तीन दशकभन्दा लामो समय भइसकेको थियो– सरस्वती तामाङले पर्दापछाडि बसेर राजनीतिमा लागेका श्रीमानलाई सघाएको। अब भने उनी आफैँ मैदानमा उत्रिएकी छन्। र, नीति निर्माणको थलो प्रतिनिधिसभा सदस्य बनेकी छन्।
लामो समय पारिवारिक जिम्मेवारी र श्रीमान् बुद्धिमान तामाङको राजनीतिक व्यवस्थापनमा बिताएकी सरस्वतीको जीवनले नयाँ मोड लिएको छ।
सरस्वतीको राजनीतिक जग स्कुले जीवनमै बसेको थियो। नुवाकोटको दुप्चेश्वरमा जन्मिएकी उनी सानै हुँदा परिवार चितवन बसाइँ सरेको थियो। विसं २०४० को दशकमा चितवनको आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दा अनेरास्ववियु मार्फत कम्युनिस्ट विचारधाराबाट प्रभावित भई उनले राजनीति सुरु गरेकी थिइन्।
सरस्वतीका दाजु र दिदी पनि विद्यार्थी जीवनमा कम्युनिस्ट राजनीतिमा सक्रिय थिए। कक्षा ९ मा पढ्दै गर्दा उनलाई स्ववियु चुनावको उम्मेदवार बन्ने प्रस्ताव समेत आएको थियो। तर, त्यो समयमा महिलालाई लिएर सामाजिक परिवेश र पारिवारिक बन्देजका कारण तामाङले सो अवसरलाई पछ्याउन सकिनन्।
२०४५ सालमा धादिङका स्थापित नेता बुद्धिमान तामाङसँग वैवाहिक जीवनमा बाँधिएपछि सरस्वतीको जीवन र विचार दुवैमा परिवर्तन आयो। पञ्चायतकालमै मन्त्री भइसकेका बुद्धिमान प्रजातान्त्रिक विचार राख्थे। विवाहपछि सरस्वतीले आफ्नो कम्युनिस्ट यात्रालाई बिट मार्दै श्रीमानको राजनीतिक यात्रामा पूर्णकालीन सारथी बन्ने निर्णय गरिन्।
२०४७ सालमा राप्रपा स्थापना भएदेखि नै उनी साधारण सदस्यको रूपमा पार्टीमा आबद्ध भइन्। पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा आईए गरेपछि उनले आफ्नो सम्पूर्ण समय घर–व्यवहार र श्रीमानको राजनीतिक सहयोगीका रूपमा समर्पण गरिन्। २०४८ सालमा छोराको जन्म भएपछि सरस्वती केही समय पारिवारिक जिम्मेवारीमा बढी केन्द्रित भइन्।

सरस्वतीलाई हौसला दिने बुद्धिमान
हाल राप्रपाको उपाध्यक्षमा रहेर राजनीति गरिरहेका बुद्धिमान तामाङ पञ्चायत कालमा राष्ट्रिय पञ्चायत सदस्य थिए। सो समयमा उनी सहायकमन्त्री र राज्यमन्त्री समेत बनेका थिए। बहुदलीय व्यवस्था आइसकेपछि पनि तामाङले विभिन्न समय मन्त्री पद सम्हाले। उनी कयौँ पटक सांसद र मन्त्री बने।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट सदनमा पुगेका थिए बुद्धिमान।
राप्रपाको स्थापनाकालदेखि नै श्रीमानले आफूलाई राजनीतिमा अघि बढ्न प्रेरित गरेको सरस्वती बताउँछिन्। सोहीकारण साढे तीन दशक अघिदेखि अहिलेसम्म आफू अटुट रुपमा संगठनमा लागिरेको सरस्वतीको भनाइ छ।
जिल्ला सदस्य हुँदै उनी महिला विभागको केन्द्रीय सदस्य, महिला संगठनको केन्द्रीय उपाध्यक्ष र कमल थापाको नेतृत्वमा पार्टीको आमन्त्रित केन्द्रीय सदस्य पनि बनिन्। पछिल्लो समय राजेन्द्र लिङ्देन निर्वाचित भएको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन्।
राष्ट्रियताको सवालमा आफू सधैँ फ्रन्टलाइनमा रहेको उनको दाबी छ। लिम्पियाधुरा नेपालले फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन गर्दा हिरासतमा पुगेको उनले सुनाइन्।
‘कोभिड–१९ को समयमा जब धेरै मानिस बाहिर निस्कन डराइरहेका थिए, तब हामी आवाज बुलन्द पार्दै सडकमा उत्रियौँ,’ उनले भनिन्।
सरस्वती समानुपातिकतर्फबाट संसदमा निर्वाचित भएपछि कतिपयले ‘नेताकी श्रीमती’ भएकोले अवसर पाएको आरोप लगाए। तर, उनी यसलाई अस्वीकार गर्छिन्।
‘यस्ता आरोपलाई मेरो सक्रियताले जवाफ दिन्छ,’ उनी भन्छिन्, ‘तीन पटकसम्म महाधिवेशन प्रतिनिधि भएर पार्टीका नीति र सिद्धान्तलाई तल्लो तहसम्म पुर्याउनमा मेरो योगदान छ।’
राजनीतिमा दशौँ वर्षदेखि सक्रिय भएपनि सदनमा पहिलो पटक आफ्नो भूमिका देखाउने तयारीमा छिन् सरस्वती तामाङ।
Shares

प्रतिक्रिया