भक्तपुरमा सोमबार एक सय २८ कोरोना सङ्क्रमित थपिए। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए।
दिनको एक सय भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन्।
कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन्। भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८ सय ७१ शय्या छन् तर मङ्गलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन्।
भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १५०, डा. इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २०० श्ययाको आइसोलेसन केन्द्र छ।
त्यसैगरी समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ श्ययाको आइसोलेसन केन्द्र रहेको छ।
तीमध्ये भक्तपुर अस्पतालमा पाँच पुरुष र एक महिला गरी छ, सैनिक महाविद्यालयमा १२ पुरुष र एक महिला गरी १३, ब्रह्मायणीमा पाँच पुरुष र तीन महिला गरी आठ, केएमसी अस्पतालमा तीन पुरुष र तीन महिला गरी छ, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा एक पुरुष तथा विद्युत् प्राधिकरण तालीम केन्द्रमा एक पुरुष सङ्क्रमित उपचाररत छन्।
त्यसैगरी नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा तीन पुरुष र चार महिला गरी सात, मध्यपुर अस्पतालमा चार पुरुष र एक महिला गरी पाँच तथा कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा सात पुरुष र पाँच महिला गरी १२ सङ्क्रमित छन् । आइसोलेसन केन्द्रका बाँकी शय्या खाली छन्।
सरकारले कोरोना सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश सङ्क्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको छ।
शुरुमा सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि सङ्क्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन्। दशैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि सङ्क्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए।
‘सङ्क्रमितले किन अस्पताल गएर उपचार नलिएका हुन् त्यो विषय हामीलाई भन्दा सङ्क्रमितलाई नै थाहा होला। सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका होलान्,’ मिजारले भने।
होम आइसोलेसनमा बसे पनि सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित जानकारी लिइरहेको मिजारले बताए। उनले स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत सङ्क्रमितको जानकारी लिइरहेको दाबी गरे।
यसैगरी भक्तपुरमा आइसियु र भेन्टिलेटरसमेत खाली रहेका छन्। जिल्लामा १९ वटा आइसियु शय्या छन् तीमध्ये छ वटामात्र भरिएका छन्, बाँकी १३ वटा खाली छन्।
जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चार वटा आइसियु शय्या भए पनि त्यहाँ तीन पुरुष र दुई महिला गरी पाँच जनाको उपचार भइरहेको छ।
नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको आठ वटा आइसियु शय्यामध्ये एक पुरुषको मात्र उपचार भइरहेको छ। बाँकी आइसियु शय्या खाली छन्। केएमसी अस्पतालमा सात आइसियु शय्या कोभिडका बिरामीलाई छुट्याए पनि यहाँको सबै शय्या खाली छन्।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालका भेन्टिलेटरमध्ये १२ वटा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ। तर तीमध्ये भक्तपुर अस्पतालको तीन वटामा दुई वटामात्र उपयोग भएको छ।
यहाँ एक महिला र एक पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ। त्यस्तै केएमसी दुवाकोटको तीन र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको छ वटा भेन्टिलेटर खाली छन्। रासस

प्रतिक्रिया