ad ad

कारोबार


माग पुरा नभएसम्म गाडी नचलाउने यातायात व्यवसायी महासंघको निर्णय

माग पुरा नभएसम्म गाडी नचलाउने यातायात व्यवसायी महासंघको निर्णय

बसन्त अर्याल
असार २६, २०७७ शुक्रबार १२:३७,

नेपाल यातायात राष्ट्रिय महासंघले माग पुरा नभएसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निणर्य गरेको छ। महासंघको शुक्रबार बसेको बैठकले आफ्ना माग सम्बोधन भएपश्चात मात्रै सवारी साधन चलाउने निर्णय गरेको हो।

सरकारले छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि एकतर्फी निर्णय गरेको भन्दै यातायात व्यवसायीले गाडी सञ्चालन नगर्ने जनाएका छन्।

‘हामीले सरकारसँग हाम्रा माग राखेका छौं। हाम्रा माग पुरा भएमात्रै गाडी चलाउने निर्णय गरेका छौं,’ महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले नेपालखबरसंँग भने ‘हाम्रो किस्ता के गर्ने, व्याजदर के हुने, स्वास्थ्य मापदण्ड लगाएतका माग पुरा भएमात्रै गाडी सञ्चालन गर्ने निर्णय गरेका छौं।’

महासंघले साढे ३ महिनादेखी गाडी थन्काउँदा मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्था नभएको बताएकाे छ। गाडी सञ्चालन हुने वित्तिकै किस्ता तिर्न पनि नसकिने महासंघकाे भनाई छ।

यता, सार्वजनिक यातायात केन्द्रीय महासंघले पनि ५ बुँदे माग पुरा नभएसम्म गाडी सञ्चालन नहुने बताएको छ।

तर ट्याक्सी व्यवसायीले भने शुक्रबारदेखी ट्याक्सी सञ्चालनमा ल्याएका छन्। उपत्यका ट्याक्सी विषेश समितिका उपाध्क्ष रविन्द्र भुपाल प्रधानले ट्याक्सी सञ्चालन गर्न आफूहरु तयार रहेको बताए।

‘बस व्यवसायीले लामो समय ग्यारेजमा गाडी राख्दा त्यसको मर्मत खर्च धेरै आउने बताएपनि ट्याक्सीमा धेरै समस्या छैन’ प्रधानले भने ‘अधिकांश ट्याक्सी व्यवसायीमा स्वरोजगार मजदुर भएकाले ट्याक्सी आफैसँग हुँदा लकडाउनको समयमा पनि मेनटेन गरेका छन्। चलाउन समस्या हुँदैन।’

मन्त्रिपरिषदले स्वास्थ्य सुरक्षामा ध्यान दिँदै ५० प्रतिशत क्षमतामा मात्रै गाडी चलाउन दिने निर्णय गरेको छ। अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो।

‘काठमाडौँ उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने भन्ने निर्णय भएको छ’, मन्त्री खतिवडाले बिहीबार भनेका थिए।

उनका अनुसार ट्याक्सीहरुले भने साविककै भाडादरमा २ जना यात्रु बोक्न पाउनेछन्।

ऋणको किस्ता र स्वास्थ्य मापदण्डसम्बन्धी माग पूरा नभई गाडी चलाउन सकिन्नः यातायात व्यवसायी

यथास्थितिमा गाडी नचलाउने बरु सरकारलाई नै चाबी बुझाउने व्यवसायीको घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .