ad ad

समाज


बौद्धबाट ११ महिनामा ८४४ जना पक्राउ

बौद्धबाट ११ महिनामा ८४४ जना पक्राउ

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ७:२६,

बौद्धस्थित महानगरीय प्रहरी वृतले ११ महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ।

विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महिनाको तथ्यांक हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपित ८४४ पक्राउ परेका छन्। पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरर्जस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित छन्।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित छन्। जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो। पक्राउ परेकाहरूबाट रु ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। प्रहरीले गत फागुन २५ गते काठमाडौँ महानगरपालिका– ६ महांकालबाट रु एक लाख ९६ हजार १५० बरामद गर्नाका साथै आठ जनालाई पक्राउ गरेकामा एक तेस्रो लिंगी, चार महिला र तीन पुरुष थिए।

त्यस्तै चोरीको अभियोगका ५१ मुद्दामा ९१ जनालाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा सबैभन्दा बढी १८ वर्ष मुनिका बालबालिका रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। परिवारले वास्ता नगर्ने, आर्थिक अवस्था कमजोर भएका तथा बाबु आमाको ठेगान नभएका बालबालिका नै चोरी गर्दै हिँड्ने गरेको पाइएको छ।

प्रहरीले गत फागुन ११ मा कपनको निलोपुलबाट २८ थान मोबाइलसहित चोरी गर्ने चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्ष मुनिका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए। घर परिवारबाट टाढा रहेका तथा परिवारको निगरानी तथा रेखदेख नभएका युवायुवती र बालबालिका दुव्र्यसनीमा फस्दै गएको पाइएको छ।

पहिल्लो ११ महिनाको तथ्याङ्कमा बौद्ध क्षेत्रबाट लागुऔषधका २९ मुद्दामा ४१ पक्राउ परेका थिए। विभिन्न समयमा विभिन्न स्थानबाट डाईजेपाम, फेनारगन र नुफिन एक हजार १३५ थान बरामद गर्नाका साथै गाँजा १६ किलो, चरेस दुई किलो, ब्राउन सुगर ७७ ग्राम र नाइट्रोभेट चक्की एक हजार ३३७ थान बरामद गरिएको थियो। जबरर्जस्ती करणी अभियोगका २६ मुद्दामा ३५ जना विरुद्ध मुद्दा चलाएको थियो। सहमतिमा ‘लिभिङ टुकेदर’ बस्ने र घरपरिवारले थाहा पाएपछि अभिभावकको दबाबमा जबरर्जस्ती करणी मुद्दा दर्ता गर्ने गरेको घटना पनि प्रशस्त थिए। ‘लिभिङ टुकेदर’सम्बन्धी कानून नबन्दासम्म यस्ता किसिमका समस्या बढ्दै जाने अधिवक्ता अस्मिता पोखरेलले बताए।

त्यस्तै बैंकिङ कसुरमा ५१, सार्वजनिक कसुरमा १९१, ज्यान मार्ने उद्योगमा ३८, बहुविवाहमा २०, बालयौन दुराचारमा तीन, ठगीमा चार, विद्युतीय अपराधमा एक, कर्तव्य ज्यान मुद्दामा सात, मानव बेचविखन तथा ओसारपसारमा तीन, सवारी ज्यानमा सातजनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो। गतसाता मात्रै बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरी काठमाडौँ जिल्ला वन कार्यालय पठाएको थियो।

त्यस्तै ११ महिनामा बौद्धका भट्टीमा छापा मार्दा मदिरा बनाउन राखेको एक लाख ५४ हजार लिटर कच्चापदार्थ नष्ट गर्नाका साथै तयारी अवस्थामा रहेको हानिकारक ४३ हजार लिटर मदिरासमेत नष्ट गरिएकोे थियो।अपराध तथा अबैध कारोवारमा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारवाही गरिने भएकाले यस्ता आपराधिक क्रियाकलापको तत्काल जानकारी दिन पनि प्रहरी नायब उपरीक्षक चन्दले सर्वसाधारणलाई आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .