दिउँसो एक बज्न लाग्दा कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी आफ्नो अन्योलग्रस्त भविष्यबारे छलफलमा थिए।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार सबै सुकुमवासीहरूलाई पाँच दिनभित्र होल्डिङ सेन्टर छाड्न सूचना टाँसेको थियो। यसबाट चिन्तित कीर्तिपुरको राधास्वामी सत्संग व्यासमा बसेका सुकुमवासी सरकारको कदमबारे चर्चा गरिरहेका थिए।
२१ दिनअघि होल्डिङ सेन्टरमै बसिरहेका भेषराजको मृत्यु भएको थियो। उनकी श्रीमती विमला अहिले पनि कीर्तिपुरकै होल्डिङ सेन्टरमा छिन्। सानो बच्चा बोकेर कता जाने, उनले सोच्न पनि सकेकी छैनन्।
श्रीमानको मृत्युपछि उनले लास जलाउन र क्रिया बस्नबाहेक कुनै पनि सहयोग सरकारबाट नपाएको उनको भनाइ छ।
‘अब कोठै भेटिँदैन, म नानी बोकेर एक्लै जानु पनि गाह्रो हुन्छ,’ विमलाले भनिन्, ‘आफ्नो चिनेको मान्छेहरूलाई भन्न त भनिरहेको छु, कोठा खोजिदिनु भनेर, भेटिन्छ कि भेटिँदैन!’
होल्डिङ सेन्टरमा बस्ने धेरैजसोको समस्या एकै छ– कोठा खोज्न जाँदा सुकुमवासी हो भनेपछि कोठै दिँदैनन्।
केही काम गर्न नसक्ने भए पनि भेषराज हुँदा उनलाई एउटा आडभरोसा हुन्थे। आफू काममा जाँदा छोरा हेरिदिन्थे।। तर अहिले निकै गाह्रो भएको विमलाले बताइन्।
‘अहिले त कोठा खोज्ने अफिसमा पनि कोठा पाउँदैन भन्छन्,’ विमलाले भनिन्।
होल्डिङ सेन्टरको एक छेउमा सीता खड्का पनि चारै दिनमा कोठा खोजेर बस्नुपर्ने कुराले पिरोलिएकी छिन्।
‘निस्क निस्क भन्या छ यताबाट, बस्ने ठाउँ कतै छैन, अब त्यही रोडमा गएर सुत्नुपरेन त!’ खड्काले भनिन्।
उनलाई राज्यले कुनै घर बनाइदिए हुन्थ्यो भन्ने छैन, बस् एक्लो ज्यानलाई शान्तिले शिर लुकाउन पाइने एउटा छानो भइदिए हुन्थ्यो।
‘छानो नभए गोली देओस्,’ उनी भन्छिन्।
सीतालाई आफ्नो आमाबुवाको बारेमा केही थाहा छैन। जतिबेला उनी बुझ्ने भइन्, त्यतिबेलादेखि नै खड्का एक्लै छिन्। उनका दुई ओटी छोरी जन्मिएपछि श्रीमानले अलपत्र छाडेका थिए। जसले गर्दा अहिलेसम्म उनको नागरिकता छैन। सीतालाई श्रीमानको ठाउँठहरको बारेमा पनि केही थाहा छैन।
‘मेरो जन्मथलो नि छैन, मेरो कर्मघर पनि छैन, मेरो नागरिकता, जन्मदर्तादेखि लिएर सात पुस्ताको मसँग नामोनिसाना छैन,’ उनी भन्छिन्।
२० वर्षदेखि उनी गैरीगाउँको सुकुमवासी बस्तीमै बस्दै आइरहेकी थिइन्।
बागमती सभ्यताले दिने भनेको रकम लिनका लागि आफ्नो बैंक खाता नम्बर लिएर आउन भनिएको छ। नागरिकता नै नभएकी सीता त्यही रकम पनि कसरी पाउने हो भन्ने अन्योलमा छिन्।
होल्डिङ सेन्टरमा भएको एक जमात भने फेरि पहिलेकै खोलाछेउको बस्ती फर्किने कुरा गरिरहेका छौँ।
‘हामी त्यहीँ पाल टाँग्छौँ, त्यतै सुत्छौँ,’ उनीहरूले भन्छन्, ‘कोठा दिँदैनन् त कहाँ जाने?’
विसं २०६३ मा भूमिहीनहरूले ‘मेची–महाकाली’ अभियान चलाएका थिए। त्यसैमा सहभागी भएर भूमिहीन बेलीमाया लिम्बू काठमाडौँको माइतीघरमा आइपुगेकी थिइन्। धर्ना बसेको ठाउँबाट उनीहरूलाई रातिको १ बजे प्रहरीले ट्रकमा हालेर परोपकार प्रसूति गृहछेउमा रहेको गाँजा र सिस्नुघारीमा छाडिदिएको थियो।
‘गाँस, बासको व्यवस्था गर सरकार’ भन्दै गरिएको र्यालीमा उनीलगायत धेरै जना तीन दिनदेखि धर्नामा बसेका थिए।
‘राति हामीलाई ट्रकमा हालेर लग्यो। ट्रकमा ४१ जना मान्छे र १६ वटा साइकल थियो। त्यो बेलामा त हामी कहाँ छौँ भन्ने पनि थाहा भएन। बिहान उज्यालो भएपछि थाहा भयो,’ उनले भनिन्, ‘हामीले आफैँ आएर कब्जा गरेको होइन त्यहाँ, उनीहरूले फ्यालेको हुनाले हामी त्यहीँ बसिरहेको हो।’
त्यसपछि त्यहाँको गाँजा र सिस्नुको झाडी फाँडेर त्यहाँ बस्ती बसालेको बेलीमायाले बताइन्। उनले आफ्नो ४ पुस्ते विवरण केशव स्थापितकै पालामा सम्बन्धित निकायमा बुझाएकी थिइन्।
‘हामी जहाँ गए पनि नोकरै हो क्यारे,’ बेलीमायाले दुःखेसो पोखिन्, ‘सबैतिरको नोकर भए पनि आफ्नो घरको त मालिक नै भइन्छ भन्थे। तर, घरै आफ्नो छैन र पो!’
Shares

प्रतिक्रिया