सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीको इमलहिवा (बुची)मा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ। स्थानीय अमरेस कुमार सिंहको घर भाडामा लिएर सशस्त्रले यहाँ बीओपी स्थापना गरेको हो।
२०७६ मंसिर ३० गते मन्त्रिपरिषद्को बैठले नेपाल–भारत र नेपाल–चीनको सीमा क्षेत्रमा सशस्त्रका ११४ बीओपी स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जिल्ला सुरक्षा समिति रुपन्देहीको २०७६ पुस १८ को बैठकले जिल्लाका अत्यावश्यक थप पाँच ठाउँमा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार जिल्लाको बुचीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा. का प्रमुख एसपी तेज पोखरेलले जानकारी दिए।
‘हामीले तत्कालका लागि बुचीमा भाडाको घरमा बीओपी स्थापना गरेका छौं तर हिउँद लागेपछि यहाँ रहेको ८ कठ्ठा १० धुरमा भवन बनाउने तयारी गरिरहेका छौं’, एसपी पोखरेलले भने।
भारतले कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपाली भूभाग मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले सीमा सुरक्षा र नेपाली भूमि मिचिनबाट रोक्न भन्दै देशभर भारत र चीनका सीमा क्षेत्रमा थप बीओपी निर्माण थालेको हो।
बुधबार बुचीमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका प्रदेश ५ प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) किशोर प्रधान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उद्घाटन गरेका हुन्।

डीआईजी प्रधानले बीओपी स्थापना पछि यस क्षेत्रको शान्ति सुरक्षा थप मजबुत भएको बताए।
उनले भने, ‘सीमा अपराध, चोरीतस्करी, लुटपाट, चेलिबेटी बेचविखन, अपहरण, हत्याहिंसा, लागूऔषध तथा अवैध हातहतियार ओसारपसार नियन्त्रण, भूमि र सीमास्तम्भ रक्षा लगायत स्थानीय नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न यो बीओपीले मद्दत पुग्ने छ।’
सशस्त्र प्रहरीले भूकम्प, बाढीपहिरो, आँधिहुरी, सीमा सुरक्षा लगायत हरेक विपती र मुलुकको रक्षाका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको जानाउँदै डीआईजी प्रधानले आगामी दिनमा पनि त्यस किसिमका गतिविधिमा इमान्दारीपूर्वक लागि पर्ने जनाए।
प्रजिअ अधिकारीले सीमा रक्षा र अपराधिक गतिविधि नियन्त्रणका लागि यहाँको बीओपीले महत्वपूर्ण भूमिका खेल्ने जनाए।
रोहिणी गाउँपालिकाका अध्यक्ष यादवले बीओपी स्थापना पछि रोहिणीबासीले सुरक्षाको थप प्रत्याभूति गर्न पाउने बताए।
उनले भने, ‘विगतमा छाप्रोमा बसेर घामपानी नभनी सशस्त्रले मुलुकको शान्ति सुरक्षाका लागि काम गर्दै आएको छ। अबका दिनमा पनि सीमा क्षेत्रमा थपिने यस किसिमका बीओपीले थप शान्ति सुरक्षा मजबुत पार्न सहयोग पुग्ने छ।’

यहाँ स्थापना भएको बीओपीले पूर्वमा नवलपरासीको सीमाना एवं पश्चिम बगेला नालासम्म करिब ६ किलोमिटर दूरीमा पर्ने मुख्य सीमा स्तम्भ ५१० देखि ५१३ नं. को रेखदेख र सुरक्षा एवं संरक्षण गर्नेछ। बीओपीको रोहिणी वडा नं. ४, ५, ६, ओमसतिया गाउँपालिकाको वडा नं. ६ तथा देवदह नगरपालिकाको वडा नं. १ कार्यक्षेत्र रहेको डीआईजी प्रधानले जानकारी दिए।
प्रधानकाअनुसार रुपन्देहीमा पहिलो चरणमा सिसहवा, ठर्की, पन्चबारे र थुमहवामा बीओपी स्थापना गरिँदैछ। रुपन्देहीमा भारतसँग सीमा जोडिएको क्षेत्र ५९.७ किलोमिटर छ। सीमा क्षेत्रमा विभिन्न चरणमा २५ ओटा बीओपी स्थापना गरिने र चालु आवमा ५ वटा बीओपी स्थापना गर्ने लक्ष्य राखिएको एसपी पोखरेलले बताए।
२५ वटै बीओपी स्थापना हुँदा भारतसँगको सीमा क्षेत्रमा प्रत्येक २.५ किलोमिटरको दूरीमा सशस्त्रको बीओपी रहनेछन्। यसले शान्ति सुरक्षामा राम्रो सहयोग पुग्ने विश्वास गरिएको छ। बीओपी स्थापना कार्यक्रममा पुगेका सुरक्षा निकायका अधिकारीले नेपाल भारत सीमा क्षेत्रको अवलोकनसमेत गरेको थिए।

प्रतिक्रिया