन। बर्ड फ्लु पुष्टि भएका जिल्लामा नियन्त्रण गर्न लागेका छौँ,’ उनले भने।
उनले नियन्त्रणका लागि ५ लाखभन्दा बढी कुखुरा, १० लाख ५० हजार अण्डा र २ लाख ५० हजार किलो कुखुराको दाना नष्ट गरिएको बताए।
‘क्षति कम होस् भनेर काम गरिरहेका छौँ। उच्चतम सचेतना अपनाउनुपर्छ। त्यसकारण टोली परिचालन गरी कुखुरासँगै अण्डा, दाना नष्ट गरिरहेका छौँ,’ उनले भने।
महानिर्देशक दाहालले काठमाडौँ ‘हटस्पट’ बनेकाले अवस्था चिन्ताजनक रहेको बताए।
‘काठमाडौँका तीन वटा जिल्लामा नै देखिएको छ। कुखुरा त हामी नष्ट गर्न सक्छौँ, तर पन्छीमा नष्ट गरेर नियन्त्रण गर्नु चुनौतीपूर्ण बनेको छ,’ उनले थपे, ‘पहिलो पटक लामो समयदेखि नियन्त्रणमा आउन नसकेका कारण अवस्था चिन्ताजनक छ।’
उनी कुखुरा, चरामा बर्ड फ्लुको जस्तो लक्षण देखिए विभागमा खबर गर्न आग्रह गर्छन्।
कसरी फैलिन्छ बर्ड फ्लु?
विश्व पशु स्वास्थ्य संगठन (ओआईई) का अनुसार ‘नोटिफायबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब–टाइप’ बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लु भनिन्छ। बर्ड फ्लु चराचुरुङ्गीहरूमा लाग्ने संक्रामक श्वासप्रश्वाससम्बन्धी रोग हो।
इन्फ्लुएन्जा भाइरसका तीन समूहहरूमध्ये समूह ‘ए’ मा पर्ने भाइरसको सङ्क्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लु भन्ने गरिन्छ। इन्फ्लुएन्जा ‘एचफाइभ एनवान’ भाइरस चराहरूमा फैलिने गरेको छ।
सन् १८७६ मा पहिलो पटक पहिचान भएको बर्ड फ्लु सन् १९९७ मा मानिसमा देखिएको थियो।
बर्ड फ्लु फैलाउने इन्फ्लुएन्जा भाइरसले सुँगुरलाई पनि सङ्क्रमण गर्ने गर्छ। तर यसले विशेष गरेर चराहरूलाई नै बढी प्रभावित गर्ने गरेको छ। खासगरी जंगली चराहरू, अझ त्यसमा पनि सीमसारतिर बस्ने चराहरू यस भाइरसका सबै समूहका मुख्य स्रोत मानिन्छन्। यो भाइरस सबै प्रजातिका चराहरूमा सर्ने गरेको चिकित्सकहरू बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन ‘एचफाइभ एनवान’ भाइरसले श्वासप्रश्वासमा बढी असर गर्ने बताउँछन्। उनले जनावर र मानिसमा समेत देखिनु चिन्ताको विषय भएको बताए।
‘श्वासप्रश्वासमा असर गर्ने यो भाइरस चराहरूमा देखिन्छ। जंगली पन्छीहरूमा देखिएका बर्ड फ्लु जनावर र मानिसमा समेत सर्नु चिन्ताको विषय बनेको छ,’ उनले थपे, ‘खोप र विशेष उपचार समेत नभएकाले बर्ड फ्लु संसारभरि चुनौती बढाएको छ।’
उनले चराको बिस्टा र र्याल, मासु, प्वाँख, सिँगान, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्न सक्ने जनाए।
उपचार र खोप छैन
बर्ड फ्लुको हालसम्म कुनै प्रभावकारी खोप र उपचार नभएको विभागले जनाएको छ। डा दाहालले सङ्क्रमण देखिएका कुखुरा नष्ट गर्नु नै एक मात्र उपाय रहेको बताए।
‘यसको उपचार र प्रभावकारी खोप छैन, त्यसैले सङ्क्रमण देखिनासाथ नष्ट गरेर भाइरस फैलन नदिनु नै प्रमुख उपाय हो,’ डा दाहालले भने, ‘नियन्त्रण गर्नु नै रोकथामको उपाय भएकाले बर्ड फ्लु देखिएको पुष्टि भएपछि तत्काल टोली परिचालन गरिरहेका छौँ।’
जंगली चराहरूबाट कुखुरामा सर्ने कारण बर्ड फ्लु देखिएका जिल्लामा कुखुरा नष्ट गर्ने गरिएको बताए। उनले विशेषगरी अण्डाका क्रेटहरूको पुनः प्रयोग र फार्ममा सरसफाइ कमीले गर्दा सङ्क्रमण फैलिएको पाइएकाले किसानलाई जैविक सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न सचेत गराइएको बताए।
सरुवा रोग विशेषज्ञ डा पुन पनि खोप नभएका कारण बर्ड फ्लु फैलिन नदिनु नै प्रमुख उपाय भएको बताउँछन्।
‘बर्ड फ्लु नियन्त्रण गर्न खोप छैन, जसका कारण जहाँ देखिएको छ, त्यही नै नियन्त्रण गर्नुपर्छ, अर्को उपाय नै छैन,’ उनले भने।
सरुवा रोग विशेषज्ञ डा पुनले मानिसमा सङ्क्रमण देखिए मृत्यु हुने सम्भावना ५० प्रतिशत रहने अध्ययनहरूले देखाएको बताए। नेपालमा सन् २००९ मा झापा जिल्लामा पहिलो पटक बर्ड फ्लु देखिएको थियो। त्यसयता प्रत्येक वर्षजस्तो ‘आउट ब्रेक’ हुँदै आएको छ।
२०७० सालमा भक्तपुर जिल्लालाई जोखिम जिल्ला घोषणा गरिएको थियो। नेपालमा सन् २०१९ मा एक युवकको बर्ड फ्लुका कारण मृत्यु भएको पुष्टि भएको थियो। त्यसयता मानिसमा नदेखिएको विभागले जनाएको छ।
Shares

प्रतिक्रिया