काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा रातभर वर्षा भएको छ। अहिले (सोमबार बिहान) पनि ती स्थानमा पानी पर्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकामा आइतबार राति ११ बजेदेखि नै वर्षा भइरहेको हो। अहिले पनि फाटफुट पानी परिरहेकाे उनले बताए।
यो वर्षा अझै केहीबेर रहने र दिउँसो केहीबेर मौसम खुले पनि अपराह्नपछि पुनः बदली भई वर्षा हुने अनुमान गरिएको मौसमविद् प्रधानांगले बताए। उनका अनुसार बिहानसम्मको मापनअनुसार काठमाडौं उपत्यकामा ७ मिलिमिटर वर्षा भएको छ। यो भनेको मध्यम वर्षा हो।
यसैगरी बागमती प्रदेशकै अन्य केही ठाउँ, प्रदेश १ र प्रदेश ५ का पनि केही स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद् प्रधानांगले जानकारी दिए।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साेमबार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे नियमित माैसम पूर्वानुमान बुलेटिनअन्तर्गत आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छ :
‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले उक्त स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
न्यून चापीय रेखा नेपालबाट केही तल सर्याे, अब लगातार झरी नहुने
मनसुनको न्यून चापीय रेखा नेपालबाट केही तल सरेको मौसमविद्ले बताएका छन्।
मौसमविद् राजु प्रधानांगका अनुसार यो रेखा हिजै (आइतबार) देखि नै नेपालभन्दा केही तल दक्षिणतर्फ सरेको हो। अब केही दिनलाई वर्षाको मात्रा केही कम हुने अर्थात् लगातार झरीको सम्भावना नरहेको उनले बताए।
‘तर मनसुन जारी रहेकाले वर्षा भने भइरहन्छ, केही ठाउँमा,’ उनले भने।
न्यून चापीय रेखा नेपालको नजिक रहँदा अघिल्लो हप्ता दुई तीन दिन देशभर ठूलो वर्षा भएको थियो।
Shares

प्रतिक्रिया