ad ad

समाज


आज जनै पूर्णिमा, रक्षाबन्धन गरेर मनाइँदै

आज जनै पूर्णिमा, रक्षाबन्धन गरेर मनाइँदै

नेपालखबर
साउन १९, २०७७ सोमबार १:१७,

आज जनै पूर्णिमा पर्व। श्रावण शुक्ल पूर्णिमाका दिन हरेक वर्ष नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर याे पर्व मनाइँन्छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने प्रचलन छ।

रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले बताए।

आजकै दिन तागाधारीले आफ्नो जनै फेर्छन्। यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।

त्यसैगरी आज ११ थरिका गेडागुडीको क्वाँटी खाइन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

आज नेपालको तराई क्षेत्रमा आफ्ना दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। पछिल्लो सयम राखी बाँध्ने प्रचलन पहाडे समुदायमा पनि विस्तार हुन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .