६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि भएको हत्याविरुद्ध महोत्तरीको बर्दिबासमा मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ।
गोली लागेर गम्भीर घाइते भएका बर्दिबास- १ का ४३ वर्षीय बुद्धिराज न्यौपाने (सञ्जय)को उपचारको क्रममा गएराति ग्राण्डि अस्पताल काठमाडौंमा मृत्यु भएको स्थानीय विष्णु बम्जनले जानकारी दिए।
‘उहाँको उपचारको क्रममा राति साढे १२ बजे ग्राण्डि अस्पतालमा मृत्यु भयो,’ बम्जनले बुधबार बिहान नेपालखबरसँग भने, ‘तिघ्रामा गोली लागेका उहाँको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको हो।’
स्थानीयवासीको प्रदर्शनमा प्रहरीको गोली लागि तीनजना घाइते भएका थिए। गोली लागेर घाइते भएका अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको बम्जनले बताए।
गोली लागेपछि न्यौपानेलाई स्थानीय बिनायक हस्पिटलमा सामान्य उपचार गरी थप उपचारको लागि मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो।
बालिकाको बलात्कारपछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन्। बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।
यो पनि प्रहरीको गोली लागेर घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो, राजमार्ग खुलाउने प्रयास जारी
यो पनि बर्दिबासमा ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, बलात्कारपछि हत्या भएको भन्दै स्थानीयद्वारा प्रदर्शन

प्रतिक्रिया