अर्जेन्टिनाले रूसले विकास गरेको स्पुतनिक-भी खोप प्रयोगमा ल्याएको छ।
कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन कोभिड-१९ विरुद्धको निर्मूलीकरण अभियान प्रारम्भ गरिएको सरकारी अधिकारीले जनाएका छन्। कोरोना संत्रमणविरुद्ध स्पुतनिक–भी खोप प्रयोग गर्ने अर्जेन्टिना पहिलो अमेरिकी मुलुक बनेको छ।
यो खोप अभियान मंगलबारदेखि देशभरी एकैसाथ शुरु भएको छ। शुरुमा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारी खोपको प्राथमिकतामा परेका अर्जेन्टिनाका स्वास्थ्यमन्त्री जीन्स गोन्जालेज गार्सियाले जानकारी दिए।
राजधानी ब्यूनस आयर्सको पोसाडास अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले आफ्नो ख्याल राख्नु पर्नेछ । खोपको व्यापक प्रभाव हुन केही महिना लाग्नेछ।’
खोपको शुरुआत फ्लाभिया लोयाकोनो नामका एक महिला चिकित्सकबाट गरिएको छ। अहिलेसम्म मेक्सिको, कोस्टारिका र चिलीपछि अर्जेन्टिना स्पुतनिक–भीको खोप अभियान सञ्चालन गर्ने चौथो ल्याटिन अमेरिकी देश हो।
कोभिड–१९ विरुद्धको रूसी उत्पादनको पहिलो तीन लाख मात्रा अर्जेन्टिनामा क्रिसमस पूर्व नै आइपुगेको थियो । उक्त खोपलाई दुई पटक लिएपछि कोभिड–१९ सङ्क्रमणको जोखिम नरहने अनुसनधानले देखाएको खोप निर्माता कम्पनीका अनुसन्धान विज्ञहरूले बताएका छन्।
अर्जेनिटनामा आगामी फेब्रुअरीसम्ममा करिब दुई करोड खोप पुग्ने र जोखिमको प्राथमिकताका आधारमा नागरिकहरूलाई खोप दिइने मन्त्री पोसाडासले बताए।
अर्जेन्टिनाले रूसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिए पनि उसले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको खोप लिनका लागि फाइजर–बायोएनटेकसँग पनि सम्झौता गरेको छ।
यसलाई देशमा ल्याउनका लागि निर्माता कम्पनीहरूसँग छलफल भइरहेको अधिकारीहरुले जनाएका छन्। अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमणबाट झण्डै ४३ हजार व्यक्तिको मृत्यु भएको छ भने करिब १६ लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। एजेन्सी
Shares

प्रतिक्रिया