छापा खबर


सम्भावित सत्ता गठबन्धन : कांग्रेस नेताहरुको विभिन्न तर्क

सम्भावित सत्ता गठबन्धन : कांग्रेस नेताहरुको विभिन्न तर्क

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ०:४४,

नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ।

नयाँ पुस्ताका नेता अहिले सरकारमा जान हुन्न भन्नेमा स्पष्ट छन् भने सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला सबै सम्भावनाप्रति सकारात्मक देखिएका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

नेता सिटौलाले नेकपा तलमाथि भए फ्लोरबाट समर्थन गर्न सकिने संकेत गरेका छन् ।

‘सत्तामा पनि हाम्रो नजर छैन । अहिले कांग्रेसले सरकारले जाने कुरा सोच्नु पनि निरर्थक हो । हामीलाई जनताले दिएको मत नै प्रतिपक्षमा रहेर जनताको आवाज उठाउनका लागि हो । हामी प्रतिपक्षमै रहन्छौँ । बरु आवश्यकता प¥यो भने हामी फ्लोर समर्थनचाहिँ गर्न सक्छौँ,’ उनले भने, ‘०५२ सालमा एमाले पहिलो पार्टी बन्दा पनि हामीले मनमोहन अधिकारीजीलाई प्रधानमन्त्री बनाउन फ्लोर समर्थन गरेकै हो । त्यसवेला कांग्रेसकै सहयोगमा उहाँहरूले नौ महिना सरकार चलाउनुभएको थियो । त्यसकारण संसदीय अभ्यासमा फ्लोर समर्थनका आधारमा पनि सरकार चल्छ । हाम्रो चाहना त कुनै पार्टी नफुटोस्, बरु सरकारले राम्रो काम गरोस्, देशको हितमा, जनताको हितमा भन्ने हो।’

त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउन सकिने सम्भावना औँल्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देखाएका छन् । झन्डै दुईतिहाइको नेकपाको सरकार रहेको तथा संसद्मा सत्तारुढ दलभन्दा अंकगणितका हिसाबले धेरै पछाडि रहेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देख्नु अर्थपूर्ण राजनीतिक परिघटना हो।

तर, नेता गोपालमान श्रेष्ठले आफूले मंगलबार पार्टी सभापतिसँग अन्तरंग कुराकानी गरेको र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्थामा सोच्न सकिने उहाँको धारणा रहेको बताए । ‘कांग्रेसकै नेतृत्वमा सरकार बनाऊ भनेर प्रस्ताव आयो भने छलफल गर्न सकिने कुरा हो,’ सभापति देउवाको धारणा उद्धृृत गर्दै श्रेष्ठले भने।

देउवानिकट मानिने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने कांग्रेस सरकारमा जाने सम्भावना नरहेको दाबी गरे । ‘अहिले कांग्रेस सरकारमा जाने–नजाने कुरा ठूलो विषय होइन । देशलाई अहिले शान्ति, स्थिरता, विकास चाहिएको छ, र मुलुकलाई त्यसतर्फ अगाडि बढाउनुपर्छ । यस्तो वेला कुनै पनि पार्टीहरूमा विभाजन आउनुहुन्न भन्ने मलाई लाग्छ । अहिले कांग्रेस सरकारमा जाने सम्भावना नै छैन । यो एउटा हाइपोथेटिकल कुरा मात्रै हो,’ उनले भने।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा संवाद भएको थियो । सबै विषयमा साझेदारी गर्ने गरी अघि बढ्न सकिने भन्दै आफूलाई कांग्रेसको समर्थन छ भन्ने सन्देश दिन देउवालाई आग्रह गरेका थिए । यो विषय देउवाले आफूनिकटका नेताहरूसँग साझा गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad