समाज


झापामा २ किशोरको  मृत्यु प्रकरण: ६ जना नाबालक प्रहरी नियन्त्रणमा

१९ वर्षीय रोमन थापाको मृत्युको कारण खुल्न बाँकी
झापामा २ किशोरको  मृत्यु प्रकरण: ६ जना नाबालक प्रहरी नियन्त्रणमा

सुमन सुस्केरा
असार २०, २०८२ शुक्रबार १०:४२, विराटनगर

झापाको शिवसताक्षी नगरपालिका–९ स्थित संगम चोकमा दुई किशोरको मृत्यु प्रकरणको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यो प्रकरणमा प्रहरीले ६ जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

दुईजना बालकको दुई फरक घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार १५ वर्षीय आदित्य तामाङ र १९ वर्षीय रोमन थापाको मृत्युमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

आदित्य तामाङको आफ्नै साथीहरूको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। रोमन थापाको मृत्युको सन्दर्भमा भने प्रहरी आफैँ स्पष्ट छैन। 

दुवै मृत्यु फरक समयमा भएको पनि प्रहरीले जनाएको छ। आफ्नै साथीहरूको कुटपिटबाट गम्भीर घाइते भएका आदित्यको बीएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
 
यी दुई घटनालाई एउटै भनेर सार्वजनिक गरिएको भए पनि यी घटना फरक फरक भएका प्रहरीले स्पष्ट पारेको छ।  

पहिलो घटना शिवसताक्षी नगरपालिका–९ संगमचोकमा असार ११ गते साँझ भएको हो। यस घटनामा १५ वर्षीय आदित्य तामाङ कुटपिटबाट घाइते भएका थिए। घाइते भएपछि उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारकै क्रममा उनको असार १६ गते दिउँसो २ बजे मृत्यु भएको हो। 

घटनामा संलग्न भएको आशंकामा आदित्यकै साथी समूहका ६ जना बालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। 

उनीहरू १४–१५ वर्ष उमेर समूहका रहेका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। आदित्य राष्ट्रिय रमणीय मावि दुधेमा कक्षा ८ मा अध्ययनरत थिए।

दोस्रो घटनाको प्रकृति फरक रहेको प्रहरीको भनाई छ।

१९ वर्षीय रोमन थापा बिरामी परेपछि असार १४ गते बिहान बिर्तामोडस्थित अस्पतालमा भर्ना भएका थिए। त्यही दिन बिहान साढे १० बजे उनको मृत्यु भएको हो। परिवारले सुरुमा बिरामी भएर मृत्यु भएको माने पनि घरमा शव लैजाँदा साथीभाइसँगको रिसइबीका कारण कुटपिट भएको हुनसक्ने आशंका सिर्जना भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको हो। 

तर हालसम्म रोमनको मृत्युलाई लिएर भने कसैलाई पक्राउ गरिएको छैन। प्रहरी निरीक्षक  श्रेष्ठका अनुसार, दुवै घटना फरक छन्। 

‘आदित्यको मृत्यु प्रकरणमा ६ जना नाबालक अनुसन्धानको दायरामा छन् भने रोमनको घटनामा प्रारम्भिक अनुसन्धान मात्रै भइरहेको छ। दुवै घटनामा अनुसन्धान अगाडि बढाएका छौँ,’ उनले भने। 

रोमन कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। तर, उनी कुन विद्यालयमा पढ्थे भन्ने विवरण प्रहरीले खुलाएको छैन। दुवै घटनाको अनुसन्धान भइरहेकाले यसबारेमा सत्य तथ्य बाहिर आउने श्रेष्ठले बताए। 

रोमनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आउने बित्तिकै घटना के हो भन्ने तथ्य बाहिर आउने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad