लुम्बिनी विकास कोषले गौतम बुद्धको जन्मस्थल आसपास क्षेत्रबाट संकलित काठदाउरा धार्मिक सामग्री उत्पादनमा प्रयोग गर्नुपर्ने सर्तसहित लिलाम बिक्री गर्ने भएको छ।
कोषले जारी गरेको सूचनाअनुसार लिलामबाट बिक्री हुने काठ तथा दाउरा भगवान् बुद्धका मूर्ति, धूप, धार्मिक काष्ठकला तथा उपहार सामग्री उत्पादनमा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। बुद्ध जन्मस्थल वरपरका वृक्षहरूको धार्मिक महत्त्वलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको कोषले जनाएको छ।
कोषले यस्ता काठजन्य सामग्रीबाट निर्मित धार्मिक वस्तुको आधिकारिकता सुनिश्चित गर्न आवश्यक परीक्षण तथा निरीक्षण गरी तोकिएको शुल्कमा प्रमाणीकरणसमेत गर्न सक्ने जनाएको छ।
गत वैशाख २ गतेको निर्णयअनुसार विभिन्न लटमा वर्गीकरण गरी घाटगद्दी गरिएका काठ तथा दाउरा बिक्रीका लागि कोषले सरकारको ई–प्रोक्योरमेन्ट ई–जीपी प्रणालीमार्फत जेठ १ गते २१ दिने बोलपत्र आह्वान गरेको थियो। बोलपत्र पेस गर्ने म्याद थप सात दिन बढाइएको छ र सम्पूर्ण प्रक्रिया ई–बिडिङमार्फत सञ्चालन हुने कोषले जनाएको छ।
कोषका अनुसार वन पैदावार कारोबारका लागि इजाजत प्राप्त तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका काष्ठ व्यवसायी मात्र बोलपत्र प्रक्रियामा सहभागी हुन सक्ने छन्। बोलपत्रमा सहभागी हुन व्यवसाय दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र तथा डिभिजन वन कार्यालयमा सूचीकृत भएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
सूचनामा न्यूनतम दररेटभन्दा कम मूल्य प्रस्ताव गर्न नपाइने तथा आवश्यक धरौटी र कागजात पेस नगरेका बोलपत्र मूल्याङ्कनमा समावेश नगरिने उल्लेख गरिएको छ। कालोसूचीमा परेका वा कोषलाई बुझाउनुपर्ने बक्यौता रहेका व्यवसायी तथा फर्मका बोलपत्रसमेत अस्वीकृत गरिने कोषले जनाएको छ।

प्रतिक्रिया