‘हाम्रो गाउँको एउटा मान्छे हराएको छ, खोजिदिनु पर्यो,’ एक साताअघि इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुगेर दुई व्यक्तिले भने।
नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१८, हुर्चिलका ४२ वर्षीय धनबहादुर मगर हराएको उनीहरुको भनाइ थियो।
प्रहरीले सोध्यो, ‘तपाईंहरु को हो उहाँको?’
‘हामी गाउँले भाइ,’ उनीहरुले जवाफ दिए।
‘कति भयो हराएको?’
‘६ महिना।’
हराएको ६ महिनासम्म पनि खोजी गर्न नआउनु आफैंमा रहस्यमय लाग्यो गैंडाकोटका प्रहरी इन्चार्ज चन्द्रबहादुर थापालाई।
‘सामान्यतयाः मान्छे हराएको केही दिनभित्रैमा खबर आइसक्छ। फेरि उनीहरुले ६ महिनादेखि हराएको भनेका व्यक्ति एक वर्षभन्दा पहिले नै हराएको पत्ता लगायौं,’ थापाले भने।
हराएका भनिएका धनबहादुर मगरकी श्रीमती फूलमाया घरमै थिइन्। उनले डेढ वर्षसम्म कुनै मतलब नगरेको तर, गाउँलेले खोजी गरिदिनु पर्यो भन्दै आएपछि प्रहरीले यो घटनालाई शंकाको घेरामा राख्यो।
फेरि हराएको सूचना दिन आएकाहरुले फूलमायासँग सल्लाह समेत गरेका थिएनन्।
धनबहादुरलाई गाउँमा नदेखिएको एक वर्ष बढी भइसकेको थियो। फूलमायाले श्रीमान् भारत गएको बताएकी थिइन्।
रोजगारीका लागि भारत जाने गाउँका युवा सिजन सकिनासाथ फर्किन्छन्। भारत नै गएका गाउँका सबै युवा फर्किइसकेका थिए।
यसपालि त कोरोनाका कारण झन् सबै फर्किए। तर धनबहादुर फर्किएनन्। त्यसपछि गाउँलेको मनमा चिसो पस्यो र उनीहरु प्रहरी कार्यालय पुगे।
प्रहरीले उनीहरुको कुरा सुन्यो र ‘ठिक छ हामी बुझौंला,’ भनेर पठाइदियो।
२९ गते धनबहादुरको घरमै पुग्यो प्रहरी टोली। प्रहरीले धनबहादुरकी श्रीमती फूलमायालाई लिएर फर्कियो।
‘कार्यालय ल्याइसकेपछि उनलाई सोधखोज गर्यौं,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘उहाँले अर्का एक व्यक्तिसँग मिलेर हत्या गरेको स्वीकार्नुभयो।’
त्यसपछि दिउँसो फेरि प्रहरी गाउँमा पुग्यो र मेखबहादुर मगरलाई पनि पक्राउ गर्यो।
उनीहरुले नै धनबहादुरको शव गाडेको ठाउँ प्रहरीलाई देखाए। प्रहरीले उनीहरुलाई लिएरै गयो र शव गाडेको ठाउँमा खन्दा कंकाल फेला पार्यो।
परपुरुषसँगको सम्बन्ध खुलेपछि हत्या
रोजगारीका लागि यूएई गएका धनबहादुर डेढ वर्ष बसेर फर्किएका थिए। २०७५ सालको माघमा धनबहादुर फर्किएपछि श्रीमतीसँग उनको आर्थिक विषयमा विवाद भयो।
‘मैले कमाएर पठाएको पैसा के गरिस्?’ धनबहादुर श्रीमतीलाई सोध्न थाले।
‘तैँले चाहिँ विदेशमा कमाएको अरु पैसा के गरिस्?’ फूलमायाले पनि धनबहादुरलाई प्रश्न गरिन्।
यही विषयमा उनीहरुबीच कलह चर्कियो।
घर फर्केको केही दिनपछि धनबहादुरले गाउँकै अर्का व्यक्तिसँग फूलमायाको सम्बन्ध रहेको पनि थाहा पाए।
गाडिएको अवस्थामा फेला परेको धनबहादुरको कंकाल
धनबहादुर विदेश गएपछि ३८ वर्षीया फूलमाया मगर सोही ठाउँका ४० वर्षीय मेखबहादुर सुनारी मगरसँग नजिकिएकी थिइन्।
मेखबहादुरसँग श्रीमतीको सम्बन्ध धनबहादुरले थाहा पाएपछि झगडाले उग्र रुप लियो। धनबहादुरले दुवै जनालाई मार्ने बताए।
‘मलाई र मेखबहादुर दुवैलाई मार्छु भनेपछि हामीले नै मार्ने योजना बनायौं,’ फूलमायाले प्रहरीलाई बयान दिएकी छन्।
२०७६ असार २० गते राति उनीहरुको योजना अनुसार घरमै धनबहादुरको हत्या भयो। मार्तोलले संवेदनशील अंगमा हानेको र पछि डोरीले घाँटी कसेर मारेको बयान उनीहरुले दिएका छन्।
त्यसै रात उनीहरुले धनबहादुरको लास डोकोमा बोकेर सुन्दरी सामुदायिक वनमा पुर्याई गाडिदिए। फूलमायाका दुई छोरीको विवाह भइसकेको थियो। घरमा उनी मात्रै थिइन्। सासुससुरासँग छुट्टिइसकेकाले धनबहादुर कहाँ जान्थे, के गर्थे अरुलाई थाहा हुँदैनथ्यो।
धनबहादुरको हत्यापछि फूलमायाले उनका कपडा लगायत सबै सामान लुकाएकी थिइन्। जसले उनलाई ढाँट्न सहज भयो।
अर्कोतिर फूलमाया र मेखबहादुरको सम्बन्ध पनि चलिरहेकै थियो। तर २९ गते एक्कासि घरमै प्रहरी पुग्यो र उनीहरुलाई हतकडी लगायो।
धनबहादुरको कंकाल जिल्ला अस्पताल चितवनमा परीक्षणका लागि पठाइएको छ। पक्राउ परेका दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।
Shares

प्रतिक्रिया