समाज


भक्तपुर घटनामा प्रहरीको प्रारम्भिक निष्कर्ष : आमा-छोराको हत्या, सुदीपको आत्महत्या

भक्तपुर घटनामा प्रहरीको प्रारम्भिक निष्कर्ष : आमा-छोराको हत्या, सुदीपको आत्महत्या

उजिर कार्की
भदौ २७, २०७७ शनिबार ६:५,

मध्यपुरथिमि नगरपालिका–९ निकोसेरामा घर झगडाले परिवार नै सखाप भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर सुदीपले आत्महत्या गरेको प्रहरीको ठम्याइ छ।

शुक्रबार साँझ ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीय श्रीमती सम्झना र १६ वर्षीय छोरा सुशान्तको घरभित्रै फरक–फरक कोठामा शव फेला परेको थियो।

श्रीमती र छोराको टाउकोमा गहिरो चोट भए पनि घरमा बाहिरी मान्छेको प्रवेश नदेखिएकाले सुदीपले नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। हत्यामा घरकै दाउ (धारिलो हतियार) प्रयोग देखिएको प्रहरीले जनाएको छ। प्रहरीले सुशान्तको शवसँगै दाउ फेला परेको थियो। 

‘श्रीमती र छोराको हत्या पहिल्यै भएको र पछि आफूले आत्महत्या गरेको देखिन्छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘आमा-छोराको शव गनाएको छ तर उनको त्यस्तो छैन।’

यस्तो छ घटनास्थल
पहिलो तलाको ढोका नजिकै कुकुर मरिररहेको अवस्थामा छ। त्यसको भित्र छोराको कोठा रहेको र उनको शव आफ्नै बेडमा छ। हत्याको समयमा उनले केही संघर्ष गरेजस्तो देखिन्छ। उनको टाउकोमा गम्भीर चोट छ। शवले थिचेको अवस्थामा दाउ फेला परेको छ। घोप्टो परेको उनको शवलाई पहेंलो कपडा ओढाइएको छ।

त्योभन्दा माथिल्लो तलामा आफ्नै बेडमा श्रीमतीको शव दायाँपट्टि पल्टिएको अवस्थामा छ। उनको पनि टाउकोमै गहिरो चोट छ। उनको शवलाई सेतो कपडा ओढाइएको छ। शव गनाएको छ।

त्योभन्दा माथिल्लो तलामा रहेको किचनमा सुदीप लडिरहेका छन्। ट्वाइलेटमा बमिट गरिएको छ। त्यो बमिट प्रहरीले परीक्षणका लागि पठाएको छ। तर, उनको शरीरमा कहीँकतै चोट देखिँदैन। अरुको भन्दा उनको लास आलै देखिन्छ।

नजिकै कुकुरलाई पानी दिने गरेको भाँडो छ। भाँडामा भएको पानीमा झिँगा मरिरहेका छन्। सुदीपको पनि हातमा पहेंलो केही लागेको देखिन्छ।

एउटा कचौरामा चम्चासहित केही बस्तु सुकेको अवस्थामा छ। त्यो सल्फर (विष) भएको प्रहरी अनुसन्धान टोलीको अनुमान छ। यी सबै प्रहरीले परीक्षणमा पठाउने तयारी गरेको छ। किचनमा भेटिएको दालभातमा नै विष घोलेर खुवाएको हुनसक्ने देखिएपछि त्यहाँ रहेका बाँकी अंश परीक्षणका लागि संकलन गरिएको छ।

शनिबार बिहान घर पछाडि रहेको धानबारीमा प्रहरीले दुई वटा सल्फरको बट्टा फेला पारेको छ। घरको दक्षिणतर्फ फेला परेका ती रित्तो बट्टा पनि परीक्षण गरिने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। ‘यी सबै परीक्षणपछि मात्रै प्रस्ट भन्न सकिन्छ, अन्य कारणबारे पनि हामीले बुझिरहेका छौं’, एसएसपी थापाले नेपालखबरसँग भने।

घटनास्थलको प्रकृति हेर्दा घटना पूृर्व योजनामा नै भएजस्तो देखिने एक प्रहरीले बताए। ‘पूर्व योजनाजस्तै देखिन्छ, शवलाई कात्रो ओढाइएको छ, आमा-छोरा मारेकै दिन कुकुर पनि मारिएको छ। आफ्नो माथि केही चोट पटक छैन, यहीँ सल्फर पनि भेटियो भनेपछि त घटना सहजै अनुमान गर्न सकिने अवस्थामा छ’, शनिबार बिहान ती प्रहरीले नेपालखबरसँग भने।

पोस्टमार्टम, फरेन्सिक परीक्षण र विस्तृत अनुसन्धानबाट थप प्रस्ट हुने भए पनि अहिलेसम्मको अनुसन्धानले सुदीपले आमा-छोराको हत्या गरेर आफूले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

रक्सी, झगडा र ऋण
उनीहरुको घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको आफन्तले बताएका छन्। यस विषयमा पनि प्रहरीले बुझिरहेको जनाएको छ। स्थानीय र आफन्तका अनुसार घर नै बैंकले लिलाम गर्ने तयारी गरेपछि घरमा झगडा बढ्दै थियो। दुई लाख रुपैयाँ ससुरालबाट लिएको ऋण पनि तिरेका थिएनन्।

सुदीप घरको काम नगर्ने रक्सी खाने, तास खेल्ने र खाली बाहिरै हिँड्ने गरेको र त्यही कारण घरमा झगडा भइरहन्थ्यो।झगडा हुँदा आमा-छोरा एकातिर र सुदीप अर्कोतर्फ हुन्थे।

सुदीपका भाइले भनेका छन्, ‘छोरो पढाउनु पर्ने, किन लत्तो छाडेको, काम गर्नु भनेर भाउजूले सधैँ कराइरहनु हुन्थ्यो।’

ससुरालीको २ लाख ऋणको विषयमा पनि उनीहरुबीच झगडा पथ्र्यो। यिनै कारण झगडा बढ्दै गएको र परिवार नै सखाप हुने अवस्थामा पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। 

याे पनि: 
भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव भेटियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .