भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस ‘ए’ मोहम्मदका सदस्य बिहार प्रवेश गरेको दाबी गरेका तीनै जना पाकिस्तानी नागरिक मलेसिया फर्किएको पुष्टि भएको छ।
दुबईबाट एकसाथ काठमाडौँ आएका उनीहरू यहाँबाट छुट्टाछुट्टै मितिमा मलेसिया फर्किएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पुष्टि गरे।
‘हाम्रो अध्यागमनको रेकर्डमा उनीहरुको कुनै पनि कैफियत देखिएन। तर विवरण सार्वजनिक भएका व्यक्तिहरू नेपाल आएर फर्किइसकेको देखियो’, महानिर्देशक तिवारीले नेपालखबरसँग भने, ‘हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान दुबईबाट साउन २३ गते (अगस्ट ८) मा काठमाडौँ आइपुगेका थिए।’
तर उनीहरू फर्किँदा भने छुट्टाछुट्टै मितिमा मलेसिया गएको पाइएको छ। हसनैन अली आज बिहीबार (अगस्ट २८) मात्रै मलेसियन एयरलाइन्स ( मालिन्दो एयर)मार्फत मलेसिया फर्किएका हुन्।
आदिल हुसैन भदौ ८ गते (अगस्ट २४) मा र मोहम्मद उस्मान साउन ३० गते (अगस्ट १५) मै मलेसिया फर्किएको पुष्टि भएको छ। तर उनीहरू आतंकवादी संगठनका सदस्य रहेको भनि अध्यागमनको कालोसूचीमा थिएनन्।
उनीहरूलाई रोक्न पर्ने कुनै कारण आफ्नो रेकर्डमा नदेखिएपछि नेपालको अध्यागमन विभागले निर्वाधरुपमै आउजाउ गर्न दिएको छ।
तर भारतले भने नेपाल हुँदै आफ्नो राज्य बिहार प्रवेश गरेको दाबी गरेको थियो। उनीहरू तिनैजनाको नाम र तस्बिर पनि सार्वजनिक गरेको थियो।
भारतले नेपालहुँदै बिहार प्रवेश गरेको दाबी गरेर विवरण सार्वजनिक गरेपछि नेपालको अध्यागमनले चासो दिएर अध्ययन गरेको थियो। भारतले विवरण सार्वजनिक गरेकै पाकिस्तानी नागरिकहरू नेपाल आएको र फर्किइसकेको फेला परेको हो।
भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा ‘अलर्ट’ जारी गरेको भारतीय सञ्चारमाध्यामको दाबी छ।
पाकिस्तानबाट आएका ती व्यक्तिले अब देशमा आतंकवादी घटना गराउन सक्ने दाबी भारतीय प्रहरीको रहेको समाचारमा उल्लेख छ।
नेपालसँग सीमा जोडिएका भागलपुर, अररिया, किशनगन्ज, सुपौल, मधुवनी, सीतामढी, पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लालाई उच्च निगरानीमा राखिएको भारतीय प्रहरीले जनाएको थियो।
उनीहरू यसबीचमा कहाँ कहाँ गए भन्ने विवरण भने प्राप्त छैन। तर भारतमा उनीहरूकै नामले आतंक मच्चिरहँदा उनीहरू भने नेपालको विमानस्थल हुँदै मलेसिया पुगिसकेको पुष्टि भएको हो।
Shares

प्रतिक्रिया