सुसन भारीको घातक बलिङमा विभागीय त्रिभुवन आर्मी क्लव मनमोहन कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुनसरीमा सोमबार भएको खेलमा एमएमसीसी इनरुवालाई १० विकेटले पाखा लगाउँदै आर्मीले समूह ‘ए’को विजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो।
इनरुवाले दिएको ५७ रनको झिनो लक्ष्य आर्मीले ५ ओभरमा विना विकेटको क्षति भेट्टायो। आर्मीका कुशल मल्ल ३५ र हरिकृष्ण झा २० रनमा नटआउट रहे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इनरुवा १९ दशमलव ३ ओभरमा मात्र ५६ रन जोड्दा अलआउट भयो। आर्मीको जितमा भारी नायक बने।
खेलको म्यान अफ दि म्याच समेत बनेका भारीले ह्याट्रिकसहित ७ विकेट लिए। सुशानले ७ औं ओभरमा ह्याट्रिक गरेका हुन्। भारीले सातौ ओभरको दोस्रो बलमा इनरुवाका सुशान्त तिमल्सिना, तेस्रोमा अल्फाज मन्सुरी र चौथोमा सरोज वस्नेतलाई पवेलियनको बाटो देखाए।
८ दशमलव ३ बल बलिङ गरेका उनले ३ मेडन राख्दै मात्र १६ रन खर्चेर ७ विकेट झारेका हुन्। हरि चौहानले २ तथा शाहब आलमले १ विकेट लिए।
इनरुवाका लागि सुशान्त तिमल्सिनाले १५ र सोनु मण्डलले १३ रन बाहेक अन्यले दोहोरे अंकको स्कोर छुन सकेनन्। इनरुवाका ५ ब्याट्सम्यानले खातै खोल्न सकेनन्।
प्रतियोगितामा यसअघि प्रदेश ३ ले सेमिफाइनलमा स्थान बनाइसकेको छ। प्रतियोगितामा बुधबार सुमह बी का खेलहरु सुरु हुनेछन्। भोलि नेपाल पुलिस क्लव र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया