दाङको देउखुरी क्षेत्रमा दुई महिला र दुई पुरुषको कुटपिटबाट एक किशोरको मृत्यु भएको छ। घटनामा अर्का एक किशोर गम्भीर घाइते भएका छन्।
राप्ती गाउँपालिका–२ बरहाखुट्टी निवासी १७ वर्षीय स्मित प्रधानको मृत्यु भएको हो। कुटपिटबाट ज्यान गएको अवस्थामा प्रधानको शव भेटिएको प्रहरीले जनाएको छ।
दाङ जिल्ला प्रहरी कर्यालयबम प्रमुख एसपी दिपक श्रेष्ठका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानी निवासी १६ वर्षीय आयुष्मान थापा मगर र स्मित प्रधान साथीको घर जाने भन्दै घरबा६ निस्किएका थिए।
उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेका बेला दुई महिला र दुई अपरिचित पुरुषले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कुटपिटबाट घाइते भएका आयुष्मानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ। उनको राप्ती आधारभूत अस्पताल, सिसहनियामा उपचार हुन नसकेपछि बुटवल रिफर गरिएको एसपी श्रेष्ठले जानकारी दिए।
सुरुमा घाइते आयुष्मानले घटनाबारे स्पष्ट जानकारी नदिए पनि पछि स्मित पनि सँगै रहेको बताएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
खोजीका क्रममा शुक्रबार दिउँसो घटनास्थलदेखि करिब डेढ किलोमिटर पूर्वतर्फ गोपी नाला नजिकै खोलाको सुक्खा बगरमा टाउकोमा चोट लागेको अवस्थामा स्मितको शव फेला परेको प्रहरीले जनाएको छ।
ती महिला र पुरुषले किशोरहरुलाई किन कुटपिट गरे, खुलेको छैन। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ।
Shares

प्रतिक्रिया