समाज


कास्की पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘बर्थ-डे विस’ गर्‍यौँ, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘बर्थ-डे विस’ गर्‍यौँ, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कृष्ण दवाडी
असार २६, २०७७ शुक्रबार १२:५९,

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टंकबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिंकीको बिहीबार जन्मदिन परेको थियो। जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही छमेकीलाई निम्ता गरिएको थियो।

सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिंकी दिदी (मितबाबुकी छोरी) को जन्म दिन मनाउन साँझ गोठादी पुगेका थिए। साँझदेखि नै निरन्तर पानी परिरहेको थियो। जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०ः३० बजेतिर खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे।

परिवारका सदस्य तथा आफन्त भने १२ बजे मध्यराति पिंकीलाई अन्तिमपटक शुभकामना दिएरमात्र सुत्ने योजनामा डेढ घण्टा गफ गरेर बसे। ‘सेलिब्रेसन सकिएपछि कोही आफ्नो घर जानु भयो भने हामी भने ठ्याक्कै १२ बजे दिदीलाई अन्तिम पटक शुभकामना दिएर सुत्ने योेजनाअनुसार गफ गरेर बस्यौँ’, पहिरोमा परी घाइते भर्ई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तामाङले भने, ‘१२ बजे राति सबैले दिदीलाई ‘लास्ट बर्थ डे विस’ गरेर आ–आफ्नो कोठामा सुत्न गयौँ।’

अनिससहित सात जना एउटै कोठामा सुतेका थिए भने आठ जना अन्य कोठामा थिए। तर, उनीहरुको सुतेको दुई घण्टामानै घर पहिराले बगायो। माथिबाट पानीको भेलले पर्खाल भत्किएपछि घरसमेत सँगै पहिराले बगाएको थियो। पहिरो आएसँगै आफू बेहोस भएको र घरमुनिको बारीको बाँसको झ्याङ नजिक कुनामा हिलोमा गाडिएको अवस्थामा होसमा आएको तामाङले बताए।

घटनाको स्मरण गर्दै उनले भने, ‘सुत्ने बेलामा ठूलो पानी परिरहेको थियो, अरु केही थाहा भएन, पछि होसमा आउँदा हिलोमा गाडिएको र टाउको चलाउन नसक्ने अवस्थामा रहेछु, घर भत्किएको रहेछ, उठेर अलि माथि गएको रश्मी भाइ (अर्का घाइते( रहेछ, उसलाई लिएर गएर उसको बाबालाई घटनाबारे भन्यौँ।’ अन्य घाइतेसँगै आफूलाई बिहान ५ बजेतिर अस्पताल ल्याइएको उनको भनाइ छ।

अर्का घाइते रश्मी थापामगरले पनि होसमा आएपछि मात्र घटनाबारे जानकारी भएको बताइन्। ‘केही पनि थाहा भएन। पछि एक्कासी बारीमा रहेछु, टाउकोबाट रगत आइरहेको रहेछ, पिंकी दिदी,अनिस दाइ, कृपा, इसिका भाञ्जीसहित हामी सात जना एउटै कोठामा थियौँ’, थापाले भनिन्।

छिमेकी चिजा गुरुङले आफू र छोरी राति १० बजे जन्मदिनको कार्यक्रममा सहभागी भएर फर्किएको र थापाका परिवारका सदस्य तथा दमौलीबाट आएका सालीको परिवारसहितका व्यक्ति घरमा रमाइलो गरेर बसिरहेको बताए। पहिरोमा परी पि.कीका बाबु, आमा ४५ वर्षीया सोममाया थापा, आफन्त ११ वर्षीया इशिका थापामगर र छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको थियो।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएको र उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले ठूलो पानी परेपछि कृषि सडक भन्दा माथि पहिरो गएको र त्यसले नालाको पानी बन्द भएको र शाखाबाटामा लगाएको पर्खालसहित भत्किएर घर पहिरोले क्षति पु¥याएको बताए। उनले भने, ‘बाढीका कारणले नै घटना घटेको हो, पहाडको आडमा जोडिएको घर भएकाले पहिराले बगाएपछि हार गुहारसमेत भएन।’

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्राकृतिक विपत्तीबाट प्रभावितहरुका लागि उद्धार र राहतका लागि सरकारले जिल्लास्थित सबै निकायहरुलाई परिचालित गरिएको बताए। प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि आज एक विज्ञप्ति जारी गरी उनले पहिरो र बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि तथा परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रदेशका कास्की, लमजुङ, म्याग्दीलगायतका जिल्लामा गरी हालसम्म ११ जनाको मृत्यु भएको तथा १६ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए। पहिरोका कारणले १० घर पूर्ण क्षति भएको र तीन घरमा आंशिक क्षति भएको तथा कतियपय मानिस अहिले पनि बाढी र पहिरोमा हराइरहेकाले उनीहरुको खोजविन तथा उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको मन्त्री चुमानले विज्ञप्तिमा उल्लेख गरेका छन्। समस्याग्रस्त क्षेत्रहरुमा विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको व्यवस्था गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .