घरेलु मैदानमा आयोजना हुने आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आयोजना गर्ने पहिलो सिरिजको लागि आगामी शुक्रबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ क्यानको आइतबार बसेको बैठकले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षण गर्ने निर्णय गरेको क्यानका सचिव तथा प्रवक्ता अशोकनाथ प्याकुरेलले जानकारी दिए।
७ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले पोखरामा यस्तो प्रशिक्षण हुन लागेको हो।
नेपालले यसअघि सन् २०१३ मा पोखरा रंगशालामा बन्द प्रशिक्षण गरेको थियो। माघ २२ देखि २९ सम्म ओमान र अमेरिकासँग काठमाडौको त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजअन्तर्गतका खेलका लागि मैदान मर्मत कार्य जारी रहेकाले प्रशिक्षण पोखरामा गर्न लागिएको प्याकुरेलले बताए।
भारतमा रहेका नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पट्वाल फर्किएपछि टोलीले बन्द प्रशिक्षण सुरु गर्नेछ। जसमा २५ देखि ३० खेलाडीलाई बोलाउने तयारी गरिएको छ।
यस्तै, आइतबारको बैठकले नै क्यान कार्यालय स्थापनाका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ। कार्यालय स्थापना गर्न क्यानले प्रत्येक जिल्लालाई समान १ लाख र प्रदेशलाई समान ३ लाख रुपैयाँ उपलब्ध गराउने छ।
क्यानले दैनिक कार्य सम्पादन सहज रुपमा आयोजना गर्न ५ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ। समितिको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सुहं र केन्द्रीय सदस्य अमितवीर पाण्डे छन्।
Shares

प्रतिक्रिया