गायिका रचना रिमाल युरोपेली मुलुक पोल्यान्ड आइपुगेकी छन्।
हिन्दु धर्मावलम्बी नेपाली महिलाको पर्व तीजको अवसर पारेर आयोजित साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी बिहीबार पोल्यान्ड आएकी हुन्।
आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्यान्डले राजधानीस्थित चोपिन अन्तर्राष्ट्रिय विमानस्थलमा रचनालाई स्वागत गरेको छ।
‘सबैजना कार्यक्रममा आउनु होला, रमाइलो गर्नुपर्छ’, विमानस्थलबाट बाहिर निस्कँदै रचनाले भनिन्।
इनास पोल्यान्डको आयोजना तथा चौतारी इभेन्ट्सको प्रस्तुतिमा अगस्ट ३० तारिख शनिबार कार्यक्रम हुन लागेको हो। रचनाको साथमा पोल्यान्डमा रहेका स्थानीय नेपाली कलाकारको पनि प्रस्तुति रहने आयोजकको भनाइ छ।
इनास पोल्यान्डका महासचिव प्रतिमा थापाका अनुसार कार्यक्रम पोल्यान्डको राजधानी वारसास्थित हिब्रिडे क्लबमा स्थानीय समय साँझ ७ बजेबाट सुरु हुनेछ।
‘इनासले डायस्पोरामा नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वर्धनमा काम गर्ने सबैलाई अवगत नै छ। त्यसैले साना बच्चाहरूलाई नेपालसँग जोड्नका लागि उनीहरूले कार्यक्रममा राष्ट्रिय गान गाउने छन्’, थापाले नेपालखबरसँग बताइन्।
पोल्यान्डमा रहेका नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भएर नेपाली कला र संस्कृतिलाई टेवा र आयोजकलाई हौसला बढाइदिन उनको आग्रह छ।
तीजको अवसर पारेर ३ हप्ताको युरोपको सांगीतिक यात्रामा रहेकी रचनाले अस्ट्रिया, पोर्चुगल, डेनमार्क तथा स्पेनको कार्यक्रम सम्पन्न गरिसकेकी छिन्। त्यस्तै, पोल्यान्ड पछि क्रोएसिया, माल्टा, फिनल्यान्डमा उनको साङ्गीतिक कार्यक्रम तय भएको छ।
रचना पछिल्लो समयमा नेपालकी व्यस्त गायिकामध्ये पर्छिन्। नेपालका मेला, महोत्सवदेखि विदेशसम्मका सांगीतिक कार्यक्रममा उनको उच्च माग छ।
गायन रियालिटी शो नेपाल आइडलमार्फत नेपाली संगीतिक आकाशमा उडान भरेकी उनका फोटो फिरिममा, उनको प्रीति पहिले हो कि, मिनरल वाटर लगायतका गीत चर्चित छन्।
Shares

प्रतिक्रिया